Comments Add Comment

माइतीघर-तीनकुने सडकमा मेलम्चीलाई ‘नो इन्ट्री’

Ktm-Sadak

२० माघ, काठमाडौं । मेलम्चीको खानेपानी पाइपलाइन बिछ्याउन काठमाडौं उपत्यकाको ५५ किलोमिटर सडक भत्काउने योजनामा उपत्यका सडक बिस्तार आयोजनाले ‘ब्रेक’ लगाइदिएको छ ।

मेलम्ची आयोजनालेे सडक भत्काउने तर समयमै नबनाइदिनाले गर्दा राजधानीका सडक कुरुप बनेको भन्दै आयोजनाले माइतीघर-तीनकुने सडक कम्तिमा ३ वर्ष भत्काउन नदिने भएको हो ।

‘कम्तिमा दुई/तीन वर्ष हामी माइतीघर-तीनकुने सडक खन्न दिनेवाला छैनौं’ काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाका प्रमुख प्रभातकुमार झाले अनलाइनखबरसँग भने ‘मेलम्चीको पानी भोलि पर्सि नै काठमाडौं आए पनि सडक भत्काउन दिन्नौं’ ।

प्रभातकुमार झा
प्रभातकुमार झा

काठमाडौं उपत्यकाकै गर्व गर्न लगायक नमूना सडकखण्ड तत्काल मेलम्चीलाई भत्काउन दिँदा राज्यको शतप्रतिशत लगानी खेर जाने र शहर पनि कुरुप देखिने भएकाले कम्तिमा दुई/तीन वर्ष पानी आए पनि, नआए पनि खन्न नदिने नीति सडक बिभागले लिएको छ ।

‘अहिलेसम्म खनेका सडक नै मर्मत गरेको छैन, करोडौं लगानी गरेर बनाइएका सडक खन्न दिने कुरै भएन’ झाले भने ‘सडक बिस्तारका क्रममा जहाँ सडक भत्काइन्छ त्यहीबेला ती ठाउँमा पाइपलाइन बिछ्याए हुन्छ’ ।

मेलम्चीले बिभिन्न चरणमा काठमाडौंका सडक भत्काएर पाइपलाइन जोड्दैछ । तर, भत्काएर बेवारिसे छाडेको र जस्ताको तस्तै नबनाइदिएको भन्दै सडक आयोजनाले असन्तुष्टि जनाएको हो ।

‘हामीले करोडौं खर्चेर बनाएको सडकजस्तो अवस्थामा भत्काएको हो, उस्तै हालतमा जिम्मा लगाउनुपर्ने हो’ झाले भने ‘तर मेलम्चीबाट त्यस्तो भएन, त्यसैले पछिल्लो समय हामीले धरौटी लिएर मात्र सडक खन्न दिएका छौं’ ।

यदि समयमै सडक खनेर पहिलेकै अवस्थामा जिम्मा नलगाएका धरौटी राखेको रकमबाट कटाइने झाले बताए । ‘तर मेलम्ची आयोजनाको तर्फबाट समयमै काम हुनै सकेन, जसका कारण काठमाडौंका सडकको दुर्गति भएको हो’ उनले भने ।

अहिले मेलम्चीले मुख्यरुपमा सिनामंगल पुरानो बानेश्वरदेखि बागबजारको मूल सडक खनिरहेको छ । राजधानीका अन्य भित्री सडकहरु पनि भत्काइँदैछ ।

आयोजना प्रमुख इन्जिनियर झाका अनुसार यो आर्थिक वर्षमा काठमाडौं उपत्यकामा भत्काइएका १० वटा सडक खण्डको काम सकिनेछ ।

यो पनि पढ्नुस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment