Comments Add Comment

एमाओवादीका सल्लाहकार एमाले केन्द्रीय सदस्यमा मनोनित

१७ फागुन, काठमाडौं । एमाओवादीका केन्द्रीय सल्लाहकार राधाकृष्ण मैनाली नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका छन् । संघीय समाजवादी छाडेर एमालेमा प्रवेश गरेका विजय सुब्बा पनि केन्द्रीय कमिटीमा मनोनित भएका छन् ।

Rk-Mainali-Bijaya-Subbaएमाओवादी छाडेको घोषणा नगर्दै मैनालीलाई एमालेले आइतबार स्थायी कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

मैनाली नेकपा एमालेका संस्थापक नेता हुन् । उनी एमालेको स्थायी कमिटी सदस्य भएकैबेला ०५९ सालमा तत्कालीन राजाको समर्थन गरेको अभियोगमा एमालेले पार्टी सदस्यबाट हटाएको थियो । आइतबार उनलाई पार्टी सदस्यसमेत नबनाई केन्द्रीय सदस्य मनोनित गरिएको छ ।

त्यसपछि मैनाली पूर्वराजा नेतृत्वको मन्त्रिपरिषदमा मन्त्री बनेका थिए । गणतन्त्र स्थापनापछि मैनाली एमाओवादीमा प्रवेश गरेका थिए ।

त्यस्तै संघीय समाजवादी छाडेर फर्किएका बिजय सुब्बालाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको एमालेले जनाएको छ । सुब्बा संघीय समाजवादीको बरिष्ठ उपाध्यक्ष छाडेर गत साउनमा एमालेमा प्रवेश गरेका थिए ।

अन्य पार्टीबाट एकीकरण हुने २० प्रतिशत सदस्यको कोटामा दुई नेता मनोनित भएका हुन् । यी दुईजनाको मनोनयनसँगै एमाले केन्द्रीय कमिटीको संख्या १ सय ७३ पुगेको छ । मैनाली र सुब्बालाई क्रमशः स्थायी समिति र पोलिटब्यूरो सदस्य बनाउने सम्भावना रहेको स्रोतले जनाएको छ ।

बाह्र वर्षपछि एमालेले सम्झियो : मैनाली

एमाले ले केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णयलाई वामपन्थी नेता राधाकृष्ण मैनालीले बाह्र वर्षपछि पार्टीले सम्झिएको भन्दै स्वागत गरेका छन् ।

पहिलो संविधानसभापछि एमाओवादीमा प्रवेश गरे पनि त्यहाँ सन्तुष्ट नभएपछि स्वतन्त्र रहेको भन्दै उनले पुरानो पार्टीले घर फर्काउनुलाई स्वागतयोग्य ठानेको बताए ।  ‘एमाओवादीले ११० सदस्यीय सल्लाहकार समितिमा १११ औं सदस्य मलाई बनाएको थियो,त्यो भिडमा गएर म उल्लु हुन चाहिन,अब एमालेमा जे जिम्मेवारी पाइन्छ, त्यो ग्रहण गरेर बाँकी राजनीतिक जीवन बिताउनेछु’ उनले भने ।

एमालेको नवौँ राष्ट्रिय महाधिवेशन अगाडि र पछि पनि पार्टीमा फर्कनका लागि आफूसँग नेताहरूको वार्ता भएको भन्दै उनले भने-‘उहाँहरुले सँगै काम गरौँ भन्नुभएको छ, केन्द्रीय कमिटीमा रहे पनि सँगै हुन्छ, स्थायी कमिटीमा रहे पनि सँगै हुन्छ, बुढेसकालमा कति बार्गेनिङ गर्नु ?’

सोमबार बैकल्पिक सदस्य छानिने

पाँचजना बैकल्पिक केन्द्रीय सदस्यका बारेमा भने सोमवारको बैठकबाट निर्णय हुने एमाले स्रोतले जनाएको छ ।

बैकल्पिक केन्द्रीय सदस्यका लागि देवशंकर पौडेल, रुपनारायण श्रेष्ठ, जुलीकुमारी महतो, झपट रावल, राजेन्द्र राई, भीम राई र भीम केसीको नाम प्रस्ताव भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment