Comments Add Comment

सबैतिर महँगीः तर सरकार भन्छ-मूल्यबृद्धिदर घट्यो

३ पुस काठमाडौं । एक मूठो सागदेखि एक बोरा चामल किन्दासम्म सर्वसाधारणको खल्ति रित्तिसकेको हुन्छ । पछिल्लो पटक नुनमा समेत मूल्य बृद्धि भएपछि जनताको दैनिक उपभोग्य सामानको भाउ बढ्न अब कुनै बस्तु बाँकी छैन ।

तर, पनि सरकारले भने मूल्य बृद्धिदर घटेको दावी गरेको छ । सरकारको आर्थिक सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको तुलनामा यो वर्ष मूल्य वृद्धिदर घटेको तथ्यांक सार्वजानिक गरेको छ ।

राष्ट्रबैंकले कागजी अध्ययनबाट निकालेको तथ्यांक जनताको चूल्होसम्म पुग्दा झूठको पुलिन्दामा परिणत भइसकेको हुन्छ । बिहीबार राष्ट्र बैंकले यस्तै अपत्यारिलो तथ्यांक सार्वजनिक गरेको छ ।

गत कात्तिक मसान्तमा वाषिर्क विन्दुगत उपभोक्ता मुल्यवृद्धि ७.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । जबकी गत वर्षको कात्तिकमा यस्तो मूल्यवृद्धि १० प्रतिशत थियो ।

यो तथ्यांकले उच्चदरमा हुने मुल्यवृद्धि नियन्त्रण गर्न सरकार सफल भएको देखाउँछ । तर, आर्थिक वृद्धिभन्दा मुल्य वृद्धि झन्डै दोब्बर भएकाले सर्वसाधारण मूल्य वृद्धिको मारबाट मुक्त भने भएका छैनन ।

आर्थिक वृद्धि आम्दानी हो भने मुल्य वृद्धि खर्च हो । गत वर्ष करिब ५ प्रतिशको आर्थिक वृद्धि भएको थियो भने मूल्य वृद्धि ९ प्रतिशत थियो ।  विगतका ५ वाषिर्क औषत ९ दशमलब ५० प्रतिशतको मुल्यवृद्धि भएको थियो । चालू आर्थिक वर्षमा मुल्यवृद्धि दर ८ प्रतिशतमा कायम राख्ने सरकारी लक्ष्य छ ।

अर्थमन्त्री डा. रामशरण महतले चालू वर्षको बजेट बक्तव्यमा ८ अंकको मुल्यवृद्धि र ६ अंकको आर्थिक वृद्धिको लक्ष्य राखेका थिए ।

सुर्तीजन्य वस्तुको मुल्य २३ प्रतिशतले बढ्यो

राष्ट्र बैंकले सार्वजानिक गरेको तथ्यांकमा सुर्तीजन्य वस्तुको मुल्य सबैभन्दा धेरैले बढेको छ । राष्ट्र बैंकका अनुसार सुर्तीजन्य वस्तुको मुल्य २३.५ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा सुर्तीजन्सय वस्तुको मुल्य ९.९ प्रतिशतले बढेको थियो ।

खाद्य तथा पेयको ९.९ प्रतिशत

कात्तिकमा खाद्य तथा पेय पदार्थको मूल्य ९.९ प्रतिशतले बढेको छ भने गैर-खाद्य तथा सेवा समूहको मूल्य ४.८ प्रतिशतले बढेको छ ।

गत वर्षको यसै अवधिमा यी समूहहरुको मूल्य क्रमशः १३.५ प्रतिशत र ६.९ प्रतिशतले बढेको थियो ।

गत वर्षको कात्तिकमा ९.६ प्रतिशतले बढेको मदिराजन्य वस्तुको मुलय यो वर्षको कात्तिकमा भने १९.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

फलफूलको वृद्धिदर घट्यो

गत वर्षको कात्तिकमा १५.३ प्रतिशतले बढेको फलफूलज उप-समूहको मूल्य सूचकाङ्क यो कात्तिकमा १३.४ प्रतिशतले मात्रै बढेको छ ।

खाद्यजन्य पद्धार्थको १२.७ प्रतिशत

राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा खाद्य तथा खाद्यजन्य पदार्थ उप-समूहको मूल्य सूचकाङ्कमा १२.७ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उप-समूहको सूचकाङ्क भने ११.७ प्रतिशतले बढेको छ ।

गत वर्षको कात्तिकमा खाद्य तथा खाद्यजन्य पदार्थ उप-समूहको मूल्य सूचकाङ्क १२.६ प्रतिशतले र दाल तथा गेडागुडी उप-समूहको मूल्य सूचकाङ्क ३.५ प्रतिशतले बढेको थियो ।

घ्यू-तेलको मुल्यवृद्धि घट्यो

गत वर्षको कात्तिकको तुलनामा यो कात्तिकमा घ्यू तथा तेल उप-समूहको मूल्य सूचकाङ्क ०.१ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । गत वर्षको कात्तिकमा घ्यू तथा तेल उप-समूहको मूल्य सूचकाङ्क १.२ प्रतिशतले बढेको थियो ।

कपडा र जुत्ता चप्पलको ७.६ प्रतिशत बढ्यो

समीक्षा अवधिमा गैर-खाद्य तथा सेवा समूहका वस्तुहरुमध्ये लत्ता कपडा तथा जुत्ता-चप्पल उप-समूहको मूल्य सूचकाङ्क सबैभन्दा बढी अर्थात ७.६ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा यस उप-समूहको मूल्य सूचकाङ्कमा ११.७ प्रतिशतले बढेको थियो ।

स्वास्थ्य, फर्निसिङ र शिक्षामा पनि बढ्यो

त्यस्तै, समीक्षा अवधिमा स्वास्थ्य उप-समूह र फर्निसिङ्ग तथा घरायसी उपकरण उप-समूहको मूल्य सूचकाङ्कमा क्रमशः ६.९ प्रतिशत र ६.४ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्षको सोही अवधिमा उक्त उप-समूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः ५.७ प्रतिशत र ९.५ प्रतिशतले वृद्धि भएको थियो ।

त्यसैगरी कात्तिकमा अन्य वस्तु तथा सेवा उप-समूह र शिक्षा उप-समूहको मूल्य सूचकाङ्कमा क्रमशः ५.८ प्रतिशत र ५.५ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा उल्लिखित दुबै उप-समूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः ८.३ प्रतिशत र ७.८ प्रतिशतले वृद्धि भएको थियो ।

बाहिरभन्दा काठमाडौं उपत्यकामा कम

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा तराई र पहाड दुबै क्षेत्रहरुको मूल्य सूचकाङ्कमा ७.२ प्रतिशतले वृद्धि भएको छ भने काठमाण्डौ उपत्यकाको मूल्य सूचकाङ्क ७.१ प्रतिशतले बढेको छ ।

गत वर्षको सोही अवधिमा यस्तो मूल्य सूचकाङ्कहरुको वृद्धिदर तराईमा १०.६ प्रतिशत र पहाडमा ८.४ प्रतिशत रहेको थियो भने काठमाडौं उपत्यकामा १०.४ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment