+
+
Shares

क्यालिफोर्नियाका २० हजार मत गणना नगर्न ट्रम्प प्रशासनले गरेको माग सर्वोच्च अदालतबाट अस्वीकार

अमेरिकी न्याय मन्त्रालयले गत महिना क्यालिफोर्नियाको मतदाता नामावलीमा करिब २० हजार गैरनागरिक मतदाता हुन सक्ने दाबी गरेको थियो । उनीहरूको नागरिकता प्रमाणीकरण नभएसम्म मतदान गर्न नदिन र ती मतपत्र गणना नगर्न मन्त्रालयले माग गरेको थियो । तर, क्यालिफोर्नियाका निर्वाचन अधिकारीहरूले संघीय सरकारलाई राज्यको निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्ने अधिकार नभएको भन्दै उक्त दाबीको प्रतिवाद गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते ६:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी सर्वोच्च अदालतले क्यालिफोर्नियामा करिब २० हजार मतपत्र अलग राख्न ट्रम्प प्रशासनले गरेको माग अस्वीकार गरेको छ।
  • अमेरिकी न्याय मन्त्रालयले गैरनागरिक मतदाता हुन सक्ने दाबी गर्दै ती मतपत्रको गणना रोक्न माग गरेको थियो, तर तल्ला अदालतका फैसला कायम रहे।
  • क्यालिफोर्नियामा करिब २ करोड ६० लाख मतदाता दर्ता छन्, र त्यहाँको निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा महत्व राख्छ।

१७ कात्तिक, काठमाडौं । क्यालिफोर्नियामा गैरनागरिकले मतदान गरेको हुनसक्ने भन्दै करिब २० हजार मतपत्र अलग राख्न डोनाल्ड ट्रम्प प्रशासनले गरेको माग अमेरिकी सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

अमेरिकामा मध्यावधि निर्वाचन हुनुभन्दा एक दिनअघि सर्वोच्च अदालतले ट्रम्प प्रशासनको माग खारेज गरेको हो ।

अमेरिकी न्याय मन्त्रालयले क्यालिफोर्नियाका निर्वाचन अधिकारीलाई ती मतपत्रको गणना रोक्न र नागरिकता प्रमाणित नभएसम्म अलग राख्न आदेश दिन माग गर्दै ट्रम्प प्रशासनले सर्वोच्च अदालतमा निवेदन दिएको थियो । तर त्यसलाई सर्वोच्च अदालतले अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

सर्वोच्च अदालतको यो निर्णयसँगै तल्ला अदालतबाट भएका फैसला कायम रहने भएका छन् । यसले विवादित मतपत्रलाई गणनाबाट अलग राख्न ट्रम्प प्रशासनले गरेको पछिल्लो प्रयास पनि असफल भएको छ ।

अमेरिकी न्याय मन्त्रालयले गत महिना क्यालिफोर्नियाको मतदाता नामावलीमा करिब २० हजार गैरनागरिक मतदाता हुन सक्ने दाबी गरेको थियो । उनीहरूको नागरिकता प्रमाणीकरण नभएसम्म मतदान गर्न नदिन र ती मतपत्र गणना नगर्न मन्त्रालयले माग गरेको थियो ।

तर, क्यालिफोर्नियाका निर्वाचन अधिकारीहरूले संघीय सरकारलाई राज्यको निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्ने अधिकार नभएको भन्दै उक्त दाबीको प्रतिवाद गरेका थिए ।

यस विषयमा तल्ला अदालतहरूले पनि ट्रम्प प्रशासनको माग अस्वीकार गरेका थिए । पुनरावेदन अदालतले समेत दुई पटक प्रशासनको पक्षमा फैसला नगरेपछि ट्रम्प प्रशासनले निर्वाचनको अघिल्लो दिन सर्वोच्च अदालत गुहारेको थियो ।

सर्वोच्च अदालतले भने कुनै विस्तृत कारण नखुलाई एक वाक्यको आदेशमार्फत निवेदन अस्वीकार गरेको हो । आदेशमा न्यायाधीश एलिना कागनसमक्ष पेस भएको र पछि पूर्ण अदालतमा पठाइएको निषेधाज्ञासम्बन्धी निवेदन अस्वीकार गरिएको उल्लेख छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकामा व्यापक निर्वाचन धाँधली हुने र डेमोक्रेटिक पार्टीले आप्रवासीलाई अवैध रूपमा मतदान गर्न दिएर निर्वाचन प्रभावित पार्ने गरेको आरोप लगाउँदै आएका छन् । उनले विशेषगरी हुलाकमार्फत हुने मतदानप्रति पटक–पटक प्रश्न उठाउँदै आएका छन् ।

तर, गैरनागरिकसहित मतदानका लागि अयोग्य व्यक्तिले मतदान गर्ने घटना दुर्लभ रहेको विभिन्न अध्ययन तथा राज्यस्तरीय लेखापरीक्षणले देखाएका छन् ।

क्यालिफोर्नियामा करिब २ करोड ६० लाख मतदाता दर्ता छन् । अमेरिकी प्रतिनिधिसभामा सबैभन्दा बढी ५२ सिट रहेको यो राज्यको निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा समेत महत्व राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?