Comments Add Comment

चिनियाँ सहयोगका आयोजनाहरु छिटो सम्पन्न गर्न आग्रह

Ramsaran-and-u-chintai
१५ माघ काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले चिनियाँ सहयोगमा सञ्चालित विकास आयोजनाहरुको काम छिटो सम्पन्न गर्न चीन सरकारसँग आग्रह गरेका छन् । बिहीबार नेपालका लागि चीनका राजदूत उ चुनताईसँग भएको भेटघाटमा उनले सो आग्रह गरेका हुन् ।

विशेषगरी काठमाडौं चक्रपथको बिस्तार, रसुवागढी र तातोपानी, बेनी जोमसोम सडकको स्तरोन्नती तथा पोखरा विमानस्थल निर्माणका कामहरु छिटो पूरा गर्न अर्थमन्त्रीले आग्रह गरेका छन् ।

‘चक्रपथ सबैतिरबाट काम शुरु गरेर छिटो पूरा गर्नुपर्ने छ । तातोपानीको नाका साँघुरो भएकोले उत्तरतिर जोड्ने अर्को नाका खुल्ला भैसकेको अवस्थामा रसुवागढी र तातोपानीको पनि सडकको स्तरोन्नति छिटो गर्नुपर्ने र बेनी जोमसोम सडकको बिस्तारसहित निर्माण कार्य छिटो पूरा गर्नुपर्ने आवश्यक भैसकेको छ’ महतले भने ।

महतले भैरहवा विमानस्थलको काम शुरु भैसकेको जानकारी दिँदै पोखराको क्षेत्रीय विमानस्थलको काम पनि छिटो शुरु गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा लगानी गरी चीनले प्रचूर फाइदा लिनसक्ने संभावनातिर औल्याए ।

‘नेपालको बजार मात्र होइन, दक्षिण एसियाली देशहरुमा समेत निर्यात गर्न सकिन्छ । कम विकसित देशको सुविधा नेपालले प्राप्त गरेकोले युरोप तथा अमेरिका जस्ता मुलुकमा पनि निर्यात गरेर बढी फाइदा लिन सकिन्छ । त्यसैले बजार सानो छ भन्ने कुरै छैन’ मन्त्री महतले भने ।

भेटघाटका अवसरमा राजदूत चुनताईले आर्थिक विकासलाई तीब्रता दिनका लागि अर्थमन्त्री महतले गरेको अगुवाईको प्रशंसा गर्दै उपरोक्त कामहरु छिटो पूरा हुने जानकारी दिए । उनले चीनले अन्य मुलुकहरुसँग जसरी नै नेपालसँग पनि स्वतन्त्र व्यापार क्षेत्रसम्वन्धी सम्झौता गर्न चाहेको जानकारी दिए ।

राजदूत चुनताईले चीनले नेपालमा संयुक्त लगानीमा औद्योगिक क्षेत्र तथा सूचना प्रविधि पार्क स्थापना गर्न चाहेको जानकारी पनि दिएका थिए । नेपालको कृषि क्षेत्रको विकासको प्रचूर संभावना भएको उल्लेख गरे ।

अर्थमन्त्री डा महतले चीन भ्रमणको समयमा पनि चीनका लगानीकर्ताहरु समक्ष नेपालमा संयुक्त लगानीका लागि आग्रह गरेका थिए । सो अवसरमा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी तथा मन्त्रालयका अधिकारीहरु र नेपालस्थित चिनिया दूतावासका अधिकारीहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment