Comments Add Comment

एयरपोर्ट र हेलिप्याड निर्माणमा नयाँ प्रविधि

Simrik-Helicopter

२६ मंसिर, काठमाडौं । यूरोप तथा अमेरिकाका एयरपोर्ट र हेलिप्याड निर्माणमा प्रयोग हुँदै आएको ‘एभी ट्रफ’ प्रविधि नेपाल भित्राइएको छ । यही प्रविधिबाट निर्माण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेलिप्याडमा शुक्रबार परिक्षण उडान गरिएको छ ।

हरियो दुबोको बगैंचाजस्तो देखिने एभी ट्रफ प्रविधि डेनमार्कको एभरग्रिन एभियसनले विकास गरेको हो । यही कम्पनीका टेक्निकल डाइरेक्टर निकोलज डुकर्टले त्रिभुवन विमानस्थलमा एभी ट्रफ प्रविधिबाट हेलिप्याड निर्माण गरेका हुन् ।

प्लाष्टिकबाट बनाइएको मोटो धागो र बालुवाको प्रयोग गरि एभी ट्रफ प्रविधि विकास गरिएको हो । त्रिभुवन विमानस्थलमा बनाइएको हेलिप्याडमा सिम्रिक एयरको हेलिकप्टर सफलतापूर्वक उडान तथा अवतरण गरेको थियो ।

AV-Truf-3

परिक्षण उडानमा हेलिप्याड निर्माता निकोलज, नेपाल उड्डयन प्राधिकरणका उच्च अधिकारी, हेलिकप्टर कम्पनी लगायतको बाक्लो उपस्थिती रहेको थियो । हाम्रो जस्तो मुलुकमा हेलिप्याड तथा विमानस्थलको रन वे बनाउन यो प्रविधि उत्तम रहेको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बताए ।

दुर्गम जिल्लामा अझै पनि हेलिप्याड तथा एयरपोर्टका रन वे कच्ची रहेका छन् । त्यो ठाउँमा तत्कालको लागि यो प्रविधि अपनाउन सकिने पाण्डेको भनाई थियो । उनका अनुसार हलुका हुने हुँदा सजिलै लैजान सकिने, छोटो अवधिमा निर्माण गर्न सकिने र खर्च समेत कम लाग्ने हुँदा यो प्रविधि उपर्यूक्त भएको हो ।

यस प्रविधिबाट निर्मित हेलिप्याडको आयु २५ वर्ष हुने एभरग्रीन एभियसनका टेक्निकल डाइरेक्टर निकोलजले बताए । उनका अनुसार त्रिभुवन विमानस्थलको हेलिप्याड बनाउन प्रतिबर्ग फुट २३ यूरो लगानी लागेको छ । दुईवटा हेलिकप्टर पार्किङ गर्न मिल्ने हेलिप्याड २७ बर्गफिट रहेको छ ।

AV-Truf-2

यस प्रविधिमा हेलिकप्टर ल्याण्ड गराउँदा धुलो नउड्ने सबैभन्दा ठूलो विशेषता हो । नेपालका अधिकांश हेलिप्याड कच्ची छन्, जहाँ ल्याण्ड गर्दा अत्याधिक धुलो उडेर हेलिकप्टरको इञ्जिन जाम हुन्छ’ पाटा नेपाल च्याप्टर अध्यक्ष पाण्डेले भने- ‘त्यस्ता हेलिप्याडमा यो प्रविधि अपनाउन सकेमा धुलो उड्ने र इञ्जिन बिगि्रने समस्याबाट मुक्त भइन्छ ।’

हाम्रा कच्ची हेलिप्याड तथा एयरपोर्टका रन वे वर्षामा हिलाम्मे हुने गरेका छन् । यो प्रविधि अपनाउँदा त्यो समस्याबाट पनि मुक्ती मिल्छ । यो प्रविधि पिच गरेजस्तो हुने हुँदा हिलो तथा धुलोबाट मुक्ती मिल्ने भएको हो ।

यो हेलिप्याडमा मात्र नभएर ग्रामिण क्षेत्रका साना एयरपोर्टका रन वे र एयरपोर्टको आसपारको भागमा समेत प्रयोग गर्न सकिन्छ । बाह्रै महिना हरियो देखिने हुँदा घाँस उमि्रने ठाउँमा यही प्रविधि प्रयोग गरेर घाँस काटिरहनुपर्ने झन्झट रहँदैन् ।

AV-Truf

मुलुकको एकमात्र अन्तर्राष्ट्रि विमानस्थल त्रिभुवन विमानस्थल किराफट्याङ्ग्रा तथा गडौंलाको समस्याबाट आजित छ । घाँस उमि्रने ठाउँमा एभी ट्रफ प्रविधि प्रयोग गरेमा त्यो समस्याबाट समेत मुक्ति मिल्ने बताउँछन पाण्डे ।

‘नियामक निकायका उच्च अधिकारिलाई बोलाएर परिक्षण उडान सम्पन्न गरिएको छ, यसको फाइदाका बारेमा उहाँहरुलाई जानकारी भए यो प्रविधि प्रयोगमा अग्रसर हुनुहन्छ कि भन्ने हाम्रो अपेक्षा हो’ पाण्डेले भने- ‘यसले राम्रो रिजल्ट दिएको खण्डमा हेलिप्याड निर्माणमा यो प्रविधि अपनाउँदा राम्रो हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment