Comments Add Comment

विप्लवले भने- संघीयताको बहस केराको बोक्रो जस्तै (भिडियो सहित)

Netra bikram chand Biplav at Khula Manch (1)

११ पुस, काठमाडौं । नेकपा माओवादीका नेता नेत्रविक्रम चन्द विप्लवले दलहरुबीच भइरहेको संघीयताको बहसलाई ‘केराको बोक्रो’जस्तै बताएका छन् ।

वैद्य माओवादी क्रान्तिकारी भएन भनेर विद्रोह गरेका विप्लवले आफ्नो पार्टी शान्ति र सहमतिको विकल्प नरहेको बताएका छन् ।

‘संघीयताको बहस केराको बोक्रोको भागवण्डा जस्तै हो’ शुक्रबार खुल्लामञ्चमा आयोजित आमसभामा विप्लवले भने-‘केरा खाइसक्यो, बोक्रामा निरर्थक बहस भइराखेको छ । संघीयताभन्दा पहिले हामीलाई जनताको सत्ता चाहियो ।’

हेर्नुहोस् भिडियो

 

दुई तिहाइको दाबी

तपाईहरुलाई लागेको होला, माओवादी जंगल जान्छ तर, शान्तिको विकल्प छैन । हामी शान्ति चाहन्छौं-विप्लव

माओ जयन्तीका अवसरमा आयोजित जनसभामा विप्लवले माओवादीसँग अझै दुई तिहाइ बहुमत रहेको दाबी गरेका छन् । कांग्रेस र एमालेसँग दुई तिहाइ बहुमत छ भन्नु झूठो दाबी भएको उनको आरोप छ ।

‘तपाईहरुको दुई तिहाइ झूठो हो । दुई तिहाइ त माओवादीसँग अझै पनि छ, खुल्लामञ्चबाट विप्लवले भने-‘माओवादीले ८० प्रतिशत भूभाग जितेको हो, त्यतिबेला कांग्रेस र एमाले जेलमा थिए । अहिले आएर दुइतिहाइको फुइँ लगाउने ?’

‘अहिले अरबपतिले जितेको संविधानसभा हो, रगत बलिदान दिने माओवादीहरु हारे, विप्लवले भने-‘दलालहरुले पैसा बाँडेर जिते, त्यसैले नक्कली संविधानसभा हो यो ।’

सर्वहाराका नेता अर्बपति भए

माओवादी नेता विप्लवले बालुवाटार, सिंहदरबार र नयाँ बानेश्वर बदल्न काठमाडौं छिरेका सर्वहाराका नेताहरु अर्बपति बनेको बताए ।

Netra bikram chand Biplav at Khula Manch (2)

‘माओवादीलाई जनताले कमान्डर बनाएर काठमाडौं ल्याएका हुन् । बालुवाटार, सिंहदरबार, बालुवाटार र सके भद्रकाली पनि फेरौंला भन्ने थियो, नेताहरुलाई सर्वहाराको नायक बनाएर पठाएकै हौं,’ विप्लवले भने-‘जोकर बन्छन् भने हाम्रो के लाग्छ । अर्बपति, विनोद चौधरी नै बन्छन् भने हाम्रो के लाग्छ ? नफर्किने मान्छेहरु फर्के त के गरौं ।’

‘प्रचण्डले जिब्रो चपाए’

माओवादीका नेता चन्दले जनयुद्धमा बलिदान गरेका जनतालाई जवाफ नदिएर प्रचण्डले जिब्रो चपाएको आरोप लगाए । ‘हामीले प्रचण्डसँग जवाफ मागेका थियौं, उहाँले जिब्रो चपाउनुभयो’ उनले भने-‘किरणजीले जवाफ दिनुहुन्छ कि भन्ने आशा गर्‍यौं, उहाँले जवाफ दिनुभएन ।’

जनयुद्धका क्रममा काठमाडौंमा यसरी आइएला भन्ने नसोचेको स्मरण गर्दै विप्लवले भने ‘हामी यहाँ आइपुगेका छौं, हामीले यस्तो सोचेका थिएनौं । यसको जवाफ प्रचण्डले दिनुपर्छ भन्ने सोचेका थियौं, काठमाडौंको खुल्लामञ्चबाट प्रचण्ड, बाबुराम र किरणहरुले अपील गर्ने सोचेर काठमाडौंमा पसेका थियौं ।’

‘शान्ति र सहमति चाहन्छौं’

विप्लवले आफूहरु जंगल नजाने भन्दै शान्ति र सहमति नै चाहिएको बताए । ‘हाम्रो भनाइ के हो भने सहमति गरौं र नयाँ ढंगले अगाडि बढौं’ उनले भने-‘तपाईहरुलाई लागेको होला, माओवादी जंगल जान्छ तर, शान्तिको विकल्प छैन । हामी शान्ति चाहन्छौं ।’

सरकारले माओवादीविरुद्ध युद्ध छेडेको र प्रतिक्रान्ति गरिरहेको विप्लवको आरोप छ । ‘हामीसँग हतियार पनि छैन । तर, पेल्न थाल्नुभयो भने के हुन्छ ? यो दिमागमा हतियार सोच्न थालियो भने हतियार भोलि बिहान आइपुग्छ है,’ विप्लवले भने-‘माओवादीको विरुद्धमा युद्ध छेडिएको छ । नेपालमा प्रतिक्रान्ति भइरहेको छ ।’

विप्लवले थपे -‘हामी गल्दैनौं, लडेर लैजाऊ भनेको भए ठीकै छ, हिजो हामीलाई हराएर संविधान लेखेको भए केही थिएन, तर माओवादीलाई सुताएर संविधान लेख्न खोजिन्छ भने हामी मान्दैनौं ।’

आफूहरु संविधानविरोधी नभएको बताउँदै विप्लवले जनयुद्धमा लागेकाहरुलाई अपराधी सावित गर्नेगरी संविधान बनाउन लागिएको आरोप लगाए ।

नेताको काम अरुलाई गाली

नेपालका नेताहरुले अरुलाई गाली गर्न बाहेक केही गर्न नसकेको विप्लवले बताए । ‘नेताहरुको काम मुख नधोई, आँखा मिच्दै अर्कालाई गाली गर्छन्,’ विप्लवले भने-‘मजदुर किसानको अवस्था तिनलाई मतलब छैन । युवाहरुको मतलब छैन । प्रधानमन्त्री चाहिएको छ, राष्ट्रपति चाहिएको छ ।’

कालो ज्याकेट लगाएर मञ्चमा उपस्थित भएका विप्लवले माओवादीलाई रोल्पा र दिल्लीमा सम्झौता गराएर सत्तापक्षले माओवादीविरुद्ध युद्ध छेडेको बताए ।

देशका विभिन्न जिल्लाबाट काठमाडौंमा मान्छे उतारेर आमसभाको आयोजना गरेका विप्लवले अब नेपालमा कुनै पार्टीले गरिखानेवाला छैन भन्ने जनतालाई परेको बताए । ‘माओवादीले धोका दियो तपाईहरुले भन्ने यही हुन्छ,’ विप्लवले भने, ‘विश्लेषक, लेखकहरु के भन्छन् भने अब माओवादी सिद्धियो ।’

धोका नदिने दाबी

माओवादीले धोका दिँदैन भन्ने के ग्यारेन्टी छ ? भन्ने प्रश्न उठेको बताउँदै विप्लवले नेपाली जनताले स्वाधीनता नपाएसम्म आत्मसर्मपण नगर्ने खुल्लामञ्चबाटै प्रतिवद्धता जनाए ।

Biplav khula manch Protest

‘माओवादी फुट्यो भन्ने हल्ला गरे पनि हुन्छ, किताब लेखे पनि हुन्छ’ उनले भने-‘नेपाली जनताको मुक्ति र नेपालको स्वाधीनताबाहेक हाम्रो अर्को स्वार्थ छैन ।’

नयाँ नीति पछि ल्याउने

आमसभामा विप्लव निकै उत्तेजक र आवेगात्मकरुपमा प्रस्तुत भएका थिए । उनले आफ्नो पार्टीले कस्तो नीति लिन्छ भन्नेबारे खासै केही बताएनन् । उनले जंगल नजाने भन्दै शान्ति र सहमतिकै प्रस्ताव अघि सारे । उनले आसन्न राष्ट्रिय सम्मेलनबाट नयाँ नीति ल्याउने कार्यकर्तालाई आश्वासन दिए ।

आफूले भनेको ‘एकीकृत क्रान्ति’ रुसको तरिकाले पनि हैन, चीनको तरिकाले पनि हैन’ भन्दै विप्लवले अगाडि भने-‘नेपाली विशेषतामा क्रान्ति आवश्यक छ ।’

चिनियाँ नेता माओको स्मरण गर्दै विप्लवले भने- ‘माओ हाम्रो देशको मान्छे हैन, हामीले चिनेको मान्छे पनि हैन । तर, उत्पीडित देशका नेता हुन् । चीनमा कम्युनिष्ट आन्दोलन चलाउन सकिँदैन भनेका बेला माओले इतिहासका निर्माता जनता हुन् भन्ने सिकाए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment