Comments Add Comment

कांग्रेस र एमाले नसच्चिए मधेसीलाई आफैँ सरकार बनाउने छुट हुन्छ : प्रचण्ड

२२ कात्तिक, जनकपुर । नेकपा एमाओवादीका अध्यक्ष तथा २२ दलीय गठबन्धनका संयोजक प्रचण्डले नेपालको भाग्य र भविश्य अब मधेसी जनताको हातमा आएको बताएका छन् ।

Prachanda in khula Manchशनिबार जनकपुरमा आयोजित २२ दलको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले सात प्रदेशको प्रस्ताव ल्याएका नेपाली कांग्रेस र एमालेले गल्ती नसच्याए मधेसी जनतालाई आफ्नो सरकार आफैं गठन गर्ने अधिकार प्राप्त हुने बताए ।

मधेसी, जनजाति र माओवादीलाई ‘माइनस’ गरेर संविधान बनाइए त्यो मान्य नहुने उनले बताए । ‘कांग्रेस र एमाले सच्चिएनन् भने तपाई मधेसी जनता पनि आफ्नो सरकार आफैं बनाउन स्वतन्त्र हुनुहन्छ’ प्रचण्डले सभामा भने,’मधेसको मात्रै होइन, नेपालकै भाग्य र भविश्य के हुन्छ भन्ने अब मधेसी जनताको हातमा आएको छ ।’

म डराउने मान्छे होइन

भाषणको प्रारम्भमै प्रचण्डले मधेसी जनतालाई धोका नदिने प्रतिवद्धता जनाए । ‘म डराउने मान्छे चाँहि होइन, डराएको भए जनयुद्ध हुने नै थिएन,’ उनले भने- ‘म दह्रोसँग खुट्टा टेक्छु, मधेसी जनतालाई साक्षी राखेर २२ दलका नेतालाई पनि भन्न चाहन्छु, म त अगाडि बढें, वीचमा, मझधारमा लगेर मलाई नछाडिदिनु होला ।’

आन्दोलनमा कसले धोका दिन्छ कि दिँदैन भन्नेबारे एक-एक हिसाब राख्न मधेसी जनतालाई प्रचण्डले आग्रह गरे । सरकार सञ्चालनको आधार राजनीतिक र संवैधानिक दुई किसिमको हुने भन्दै कांग्रेस र एमालेले दुबै आधार तोडेको प्रचण्डको आरोप छ ।

माओवादी, मधेसी र जनजातिसँगको सम्झौता तोडेर कांग्रेस र एमालेले सरकार सञ्चालनको राजनीतिक आधार गुमाएको उनले बताए ।

अन्तरिम संविधानको धारा- १३८ मा राज्य पुनसंरचना गर्दा स्वायत्त मधेस प्रदेश हुने लेखिएको भन्दै प्रचण्डले कांग्रेस र एमालेको सात प्रदेशको प्रस्तावले अन्तरिम संविधान च्यातेको आरोप लगाए ।

कांग्रेस र एमालेले आफ्नो प्रस्ताव सच्याएनन् भने मधेसी जनताले आफ्नो सरकार आफैं बनाउन पाउने र संयुक्त राष्ट्र संघ, भारत, चीन, युरोप र अमेरिकाले २२ दललाई नै समर्थन गर्नुपर्ने प्रचण्डले दाबी गरे ।

कांग्रेस र एमालेलाई प्रचण्डले सामन्तवाद र राजतन्त्रको पुच्छर एवं विषालु सर्पको संज्ञा दिए । ‘कांग्रेस र एमाले विषालु सर्पका पुच्छर हुन्, सर्पको टाउको किचिइसकेको छ, पुच्छर मात्रै हल्लिँदैछ, उनले भने- ‘पुच्छर र टाउको जोडियो फेरि सर्प बाँच्न सक्छ, त्यसैले अब पुच्छर पनि थिच्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment