Comments Add Comment

कांग्रेस प्रक्रियामा नगए सरकारबाट बाहिरिने एमालेको चेतावनी

१८ फागुन, काठमाडौं । संविधानसभाको दोस्रो ठूलो दल नेकपा एमालेले एमाओवादी नेतृत्वको विपक्षी मोर्चासँग सहमतिको सम्भावना सकिँदै गएको निष्कर्ष निकालेको छ ।

फाइल फोटो
फाइल फोटो

पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा बसेको स्थायी कमिटी बैठकले सहमतिको सम्भावना कमजोर बन्दै गएको निष्कर्षसहित संविधानसभाको बैठक तत्काल बोलाउन कांग्रेससँग छलफल गर्ने निर्णय लिएको छ ।

‘एमाओवादीको नियत संविधानसभाबाट संविधान जारी गर्नेखालको देखिएन, सहमतिको सम्भावना कमजोर बन्दै गएको निष्कर्ष बैठकले निकालेको छ’ सचिव प्रदीप ज्ञवालीले अनलाइनखबरसँग भने-‘भोलि मंगलबार कांग्रेससँग संविधानसभा बैठक आह्वान गर्नेबारे छलफल गर्छौं ।’

‘सरकारमा कांग्रेसको असर देखिन थाल्यो’

एमालेले कांग्रेस महाधिवेशनको असर संविधान निर्माणमा देखिन थालेको आशंका समेत गरेको छ । कांग्रेसले केन्द्रीय कार्य समिति बैठकबाटै सहमतिकै आधारमा संविधान जारी गर्ने निर्णय लिनु र नेताहरुले आफू अनुकूलका कुरा गर्नुलाई एमालेले शंकाको दृष्टिले हरेको नेताहरुले बताएका छन् ।

कांग्रेसको यसैसाता सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सहमतिकै आधारमा संविधान बनाउने निर्णय गरेको थियो । कांग्रेसको यस्तो निर्णयप्रति एमालेले असन्तुष्टि जनाएको छ । एमाओवादी सहमतिमा नआउने निश्कर्षसहित एमाले तत्काल संविधानसभाको प्रक्रिया अगाडि बढाउनुपर्ने पक्षमा उभिएको छ ।

सरकारबाट बाहिरिने चेतावनी

यदि तत्कालै सहमति वा प्रक्रियाबाट संविधान जारी गर्नेमा कांग्रेस अग्रसर नभएमा सरकारबाट बाहिरिने बारेमा समेत एमाले बैठकमा छलफल भएको बताइएको छ ।

‘हामी संविधान निर्माणका लागि सरकारमा सहभागी भएका हौं, झण्डा हल्लाउन र दुई चारवटा राजनीतिक नियुक्ति गर्न होइन’ बैठकपछि सचिव ज्ञवालीले अनलाइनखबरसँग भने-‘संविधान नबन्ने अवस्थामा सरकारमा बसिरहनु उपयुक्त हुँदैन’ ।
एमाले बैठकमा नेताहरुले एकपटक विपक्षी मोर्चासँग निर्णायक ढंगले वार्ता गर्नुपर्ने र त्यसपछि पनि सहमति नभए पर्खिन नसकिने बताएका थिए । तर, कांग्रेस नै ढुलमुलमा रहेको भन्दै एमाले नेताहरुले यसबारे कांग्रेससँग छलफल गर्ने भएका छन् ।

कांग्रेस महाधिवेशनको असर संविधान निर्माणमा नपरोस भन्ने एमालेको आशय रहेको ज्ञवालीले बताए । उनले भने-कांग्रेस नेताहरु संविधान निर्माणका सवालमा एकतावद्ध भएर आउनुपर्छ ।

सोमवारको बैठकमा संविधान निर्माणकै सन्दर्भमा छलफल भएकाले कार्य बिभाजन र बैकल्पिक केन्द्रीय सदस्य मनोनयन हुन नसकेको सचिव पृथ्वीसुब्बा गुरुङले अनलाइनखबरलाई बताए ।

यो पनि पढ्नुस्

एमाले कांग्रेसजस्तो हो कि कांग्रेस एमालेजस्तो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment