Comments Add Comment

प्रधानमन्त्रीलाई बाबुरामले भने- सहमतिका लागि भूमिका खेल्नोस्

८ कात्तिक, काठमाडौं । संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले भाइटीकाका दिन बिहानै प्रधानमन्त्री सुशील कोइरालासँग भेटघाट गरेका छन् ।

फाइल फाेटाे
फाइल फाेटाे

डा. भट्टराईले प्रधानमन्त्री कोइरालासँग भेट गरी सहमति निर्माणमा नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेको भट्टराईको सचिवालयले जनाएको छ ।
भट्टराईले आइतबार र सोमबार दुई दिन हुन लागेको दोस्रो चरणको शीर्ष बैठकमा सहमति निर्माणका निम्ति प्रधानमन्त्रीको भूमिका बलियो हुने अपेक्षा गरेको भेटमा बताएका छन् ।

भेटका क्रममा प्रमुख तीन दलबीच गोकर्णमा भएको बैठकबारे सभापति भट्टराईले प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

प्रधानमन्त्री कोइरालाले पनि चाँडो सहमति गरेर संविधान जारी गर्नुपर्नेमा जोड दिएको स्रोतले बतायो । त्यसका लागि आफूले सक्दो भूमिका खेल्ने प्रधानमन्त्रीले बाबुरामलाई आश्वासन दिएका छन् ।

डा. भट्टराईले सहमति निर्माणका लागि गृहकार्यस्वरुप शुक्रबार एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए ।

प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयुक्तसँग छलफल हुने

ram-kumar-prashad-sha
प्रधानन्यायाधीश रामकुमार प्रसाद साह

यसैवीच सहमति निर्माणका लागि आइतबार र सोमबार हुने तीन दलका शीर्षनेताको बैठकको तयारीका लागि डा. भट्टराईले आइतबार बिहान प्रधानन्यायाधीश र निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् ।

आइतबार बिहान संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको संयोजनमा तीन दलका शीर्षनेताहरुको उपस्थितिमा प्रधानन्यायाधीश तथा सर्वोच्चका न्यायाधीशसँग भेटवार्ताको कार्यक्रम तय भएको हो ।
निर्वाचन प्रणालीका बारेमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरुसँग पनि आइतबार विहानै छलफल हुने भएको छ ।

सिंहदरबारमा हुने दुबै छलफलपश्चात आइतबार अपरान्ह प्रमख तीन दलका शीर्षनेताबीच पहिले छुट्टाछुट्टै र सोमबार सामुहिक रुपमा बैठक बस्ने बताइएको छ ।
सम्वाद समितिकै संयोजनमा प्रमुख दलबीच दुईदिने बैठक हुन लागेको हो । सम्वाद समितिलाई सहमति कायम गर्ने समयावधि संविधानसभाले कात्तिक १५ गतेसम्मका लागि तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment