+
+
Shares

अमेरिकामा आज मध्यावधि निर्वाचन, ट्रम्पका लागि किन महत्वपूर्ण ?  

राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको दुई वर्ष पूरा हुन लाग्दा हुन लागेको यो निर्वाचनलाई उनको प्रशासनप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते ६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ, जसलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ।
  • यस निर्वाचनबाट प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका १०० मध्ये ३५ सिटका साथै ३६ राज्यका गभर्नरको शक्ति सन्तुलन तय हुनेछ।
  • रिपब्लिकनले दुवै सदनमा बहुमत कायम राख्ने वा डेमोक्र्याटहरूले बहुमत हासिल गर्ने परिणामले ट्रम्पको आगामी दुई वर्षे नीति कार्यान्वयनमा प्रभाव पार्नेछ।

१७ कात्तिक, काठमाडौं । अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको दुई वर्ष पूरा हुन लाग्दा हुन लागेको यो निर्वाचनलाई उनको प्रशासनप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ ।

यस निर्वाचनबाट अमेरिकी संसद् कंग्रेसका दुवै सदन (प्रतिनिधिसभा र सिनेट) को शक्ति सन्तुलन निर्धारण हुनेछ । निर्वाचनको नतिजाले ट्रम्प प्रशासनले आगामी दुई वर्षमा आफ्नो नीति तथा कार्यक्रम अघि बढाउन कति सहजता पाउँछ भन्ने पनि तय गर्नेछ ।

अमेरिकी निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा मतदाताले आफ्नो राज्य र निर्वाचन क्षेत्रअनुसार संघीय, राज्य तथा स्थानीय तहका प्रतिनिधि चयन गर्नेछन् ।

यस निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका १०० मध्ये ३५ सिटका लागि मतदान हुँदैछ । सिनेटका ३३ नियमित सिटसँगै दुई विशेष निर्वाचन पनि हुँदैछन् । त्यस्तै, ३६ राज्यमा गभर्नर चयनका लागि पनि मतदान हुनेछ ।

हाल रिपब्लिकन पार्टीको प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत छ । त्यसैले डेमोक्र्याटिक पार्टीका लागि यस निर्वाचनमा दुवै सदनमा आफ्नो उपस्थिति बलियो बनाउनु मुख्य चुनौती छ ।

प्रतिनिधिसभामा रिपब्लिकनको बहुमत साँघुरो रहेकाले केही निर्वाचन क्षेत्रको नतिजाले पनि सदनको शक्ति सन्तुलन परिवर्तन गर्न सक्छ । सिनेटमा बहुमत प्राप्त गर्न डेमोर्क्याटहरूले चार सिटको खुद वृद्धि गर्नुपर्ने अवस्था छ ।

मध्यावधि निर्वाचनमा सत्तारूढ राष्ट्रपतिको दलले संसदमा आफ्नो बहुमत गुमाउने सम्भावना रहने भएकाले यसलाई राष्ट्रपतिको कार्यसम्पादनप्रतिको जनमत परीक्षणका रूपमा लिने गरिन्छ ।

यदि डेमोक्र्याटहरूले प्रतिनिधिसभामा बहुमत हासिल गरे भने ट्रम्प प्रशासनका निर्णयमाथि संसदीय निगरानी र अनुसन्धान बढ्न सक्छ । त्यस्तै, रिपब्लिकनले बहुमत कायम राखेमा ट्रम्पलाई आफ्नो नीतिगत एजेन्डा अघि बढाउन सहज हुनेछ ।

रोयटर्सका अनुसार यसपटकको निर्वाचनमा जीवनयापनको लागत, आर्थिक अवस्था, इरानसँगको युद्ध र ट्रम्प प्रशासनका नीतिहरू प्रमुख चासोका विषय बनेका छन् ।

निर्वाचनको अन्तिम नतिजाले सन् २०२८ मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनअघि दुवै दलको राजनीतिक रणनीति र शक्ति सन्तुलनमा समेत प्रभाव पार्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?