Comments Add Comment

तीस लाख मानिसको पहुँचमा पुग्यो ई-सेवा

esewa
१२ माघ, काठमाण्डौं । अनलाइनबाट किनमेल र कारोबार गर्न सकिने नेपालकै पहिलो पेमेन्ट गेटवे ई-सेवा ३० लाख उपभोक्ताको पहुँचमा पुगेको छ ।

२०६७ साल माघ ११ गतेबाट आफ्नो सेवा सुरुवात गरेको ई-सेवा अहिले नेपालका ७५ वटै जिल्ला, ३ हजार भन्दा बढी गा.वि.स. र सबै नगरपालिकामा विस्तार भइसकेको छ ।

मोबाइल तथा इन्टरनेटबाट कारोबार गर्न सकिने प्रविधि मार्फत ई-सेवाले ३० लाख भन्दा बढी मानिसहरूमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा आफ्नो सेवा पुर्‍याउन सफल भएको छ ।

ई-सेवामा एकाउन्ट खोलेर कारोबार गर्नेको संख्या मात्र अहिले ३ लाखको हाराहारीमा पुगेको छ भने देशभर रहेका करिब ९ हजार ई-सेवा जोन तथा पोइन्ट नेटवर्क मार्फत करिब ३० लाख व्यक्तिले सेवा पाइरहेका छन् ।

ई-सेवाको मोबाइल एप्लीकेशन डाउनलोड गरी मोबाइलबाट यो सेवा प्रयोग गर्नेहरूको संख्या करिब एक लाख छ । ई-सेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलिले छोटो समयमा लोकपि्रय बनेको सेवालाई थप सुविधा बढाएर उपभोक्तामाझ आउने जानकारी दिए ।

‘स्थापनाको छोटो समयमै शहरबजार देखि विकट गाउँबस्तीसम्म पुगेको सेवालाई अझै शशक्त रुपमा थप सेवा सुविधाहरु वृद्धि गर्दै लगिनेछ,’ उनले भने-‘अहिलेको तथ्यांकअनुसार मोबाइल प्रयोगकर्ता २ करोड भन्दा बढी छन् । यो अवस्थालाई हेरेर निकट भविष्यमा कम्तिमा पनि एक करोड जनसंख्यामा हाम्रो सेवा पुर्‍याउने लक्ष्य लिएका छौं ।’

अत्याधुनिक किसिमको प्रविधि र रियल टाइम कारोबार गर्न सकिने हुँदा यसको सेवा तिब्र रूपमा विस्तार भइरहेको छ । घरमै बसेर विभिन्न किसिमका बिल भुक्तानी तथा कारोबार गर्दा समय र लागत दुबैको बचत हुने हुनाले ई-सेवालाई धेरै इन्टरनेट प्रयोगकर्ताले रुचाएका छन् ।

के-के छन सुबिधा ?

ई-सेवाको प्रयोगबाट विभिन्न किसिमका भुक्तानी गर्न, कसैलाई पैसा पठाउन, पाउन र तिर्न सकिन्छ । इन्टरनेट तथा मोवाइलबाटै सम्पुर्ण कारोबार गर्न सकिने हुनाले यो सेवा अत्यन्त सहज र सरल छ ।

ई-सेवा मार्फत् इन्टरनेट तथा मोबाइलबाट घरमै बसी मोवाइल रिचार्ज, टपअप, (प्रिपेड, पोष्टपेड, सिडिएमए) टेलिफोन, बिजुली, खानेपानी तथा इन्टरनेटको बिल भुक्तानी, डिसहोम रिचार्ज, टपअप लगायतका सेवा प्राप्त गर्न सकिन्छ ।

साथै देशका विभिन्न गन्तब्यमा जान हवाईजहाज तथा बस टिकट समेत खरिद गर्न सकिनेछ । अहिलेको अवस्थामा ई-सेवाले मुलुकका ५० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरूसँगको सहकार्यबाट अन्तरबैंक कारोबारका लागि पनि भरपर्दो माध्यम बनेको छ ।

हाल ई-सेवा एकाउन्ट नभएका ग्राहक, एकाउन्टमा रकम नभएको अवस्थामा सेवा लिन तथा एकाउन्टमा रकम जम्मा गर्न सहज तुल्याउन देशका ७५ वटै जिल्ल्ाा, ३ हजार भन्दा बढी गा.वि.स. र सबै नगरपालिकामा ८ हजार भन्दा बढि ई-सेवा जोन तथा पोइन्टहरूकोे स्थापना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment