Comments Add Comment

दसगजा आडैमा भारतीय सडक, बाँकेको आधाभाग डुवान हुनसक्ने

१८ माघ, बाँके । अन्तर्राष्ट्रिय नियमविपरीत भारतले नेपाली सीमाको दसगजाछेउबाटै सडक निर्माण थालेको छ। सीमा सुरक्षा बल (एसएसबी) को प्रत्यक्ष निगरानीमा भारतले सडक निर्माण थालेको हो।

यो सडक निर्माणले नेपालगन्जलगायत बाँकेको ठूलो भूभाग डुबानको जोखिममा परेको अन्नपूर्ण पोस्टमा खबर छ।

सडकको २०७० चैत ३० गते सर्भे गरेर ठेक्कासमेत भई तीव्र रूपमा निर्माणकार्य भइरहेको सीमा क्षेत्रका स्थानीयले बताए। सीमा क्षेत्रबाट आठ किलोमिटरसम्म कुनै समानान्तर संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय नियम रहेको जानकार बताउँछन्।

भारतले बहराइच जिल्लाको जानकीदेखि शिवपुरु वासम्म अर्थात् लक्ष्मणपपुर बाँधबाट साइगाउँसम्म २१ किलोमिटर सडक बनाइरहेको छ। लक्ष्मणपुर बाँक पूर्वतर्फको तटबन्धबाट यो सडक जानेछ।

सडक निर्माणले नेपालबाट प्राकृतिक रूपमा जाने पानी रोकेर नेपाली भूमि डुबानमा पर्ने प्राविधिकहरू बताउँछन्। यसबाट हिरिमिनिया, भवानीयापुर, पिप्रहवा, जयसपुर, राधापुर, साइगाउँ डुबानमा पर्नेछ भने नेपालगन्ज पनि प्रभावित हुनेछ।

निर्माणाधीन सडक जमिनको सतहबाट २.५ मिटर उचाइमा छ। सडकले नेपालबाट भारततर्फ बग्ने किरन नाला, बढैया नाला, शिवपुरुवा नाला, सुतैया नालाको प्राकृतिक बहाव रोक्नेछ। दसगजाबाट पाँचदेखि १० मिटरको दुरीमा निर्माणाधीन सडकको चौडाइ ३० मिटर छ भने सात मिटरको पिच गरिने तयारी रहेको स्रोतले बतायो।

बाँकेका प्रजिअ वेदप्रकाश लेखकले सीमामा दसगजाको समानान्तर रूपमा सडक निर्माण भइरहेको जानकारी दिए। उनका अनुसार प्राकृतिक वहाव रोक्ने कलर्डसमेत सडकमा बनाइएको छैन।

‘सानासाना ह्युम पाइप लगाइएका छन्, कसरी पानी जाला?’ लेखकले भने। उनले उक्त सडक निर्माणले नेपालगन्जसहित बाँकेका धेरै भूभाग डुबानमा पर्नसक्ने बताए। प्रजिअ लेखकले केही समयपछि पोखरामा हुने सीमा क्षेत्रका प्रजिअहरूको बैठकमा उक्त सडक निर्माणबाट उत्पन्न हुनसक्ने डुबानबारे छलफल गर्ने जानकारी दिए।

भारत सरकारको केन्द्रीय योजनाअनुसार उत्तर प्रदेशको पब्लिक वर्क डिपार्टमेन्टले दसगजा क्षेत्रमा रहेका पिलरलाई केन्द्रबिन्दु मानेर सर्भे गरी सडक निर्माण थालेको हो। सडक निर्माणसँगै आफ्नो बस्ती डुबानमा पर्ने खतराले सीमा क्षेत्रका बासिन्दा छटपटाउन थालेका छन्।

लम्मणपुर बाँधपीडित संघर्ष समितिका सचिव राजकुमार बर्माले नयाँ बन्दै गरेको सडकले पानी राकेर सीमाक्षेत्रका गाउँसहित नेपालगन्जसमेत डुबानमा पर्नसक्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment