Comments Add Comment

त्रिपुरेश्वर-नागढुंगा सडक : अब यस्तो हुनेछ !

मात्रिका पौडेल

२१ माघ, काठमाडौं । काठमाडौं उपत्यकाबाट पूर्वको गौंडो साँगादेखि पश्चिमको गौंडो नागढुंगासम्मको यात्रा अबका केही वर्षमै छिनको छिनैमा हुनेछ ।

साँगादेखि कोटेश्वर र कोटेश्वरदेखि माइतीघर थापाथलीसम्मको फराकिलो सडक अब नागढुंगासम्मै सरर गुड्न योग्य हुने भएको छ ।

Tripureshwor-Kalanki road_650

यसरी हुनेछ विस्तार

काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाले सोचेजस्तै काम गर्न पायो भने आगामी ३ वर्षभित्र त्रिपुरेश्वरदेखि नागढुंगासम्मको सडक कम्तिमा २२ मिटरको राजमार्गमा परिणत हुनेछ ।

त्रिपुरेश्वरदेखि कलंकीसम्मको ३ किलोमिटर र कलंकीदेखि नागढुंगासम्म ९ किलोमिटर गरी जम्मा १२ किलोमिटर सडक बिस्तारको योजना बनिसकेको छ ।

काठमाडौं नगर विकास प्राधिकरणले यसै आर्थिक वर्षमा त्रिपुरेश्वरदेखि थानकोटसम्मका सडक किनाराका भत्काउनुपर्ने घरहरुमा चिन्ह लगाएपछि भत्काउने क्रम शुरु हुनेछ ।

प्रभातकुमार झा
प्रभातकुमार झा

जति चाँडो सडक किनाराका घरहरु भत्काइन्छ त्यति नै चाँडो यो १२ किलोमिटर लामो सडक निर्माणको क्रम शुरु हुने काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाका प्रमुख प्रभातकुमार झा बताउँछन् ।

‘चाँडै नै हामी सबै पक्ष बैठक बसेर चिन्ह लाउने र भत्काउने निर्णय गर्छौं’ झाले अनलाइनखबरसँग भने ‘भत्काउने काम शुरु भयो भने यसै आर्थिक वर्षमा सडक निर्माणको ठेक्का लगाउँछौं र त्यसपछि काम शुरु हुन्छ ।’

यो सडक सूर्य विनायकदेखि तीनकुनै हुँदै माइतघरसम्मको सडक जस्तो फराकिलो नभए पनि हालको भन्दा दोब्बर फराकिलो हुनेछ । जसले गर्दा काठमाडौंको सवारी जाम आधा कम हुनेछ ।

ग्रिनरी हुनेछैन

अहिले फुटपाथसहित त्रिपुरेश्वरदेखि नागढुंगासम्मको सडक १६ मिटरको छ । अब बिस्तार हुँदा फुटपाथसहित कम्तिमा २२ मिटर फराकिलो हुनेछ ।

‘वि.सं. ०२१ सालमै पारित भएको मापदण्डअनुसार त ५० मिटर फराकिलो बनाउन सकिने हो, तर अहिलेलाई २२ मिटर फराकिलो बन्नेछ’ झाले भने ‘राज्यले चाहेमा जुनसुकै बेला थप फराकिलो बनाउन सक्नेछ’ ।

यो सडकको त्रिपुरेश्वर कलंकी खण्डमा माइतीघर तीनकुने सडक खण्डजस्तो बीचमा ग्रिनरी (बगैंचा) भने हुने छैन । ६ लेनको सडकमा दुवैतर्फ दुई-दुई मिटरको फुटपाथ हुनेछ । १८ मिटरको  चौडा सडकमा गाडी गड्नेछन् ।

सयौं घर भत्किँदै

सम्भवतः यसै आर्थिक वर्षबाटै त्रिपुरेश्वरदेखि थानकोटसम्मका सडक किनाराका अधिकांश घरहरु भत्किनेछन् । ‘केही पूरै भत्किन्छन्, केही घर आंशिकरुपमा भत्किन्छन्’ प्राधिकरणका एक उच्च अधिकारीले भने ‘तर कुनै पनि घर जोगिएलान् जस्तो छैन’ ।

त्रिपुरेश्वरको वल्र्ड ट्रेड सेन्टर, अर्किड होटल, एभिन्यूज टेलिभिजनको भवन लगायत सडकका दुबै किनाराका अधिकांश घर तथा व्यवसायिक भवनहरु पूरा वा वा आंशिकरुपमा भत्किनेछन् ।

Kalanki-Nagdhunga road_650

कालिमाटी तरकारी बजारको पनि केही भाग सडकमा गाभिनेछ । ‘प्राबिधिक गएर फित्ता ननापेसम्म कति घर भत्किन्छन् भन्न सकिन्न’ प्राधिकरणका प्रमुख कार्यकारी योगेश्वर पराजुलीले भने ‘तर सडक किनाराका कुनै पनि घर जोगिएलान् जस्तो लाग्दैन’ ।

सबैभन्दा धेरै घरहरु कालिमाटीदेखि सोल्टीमोड सडक खण्डमा भत्किनेछन् । त्यो किनाराका कुनै पनि घर जोगिने छैनन् । त्यस्तै पुरानो नैकापमा पनि अधिकांश घर भत्किनेछन् ।

सडक किनाराका घरहरु भत्काउँदा घरधनीले नियम बमोजिमको क्षतिपूर्ति पाए पनि जग्गाको क्षतिपूर्ति पाउने छैनन् । किनकि उनीहरुले मापदण्ड विपरीत सडक मिचेर घर बनाएका छन् ।

मुहार फेरिनेछ राजधानीको

यो सडक बिस्तारपछि काठमाडौंबाट पूर्व-पश्चिम जाने हजारौं सवारी साधनहरुको आवागमन सहज हुनेछ । राजधानी काठमाडौंको मुहार परिवर्तन हुनेछ ।

काठमाडौं नगर विकास प्राधिकरण र काठमाडौं उपत्यका सडक बिस्तार आयोजना मिलेर यसै वर्षदेखि यो काम शुरु हुन लागेको झाले बताए । उनका अनुसार कुनै अवरोध नआएमा तीन वर्षभित्र राजधानीको मुहार फेरिनेछ ।

काठमाडौं सडक बिस्तार आयोजनाको ४३ किलोमिटर बिस्तारको योजनाभित्रै यो सडक पनि परेको हो ।

यो पनि पढ्नुहोस्

माइतीघर-तीनकुने सडकमा मेलम्चीलाई ‘नो इन्ट्री’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment