Comments Add Comment

अायो गहना बजार एप्स, धेरै पसलका गहना मोबाइलबाटै छान्न सकिने

gahana-bazarकाठमाडौं । आफुलाई मन पर्ने गहना छान्न पसलमै पुग्नुपर्ने बाध्यताबाट उपभोक्तालाई मुक्ति मिल्ने भएको छ । अब घरमै बसी मोबाइलबाट आफुलाई मन पर्ने गहना रोजेर किन्न पाइने छ ।

सूचना प्रबिधि क्षेत्रमा काम गरिरहेको कम्पनी विधि प्रालिले नेपालमै पहिलो पटक गहनाका तस्विरसहित सम्पूर्ण जानकारी गराउने मोबाइ एप ‘गहना बजार’ सार्वजनिक गरेको छ । यस एपमार्फत राजधानीका प्रतिष्ठित गहना पसलका सुन तथा हिराका गहनाहरु मोबाइलमै छान्न सकिने छ ।

‘गहना बजार’ तत्कालको लागि एन्ड्रोइड प्लेटर्फममा मात्र उपलब्ध रहेको छ । आइओएस प्लेटर्फममा यसै साता ‘गहना बजार’ एप उपलब्ध गराउने विधिका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले जानकारी दिए ।

पछिल्लो समय व्यस्त बन्दै गइरहेका नेपालीहरुलाई यस एपले आकर्षक डिजाइनका गहना खरिद गर्न ठूलो सघाउ पुर्‍याउने अपेक्षा कम्पनीले लिएको छ । कम्पनीका अनुसार ‘गहना बजार’ एप प्ले स्टोरमा उपलब्ध भएको एक सातामै ९ हजार पटक डाउनलोड भइसकेको छ ।

यस एपमा आफुलाई आवश्यक औंठी, नेकलेस, इयररिङ, पेन्डेन्ट, जन्तर, तिलहरी, टप, बेंगल, मंगलसूत्र, सिक्रीलगायतका गहनाहरु खोज्न सकिने छ । एपमा गहना खोजेपछि त्यसलाई आफ्नो फेबरेट बनाई सेभ गरेर समेत राख्न सकिन्छ । अनि फूर्सदमा बजार गएर त्यही डिजाइनको गहना किन्न सकिने सापकोटाले बताए ।

अहिले ‘गहना बजार’ एपमा शालिमार ज्वेलर्स, बराह ज्वेलर्स, गहना स्टोर्स र एलएम सुनचाँदी पसलका गहनाका डिजाइनहरु समावेश भइसकेका छन् । अन्य ज्वेलर्सहरु आवद्ध हुने क्रम जारी रहेको कम्पनीले जनाएको छ ।

Gahana-Bazzar-Apps

के-के छन सुबिधा ?

यस एपले ग्राहकहरुले खरिद गर्ने गहनाको वास्तविक तौल, जर्ती र बनाउने ज्याला छुट्याएर हिसाब गर्ने तरिकासमेत सिकाउँछ । यसले उपभोक्ता ठगिनबाट जोगिने कम्पनीको विश्वास छ ।

अहिले सामान्य ग्राहकलाई पसलेले कति तौलको गहना दिएको छ भन्ने जानकारी समेत हुँदैन । पसलेले जति तौल भन्यो, त्यतिमै विश्वास गर्नुपर्ने अवस्था रहेको छ । यस एपमा गहनाको डिजाइन, तौल, पसलको नाम लगायतका जानकारी राखिएको हुन्छ ।

एपमा मन परेको गहना त्यहाँ राखिएको सम्बन्धीत पसलमा फोनमा तत्कालै सम्पर्क गरेर खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । विस्तारै भाइवर कलको सुविधा समेत एपमै मिलाउने पनि विधिको तयारी छ ।

त्यसैगरि, एपमा दैनिक सुनको मूल्य आफै अपडेट हुन्छ । पसलको विश्वसनीयता पनि एपबाटै बुझ्न सकिन्छ । दुई पसलका गहनाबीच तुलना गरेर पनि गहना छान्न सकिन्छ । यस्तो सुविधा मोवाइलमा मात्र नभई गहना बजारको वेवसाइटमा समेत उपलब्ध रहेको सापकोटाले जानकारी दिए ।

कम्पनी यो एपलाई अन्तराष्ट्रिय बजारमा समेत विस्तार गर्ने योजनामा छ । ‘ग्राहकहरु पसलमा गएर गहनाका डिजाइन छानेर बस्न भ्याउँदैनन्, यस्तो बेलामा उनीहरुले मोबाइलमै सबै प्रकारका डिजाइन हेरेर पाइने पसलमा किन्न सक्छ’ सापकोटाले भने- ‘यस एपले किनमेलको शैली परिवर्तन गरिदिने छ ।’

गहना बजार एप आफ्नो मोबाइलमा डाउनलोड गरेको देखाएर गहना बनाउने ज्यालामा १५ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट पाउने व्यवस्था समेत कम्पनीले मिलाएको छ । यो एपलाई ग्राहकको मागअनुसार अपग्रेडेड गर्दै जाने सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment