Comments Add Comment

यस्तो पो देखियो भूटानको नालीबेली (फोटोफिचर सहित)

Thimphu_

नविन अर्याल (भुटानबाट फर्केर)

३ फागुन, थिम्पु (भुटान) । पारो अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेवित्तिकै थाहा हुन्छ भुटान पहाडै पहाडले घेरिएको सुन्दर मुलुक हो । प्रकृतिमा रमाउन चाहने पर्यटकका लागि भुटान उत्कृष्ट गन्तव्य हो ।

अग्ला डाँडा, साँघुरा भ्याली, साना-साना शहर, हिमाल, नदीनाला र वौद्ध संस्कृति भुटानको पहिचान हो । यही कुराहरुको प्रवर्द्धन गरेर भुटानले पर्यटनमा राम्रो उपलब्धि हासिल गरिरहेको छ ।

पर्यटकीय सम्भावनाका हिसाबले नेपालभन्दा पछाडि रहे पनि भुटानमा महंगा पर्यटक घुम्न जाने गर्छन् । दैनिक न्यूनतम २५ हजार रुपैयाँ खर्च गर्न नसक्ने पर्यटकका लागि भुटानको ढोका प्रायः बन्द छ ।

सीमित स्रोत साधनलाई उच्चतम उपयोग गरी आर्थिक विकासको बाटोमा अगाडि लम्किरहेको छ भुटान । भुटानको पारो भ्याली, टाइगर नेष्ट, राजधानी थिम्पु, पुनखा भ्याली, बुमथाङ भ्याली, विश्वको सबैभन्दा ठूलो बुद्ध मूर्ती, हाइड्रो पावर प्रोजेक्ट, अग्ला पहाड, जंगल लगायत पर्यटकीय आकर्षण हुन् ।

भुटानको स्वयम्भुनाथ
भुटानको स्वयम्भुनाथ

पर्यटकीय सम्भावना भएर मात्र हुँदैन, यसको सदुपयोग गर्न सकेमा मात्रै लाभ लिन सकिन्छ उदाहरण बनेको छ भुटान । करिव ७० प्रतिशत जनसंख्या कृषिमा आश्रति रहे पनि यहाँको अर्थतन्त्रको प्रमुख मेरुदण्ड जलविद्युत हो भने दोस्रोमा पर्यटन ।

भुटान ३६ हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सानो मुलुक हो । सवा ७ लाख जनसंख्या रहेको भुटानमा करिव ९० प्रतिशत मानिसहरु बुद्ध धर्म मान्छन् । नेपालीहरुको समेत बसोबास रहेको हुँदा हिन्दु धर्म मान्नेहरु पनि प्रशस्त  पाइन्छन् ।

भुटान गुम्बैगुम्बा भएको मुलुक हो । जहाँ गए पनि गुम्बा देखिने भुटानको प्रमुख पर्यटकीय आधार पनि यही हो । प्राचीन गुम्बाहरुले यहाँ बुद्धिष्ट पर्यटकलाई तान्न सफल भएका छन् ।

यहाँको सरकार आर्थिक विकासमा प्रतिवद्ध रहेको पाटा सम्मेलनमा प्रधानमन्त्री छिरिङ तोब्गेको मन्तव्य सुन्दा प्रष्ट हुन्थ्यो । हाइड्रो प्रोजेक्ट र पर्यटन विकासलाई भुटानी सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

भौगोलिक रुपमा नेपाल र भुटान लगभग उस्तै मुलुक हुन् । पर्यटकीय सम्भावनाका हिसाबमा भुटान भन्दा नेपाल कैयौं गुणा अगाडि छ । तर, नेपालको तुलनामा भुटानले पर्यटनमा कायापलट नै गर्न थालिसकेको छ ।

भुटानको राजदरबार
भुटानको राजदरबार

आफुसँग भएको सीमित स्रोतलाई भुटानले आकर्षक प्याकेज बनाएर विदेशी पर्यटकलाई बिक्री गरिरहेको छ । जुन कुरा नेपाल सरकार तथा निजी क्षेत्रले सिक्नुपर्ने जरुरत रहेको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डे बताउँछन् ।

नेपालमा जस्तो लोकतन्त्र र गणतन्त्र नभए पनि भुटानमा सबैभन्दा ठूलो कुरा राजनीतिक स्थिरता छ । केबल आर्थिक विकासमा फड्को मार्नु सरकारको मूलमन्त्र रहेको देखिन्छ । राजाको शासन रहेको भुटानमा अधिकांश स्थानमा राजपरिवारको तस्वीर हेर्न पाइन्छ ।

महिला र पुरुषले कार्यालय समयमा भुटानको राष्ट्रिय पोशााक (बक्खु) अनिवार्य लगाउनुपर्छ । कार्यालयबाट निस्किएपछि जुनसुकै पोशाक लगाए पनि हुन्छ । जसले गर्दा दिउँसो बाटो तथा कार्यालयमा अधिकांश मानिसहरु बख्खुमा देखिन्छन् ।
यहाँको अर्को आकर्षण भनेको घरहरु हुन् । यहाँका अधिकांश घरहरु गुम्बाजस्ता देखिन्छन् । निजी घर, सरकारी कार्यालय, होटल, बुद्ध गुम्बा एउटै देखिने हुँदा पर्यटकलाई छुट्टाउन गाह्रो हुन्छ ।

यहाँका घरहरु जतिसुकै ठूला भए पनि प्यागोडा शैलीमा निर्माण गरिएका छन । सबै घरमा गुम्बामा जस्तै पेन्टिङ गरिएका छन् । भुटान सरकारले बनाएको यो नियम सबैले पालना गरेका छन् । यसो हेर्दा भुटानका शहर तथा घरहरु गुम्बालयजस्ता देखिन्छन् ।

बुमथाङ भ्यालीमा रहेको मन्दिर
बुमथाङ भ्यालीमा रहेको मन्दिर

नेपाली जातिको अवस्था

भुटानमा अझै पनि करिब ३० प्रतिशतको हाराहारीमा नेपाली जातिका मानिसहरु बसोबास गर्छन् । झण्डै ९९ प्रतिशत जनसंख्याले नेपाली भाषा बुझ्छन भने ९० प्रतिशत बढीले नेपाली बोल्न सक्छन् । उनीहरूको रुप देख्दा र भाषा सुन्दा कतिपय बेलामा नेपालमै भएको जस्तो भान हुन्छ ।

पर्यटनको कमाइ

भुटान पर्यटन परिषदकी निर्देशक छिम्मी पेमका अनुसार सन् २०१४ मा १ लाख ३० हजार विदेशी पर्यटकले भुटान भ्रमण गरेका छन् । जसबाट सवा ७ अर्ब रुपैयाँ आम्दानी भएको छ ।

यहाँ घुम्न आउँदा पर्यटकले प्याकेज अनिवार्य किन्नुपर्ने पेमले जानकारी दिइन् । सिजनमा २५ हजार र अफसिजनमा २० हजार रुपैयाँको प्याकेज किन्दा पर्यटकले थ्रि स्टार होटलमा बसोबास तथा खानपिन, गाइड, यातायातको सुविधा पाउँछन् । त्योभन्दा बढी सुविधा खोजेमा रकम बढ्दै जान्छ ।

भुटानमा एक रातको डेढ लाख रुपैयाँसम्म तिर्नुपर्ने होटल रहेको हुँदा महंगा पर्यटकले दैनिक दुई लाख रुपैयाँसम्म खर्च गर्ने पेमको भनार्इ छ ।

बुमथाङ उपत्यका
बुमथाङ उपत्यका

विदेशी लगानी र विकास

पर्यटन विकासको बाटोमा लम्किरहेको भुटानमा विदेशी लगानी पनि हाइड्रो र टुरिज्म क्षेत्रमा मात्र भित्रिने गरेको छ । यहाँका अधिकांश लक्जरी होटलमा विदेशी चेन होटलले व्यवस्थापन पक्ष सम्हालिरहेका छन् भने ठूला हाइड्रो प्रोजेक्टमा पनि विदेशी लगानी रहेको बताइएको छ । सडक तथा अन्य पूर्वाधारमा भने विदेशी दाताहरुले सहयोग गरिरहेको बताइन्छ ।

अहिले भुटानमा करिव ५ सय किलोमिटर बाटोलाई फराकिलो बनाइँदै छ । निर्माण सम्पन्न भएपछि उक्त बाटो भुटानी अर्थतन्त्रको मेरुदण्ड हुनसक्ने अपेक्षा गरिएको छ । आर्थिक विकासका लागि यातायात प्रमुख पूर्वाधार रहेको भुटानले बुझेको छ ।

साँघुरो भ्याली भएको हुँदा आन्तरिक हवाइ सेवा भने राम्रो छैन । एउटा इन्टरनेशनल र एउटा डोमेस्टिक एयरपोर्ट सञ्चालनमा रहेका छन् भने दुइवटा डोमेस्टिक एयरपोर्ट निर्माणाधीन अवस्थामा छन् ।

Bumthang-Airport

पारोमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल निकै साँघुरो छ । छोटो रन वे भएको हुँदा जहाज ल्यान्डिङ गर्नेवित्तिकै रोक्नुपर्ने अवस्था छ । विश्वकै अप्ठ्यारो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा चिनिने पारो विमानस्थलमा विमान उडान अवतरण गर्न सबै पाइलटले सक्दैनन् ।

भुटानमा डुक र भुटान एयरका अन्तर्राष्ट्रिय उडान गर्ने ४ वटा र आन्तरिक उडान गर्ने १ वटामात्र विमान छ । अन्य विदेशी एयरलाइन्स कम्पनीहरुले भुटानमा उडान गर्दैनन् ।

अहिले भुटानमा जिङ्मे सिग्मे वाङ्चुको ६०औं वाषिर्कोत्सवको अवसर पारेर ‘भिजिट भुटान-२०१५’ मनाइरहेको छ । यस वर्ष बढीभन्दा बढी पर्यटक भित्राउने लक्ष्य लिइएको भए पनि यति नै भित्राउने भनेर लक्ष नबनाएको निर्देशक पेमले बताइन् ।

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र भुटान पर्यटन परिषदकी निर्देशक छिम्मी पेम
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र भुटान पर्यटन परिषदकी निर्देशक छिम्मी पेम

मुख्य पर्यटकीय गन्तव्य

टाइगर नेष्ट
पारोमा रहेको ताक्छाङ पाल्फुङ मोनाष्ट्रि (टाइगर नेष्ट) भुटानको पहिलो आकर्षण हो । समुन्द्री सतहबाट ३२ मिटर उचाइमा रहेको यो गुम्बा डरलाग्दो ढुंगाको पहाड खनेर निर्माण गरिएको छ ।

आठौं सेञ्चुरीमा तिब्बती गुरु पद्मसम्भवले ३ वर्ष ३ महिना ३ हप्ता ३ दिन ३ घण्टा यहाँ आएर ध्यान गरेका थिए । उनी पछि १६९२ मा तेञ्जीन रब्गेको रुप धारण गरेर टाइगर नेष्ट गुम्बा निर्माण गरेको बताइन्छ ।

टाइगर नेष्ट
टाइगर नेष्ट

गुरु पद्मसम्भवले भुटानमा धेरै गुम्बाहरु बनाएका छन् । ढुंगाको पहरोमाथि बनाइएको यो गुम्बामा पुग्न डरलाग्दो बाटो हिँड्नुपर्ने हुन्छ । आठौं आश्चर्यमा सूचिकृत गर्न प्रस्ताव गरिएको यो गुम्बा हेर्नका लागि स्वदेशी विदेशी पर्यटकको भीड लाग्ने गरेको छ ।

भुटानको ‘कल्चरल आइकन’ का रुपमा लिइएको यो गुम्बा एकपटक हेर्नैपर्ने खालको छ । यहाँ चिसो मौसममा हिउँले ढाक्ने गर्छ । पारो भ्यालीबाट १० किलोमिटरको दुरीमा रहेको यो गुम्बा ९ सय मिटर सिधा दुरीमा छ ।

संसारकै अग्लो दाबी गरिएको बुद्ध मूर्ति
संसारकै अग्लो दाबी गरिएको बुद्ध मूर्ति

बुद्ध मूर्ति

भुटानको राजधानी थिम्पुमा संसारकै सबैभन्दा अग्लो दाबी गरिएको बुद्ध मूर्ति निर्माण भइरहेको छ । निर्माण सम्पन्न नहुँदै अहिलेदेखि नै स्वदेशी विदेशी पर्यटकको भिड लाग्ने गरेको छ । यो मूर्ति टाइगर नेष्टपछिको आकर्षण बन्ने  अपेक्षा गरिएको छ ।

५१.५ मिटर उचार्इ रहेकधो यो मूर्ति निर्माण गर्नका लागि करिव १० अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । चिनियाँ कम्पनी एरोसनले निर्माण गरिरहेको मूर्ति २०१० देखि निर्माण सुरु गरिएको हो । आइरन र कपरबाट निर्माण गरिएको मूर्तिमा सुनको जलप लगाइएको छ ।

किछु टेम्पल
किछु टेम्पल

किछु टेम्पल

सातौं शताब्दीमा निर्माण गरिएको यो गुम्बा भुटानको सबैभन्दा पुरानो नोर्बु भुटान ट्राभल्सका गाइड तेन्दिन दोर्जीले बताए । तिब्बेतियन राजा सोङचोङ गोम्पोले यो गुम्बा निर्माण गरेका थिए ।

पारो एयरपोर्टबाट २० मिनेटमा पुगिने यो गुम्बा भुटानको अर्को गन्तव्य हो । भुटान आउने अधिकांश पर्यटक नजिक भएको हुँदा यो गुम्बामा पुग्ने दोर्जीले जानकारी दिए । राजधानी थिम्पुबाट यो गुम्बा ६० किलोमिटरको दुरीमा रहेको छ ।

दी तासीछोदाङ (किल्ला)
दी तासीछोदाङ (किल्ला)

दी तासीछोदाङ (किल्ला)

यो भुटानका अधिकांश सरकारी कार्यालय भएको भवन हो । हेर्दा गुम्बाजस्तो देखिने यो भवन युनेस्कोको विश्व सम्पदाको सूचिमा सूचिकृतका लागि प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्री कार्यालयसमेत रहेको यस भवनमा गुम्बासमेत  छ । भुटानमा अझै पनि विधिपूर्वक राष्ट्रिय झण्डा कार्यालय समयमा बाहिर ल्याउने र कार्यालय समय सकिएपछि भित्र राख्ने गरिन्छ ।

दी तासीछोदाङ (किल्ला)
दोचुला स्तुपा

दोचुला स्तुपा

राजधानी थिम्पुबाट पुनाखा जाने बेलामा ३१ सय मिटर हाइटमा यो स्तुपा रहेको छ । यो बाटो यात्रा गर्ने पर्यटकले यहाँ फोटो खिचेर रमाइलो गर्ने गर्छन् ।

१०८ वटा स्तुपा रहेको दोचुला लडाइ जितेपछि त्यसको सेलिब्रेसन गर्न बनाइएको हो । भुटानका चौथो राजाकी पहिली श्रीमतीले यो स्तुपा बनाएकी हुन् । चौथो राजाका ४ श्रीमती थिए ।

पुनखा जङ
पुनखा जङ

पुनखा जङ

पुनखामा दुईवटा नदीको बीचमा यो जङ अवस्थित छ । यो पनि भुटानको महत्वपूर्ण आकर्षण रहेको गाइड दोर्जीले जानकारी दिए । १७ औं सेञ्चुरीमा निर्माण गरिएको यो जङमा भुटानी राजाको गद्दी आरोहण समारोहसमेत आयोजना हुने गरेको छ ।

दुई नदीको बीचमा रहेको हुँदा यहाँ पुग्दा मनै आनन्द हुन्छ । भुटान पुग्ने अधिकांश पर्यटक यहाँ पुग्ने गरेका छन् ।

छिमिलाखाङ गुम्बा
छिमिलाखाङ गुम्बा

छिमिलाखाङ गुम्बा

यो गुम्बा पनि पुनाखामा अवस्थित छ । १५औं शताब्दीमा नागी वाङ्चुलले बनाएको यो गुम्बामा पुरुषको लिंगको पूजा गरिन्छ । लामा छुप्पा किन्लेले सुरु गराएको लिंगको पुजा गरेपछि छोराछोरी नहुनेलाई छोराछोरी हुने विश्वास गरिन्छ ।

पुनखा भुटानको सबैभन्दा धेरै आनीहरु बस्ने ठाउँ हो । यहाँ धेरै गुम्बाहरु  र आकर्षक शहर समेत छ । भुटानको पर्यटकीय गन्तव्यका रुपमा चिनिने पुनाखामा ठूला ठूला होटल सञ्चालनमा छन् ।

बुमथाङ भ्याली

यो भ्यालीले भुटानमा पुरानो इतिहास बोकेको छ । यहाँ गुरु पद्मसम्भवले धेरै गुम्बाहरु निर्माण गरेका छन् । देख्दै सुन्दर लाग्ने यो भ्याली छुर्पी र चीजका लागि प्रख्यात  छ ।

विश्वकै पुराना गुम्बामध्येको एक च्याम्बालाखा गुम्बा पनि बुमथाङमा रहेको छ । यहाँ बुद्धका एकहजार मूर्ति छन् । कुजिलाखाङमा पद्मसम्भवका चारवटा मूर्ती छन् ।

Tongsa Mandir
टोङ्सा गुम्बा

टोङ्सा गुम्बा

पुनखाबाट बुमथाङ जाने बाटोमा टोङ्सा गुम्बा भेटिन्छ । आकर्षक कला प्रयोग गरि निर्माण गरिएको यस गुम्बामा पनि स्वदेशी विदेशी पर्यटकको भिड लाग्ने गर्छ ।

सेन्ट्रल इष्ट्रन भुटानको शक्ति देखाउन पहाडको भीरमा यो गुम्बा निर्माण गरिएको गाइड दोर्जीले जानकारी दिए । १७औं सेञ्चुरीमा बनाइएको यो गुम्बालाई किल्लाको रुपमा लिइन्छ ।

paro vally
पारो भ्याली

पारो भ्याली

भुटानको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको पारो भ्याली पर्यटकको पहिलो गन्तव्य हो । यहाँबाट मात्र पर्यटकहरुको गन्तव्य सुरु हुन्छ । बीचमा नदी बगेको, छेउछाउमा सुन्दर बजार रहेको पारोमा पुग्दा नेपालको जिरी पुगेजस्तो भान हुन्छ ।

उच्च पहाडी भूभागमा रहेको पारोमा प्रख्यात अन्तर्राष्ट्रिय चेनका होटलहरु सञ्चालनमा रहेका छन् । टाइगर नेष्ट गुम्बा जाने पनि पारोबाट नै हो ।

राजधानी थिम्पु
राजधानी थिम्पु

राजधानी थिम्पु 

अन्य देशका राजधानीको तुलनामा सानो भए पनि थिम्पु निकै आकर्षक शहर हो ।  भुटानी कला प्रयोग गरी निर्माण गरिएका घरहरुलो जोसुकैको मन आकषिर्त गर्छ । भुटान पछिल्लो समय विश्वकै पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ ।

थिम्पुलाई विश्वकै आकर्षक शहर बनाउन यहाँको सरकारले कुनै कसर बाँकी राखेको छैन । यहाँ सात तारे सम्मका होटल छन् । खान, बस्न र दृश्यावलोकनका लागि थिम्पु निकै राम्रो छ ।

भुटानी घर
भुटानी घर
tiger gust1
टाइगर नेष्ट जाँदै पर्यटक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment