
१० जेठ, विराटनगर । नेपाली कांग्रेसले प्रदेश १ मा कोरोना भाइरसविरुद्धको खोप दुरुपयोग भएको बताएको छ । प्रदेश १ को प्रदेशसभाका कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा पहुँचवालाले मात्र खोप पाएको आरोप लगाए ।
आइतबार विज्ञप्ति जारी गर्दै उनले खोपको दुरुपयोग हुनु दुर्भाग्यपूर्ण भएको बताए ।
‘खोप अभियानलाई प्राथमिकता दिनुको साटो प्रदेशमा मुख्यमन्त्री, मन्त्री र माथिल्लो दर्जाका कर्मचारीले भनसुनका भरमा आफ्ना मानिसलाई लगाए,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘मुख्यमन्त्री कार्यालय, मन्त्रालय र मन्त्री निवासहरूमा आफ्ना पार्टीका नेता–कार्यकर्ता र नातागोतालाई मात्रै खोप लगाउन दुर्भाग्यपूर्ण छ ।’
प्रदेशका प्रमुख अस्पताल र ल्याबहरूमा पीसीआर परीक्षण बन्द हुँदा नागरिकको स्वास्थ्यमाथि खेलवाड भइरहेको कार्कीले बताए । परीक्षणलाई तीव्रता दिनुपर्ने बेलामा प्रदेश सरकारले किटको व्यवस्था गर्न नसकेको उनले आरोप लगाए ।
कोरोना संक्रमितको उपचार निशुल्क भनिएपनि सरकारसँगको मिलेमतोमा निजी अस्पतालले भर्ना अघि नै धरौटी लिने गरेको पनि कार्कीले बताए ।
प्रतिक्रिया 4