Comments Add Comment

वैद्यका कार्यकर्ताले भने-पार्टीमा आर्थिक अराजकता भो

Mohan baidhya Kiran

१३ पुस, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीको राजधानीमा जारी प्रथम राष्ट्रिय भेलामा सहभागी कार्यकर्ताले पार्टीमा आर्थिक अराजकता मौलाएको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि मौलाउँदै गएको आर्थिक अराजकता एमाओवादीसँगको विभाजनपछि पनि उस्तै रहेको कार्यकर्ताहरुले टिप्पणी गरे । शुक्रबारदेखि सुरु भएको भेलामा अध्यक्ष मोहन वैद्यले पेश गरेको राजनीतिक प्रस्तावमाथि भएको समूहगत छलफलको निश्कर्ष सुनाउँदै टोली नेताहरुले पार्टीमा आर्थिक पारदर्शिता नभएको बताए ।

‘आर्थिक पारदर्शिता कायम गर्नको लागि नेतृत्वलाई आग्रह मात्रै गरेनन् । पार्टीको आर्थिक अपारदर्शिताबारे नेतृत्व जिम्मेवार भएको समेत आरोप लगाएका छन्’ भेलाका एक प्रतिनिधिले भने ।

अधिकार सम्पन्न आयोग गठनको माग

भेलामा अध्यक्षको दस्तावेजमाथिको समूहगत छलफलको निश्कर्ष सुनाउँदै टोली नेताहरुले भने-‘पार्टीमा आर्थिक अराजकतासँगै राजनीतिक अराजकता पनि उस्तै छ ।’

आर्थिक विचलन र अपादर्शिता तथा अनुशासनहिनताका कारणले पार्टीलाई ठूलो क्षति पुर्याएको भन्दै उनीहरुले अधिकार सम्पन्न आर्थिक आयोग र अनुशासन आयोग गठन गर्न माग गरेका छन् । केही समूहले पार्टीमा देखिएको आर्थिक विचलन र अपारदर्शिता छानविनको काम समेत सोही अधिकार सम्पन्न आर्थिक आयोगले गर्नुपर्ने लिखित रुपमै सुझाव पेश गरेका हुन् ।

भेलामा केन्द्रीय सल्लाहकार सदस्यहरुको समूहले समेत पार्टीमा आर्थिक विचलन र अपारदर्शिता तथा अनुशासनहिनता बढेको भन्दै पार्टीमा ठूलो क्षति पुर्याएको बताएको छ ।

वैद्य नेताहरुकै चाइनिज एनजीओ

हलबाट कार्यकर्ताले पार्टी पोलिटब्युरो तहकै नेताहरुले आर्थिक चलखेल गर्ने गरेको आरोप लगाउँदा मञ्चमा पलेटी कसेर बसेका नेताहरुले मुखामुख गरे ।

समूहगत छलफलको निश्कर्ष सुनाउदै अधिकांश टोली नेताहरुले पार्टी नेताहरुको दैनिकी कार्यशैलीको पनि खुलेरै विरोध जनाए । भेलामा कार्यकर्ताले राखेको सुझावबारे एक कार्यकर्ताले भने-‘कार्यकर्ताहरुको ब्यवस्थापनको कुनै चासो छैन । तर नेताहरु चाइनिज एनजिओ समेत चलाउने गरेका छन्, कार्यकर्ताले आफ्ना छोराछोरी पाल्न सक्ने अवस्थासमेत छैन ।’

पार्टी भित्रका सवै तहका नेता कार्यकर्ताहरुको निजी सम्पत्ति तथा आर्थिक स्रोतहरु समेत सार्वजनिक गर्न कार्यकर्ताले माग राखेका छन् । उनीहरुले पार्टीका हरेक कमिटीहरुमा आर्थिक पारदर्शिता कायम राख्न समेत सुझाव दिएका छन् ।

माओवादी सेनाकोे हिसाब खोई ?

पार्टी शान्ति प्रक्रियामा आएपछि अस्थायी शिविरमा भएको आर्थिक अनियमिताबारे खोजी गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । अस्थायी शिविरमा करोडौं रुपैयाँ अनियमितता भएको भन्दै खोजबिन गर्नुपर्ने पनि वैद्य माओवादी कार्यकर्ताहरुले माग राखे ।

कार्यदिशा सारसंग्रहवादी

भेलामा पार्टी अध्यक्ष वैद्यले पेश गरेको कार्यदिशा सारसंग्रहवादी भएको कार्यकर्ताले टिप्पणी गरेका छन् । जनयुद्धको जगमा जनविद्रोह भनिए पनि कार्यदिशा अल्मलिएको केही समूहले टिप्पणी गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार कार्यकर्ताहरुले पार्टीको दस्तावेज कार्यान्वयनको समस्यालाई पनि उठाएका छन् ।

कार्यकर्ताहले पार्टीले शहीद परिवार तथा घाइते अपाङ्गहरुलाई वेवास्ता गरेको बताए । उनीहरुले ‘दश वर्षे जनयुद्धको पुँजी’ शहीद तथा घाइते, अपाङ्गलाई पार्टीले विर्सिएको आरोप लगाए । दश वर्षे जनयुद्धको पूँजीको बारेमा नै दस्तावेज मौन रहेको घाइते अपाङ्गको गुनासो थियो ।

संख्यामा एमाओवादी, विचारमा विप्लव घातकः गजुरेल

भेलामा उठेका प्रश्नहरुको नेतत्वले जवाफ दिने क्रम आइतबार नै सुरु भएको छ । माओवादीका उपाध्यक्ष सीपी गजुरेलले पार्टी विभाजनपछि विचार संघर्षमा विप्लव माओवादी बढी खतरनाक भएको बताएका छन् । संख्यात्मक रुपमा एकीकृत माओवादी खतरा बने पनि विचारको लागि विप्लव माओवादी नै बढी घातक हुने बताए ।

नवसंशोधनवादी भन्दा बाम खोल ओढेको दक्षिणपन्थी अवसरवाद नै बढी खतरा हुने भन्दै गजुरेलको विप्लवबाट हुने खतरा औंल्याए । ‘विप्लवले ढडिया थापेर बसेका छन्’ कार्यकर्ताहरुलाई सचेत गराउँदै उनले भने-‘तर, ढडियामा माछा परेजस्तो लाग्दैन ।’

उनले विगतमा जनयुद्धलाई स्थापित गरे जस्तै जनविद्रोह शब्दलाई पनि पत्रपत्रिकामा लेखेर र भित्ता भित्तामा लेखेर स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।

विप्लव बाबुराम लाइनमाः गुरुङ

भेलामा नेकपा-माओवादीका सचिव देव गुरुङ्ले विप्लवको लाइन बाबुराम भट्टराईकै लाइन भएको बताए । एमाओवादी नेता भट्टराईको क्रमभंगता माक्र्सवाद छाड्ने तयारी भएको टिप्पणी गर्दै गुरुङ्ले त्यही बाटो विप्लवले समाएको बताए ।

क्रान्ति गर्ने बाहनामा सत्ता साझेदारीको बाटो विप्लवले अंगालेको भन्दै नेताहरुले विप्लवलाई क्रान्तिकारी नेताका रुपमा नबुझ्न कार्यकर्तालाई अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment