News Summary
Generated by OK AI. Editorially reviewed.- छठ पर्व नजिकिँदै गर्दा वीरगञ्जको सिर्सिया नदी सरसफाइ र औद्योगिक प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ ।
- उद्योग विभागले कात्तिक १४ गते प्रशोधन नगरेको फोहोर पानी नदीमा नछोड्न उद्योगहरूलाई पुनः निर्देशन दिएको छ ।
- कात्तिक १५ गतेको सर्वदलीय बैठकले प्रदूषण नियन्त्रणका लागि फोहोर पानी प्रशोधन, अनुगमन र संरक्षण कोषसम्बन्धी पाँचबुँदे निर्णय गरेको छ ।
१७ कात्तिक, वीरगञ्ज । छठ पर्व नजिकिँदै गर्दा वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ र औद्योगिक प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ । नदीमा उद्योगबाट निस्कने रसायनयुक्त तथा प्रशोधन नगरिएको फोहोर पानी मिसिने समस्या नियन्त्रण गर्न सरकारले उद्योगहरूलाई कडाइ गरेको हो ।
छठ पर्वमा नदी किनारमा पूजा तथा अर्घ्य दिन आउने श्रद्धालुका लागि स्वच्छ वातावरण बनाउन सरकारी निकाय र स्थानीय तहले सरसफाइ तथा अनुगमनलाई तीव्रता दिएका छन् ।
उद्योग विभागले कात्तिक १४ गते उद्योगहरूलाई प्रशोधन नगरेको फोहोर पानी नदीमा नछोड्न पुन: निर्देशन दिएको थियो । विभागले उद्योगहरूको संयुक्त अनुगमन तथा निरीक्षण गर्ने पनि जनाएको छ ।
यसैबीच, कात्तिक १५ गते प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सिर्सिया नदीको प्रदूषण नियन्त्रण र फोहोर व्यवस्थापनका लागि पाँचबुँदे निर्णय गरेको छ ।
बैठकले औद्योगिक क्षेत्रका उद्योगलाई फोहोर पानी प्रशोधन केन्द्र २४ सै घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ । प्रशोधन नगरेको रसायनयुक्त पानी नदीमा मिसाएको पाइए कारबाही गर्ने निर्णयसमेत गरिएको छ ।
त्यस्तै, साना तथा मझौला उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन गर्न साझा प्रशोधन केन्द्र स्थापना गर्ने सम्भाव्यता अध्ययन गर्ने निर्णय भएको छ । नगरपालिकाबाट निस्कने ढल नदीमा मिसिन नदिन वैकल्पिक निकासको व्यवस्था गर्ने र नदीको दीर्घकालीन संरक्षणका लागि तीनै तहका सरकारको सहभागितामा संरक्षण कोष स्थापना गर्ने विषय पनि बैठकको निर्णयमा समेटिएको छ ।
सिर्सिया नदी प्रदूषणमा संलग्न उद्योगमाथि सरकारले यसअघि पनि कारबाही गरेको थियो । गत साउन ५ गते सार्वजनिक विवरणअनुसार नदी आसपासका उद्योगबाट निस्कने फोहोर पानी परीक्षण गर्दा १२ उद्योगले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएको थियो ।
ती उद्योगलाई जनही १० लाख रुपैयाँका दरले कुल १ करोड २० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको थियो ।
प्रतिक्रिया 4