Comments Add Comment

प्रचण्डलाई ‘प्रेसर’ दिने बालुवाटार बैठकको निश्कर्ष

Nepali-Crongrss

१९ फागुन, काठमाडौं । ‘कति उनीहरुको मात्रै प्रेसर खेपिरहने ? अब कांग्रेसले पनि प्रचण्डलाई प्रेसर दिनुपर्छ, २० दिन भइसक्यो एमाओवादी सहमतिमा पनि आउँदैन, प्रक्रिया पनि अघि बढ्न दिँदैन । यसरी कतिदिन बस्ने ?’

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान नेपाली कांग्रेसका पदाधिकारी एवं केही केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठकले निकालेको निश्कर्ष हो यो ।

प्रधानमन्त्री सुशील कोइराला प्रचण्डलाई भेट्ने गरी चितवन जानुअघि बालुवाटारमा कांग्रेस नेताहरु आन्तरिक रणनीति तयार गर्न जुटेका थिए ।

बालुवाटारको सो छलफलमा अब एमाओवादीलाई नेपाली कांग्रेसले ‘प्रेसर’ दिनुपर्ने निश्कर्ष निकालिएको सहभागी एक नेताले अनलाइनखबरलाई बताए ।

‘अब एमाओवादीलाई सहमतिमा आउने कि नआउने भनेर सोध्नुपर्छ,’ बालुवाटारको छलफलमा सहभागी एक कांग्रेस नेताले भने,’सहमतिमा आउनका लागि अब प्रचण्डलाई ५/७ दिनको समय दिने कि चैत्र १ गतेसम्म दिने भन्नेबारे एमालेसँग छलफल हुन्छ ।’

प्रधानमन्त्रीले फेरि लिखित आग्रह नगर्ने

कांग्रेस नेताहरुको आन्तरिक छलफलले अब प्रधानमन्त्रीले फेरि वार्ताका लागि लिखित आग्रह नगर्ने सहमति गरेको छ ।

बैठकबारे जानकारी दिँदै कांग्रेस नेताले भने- ‘प्रधानमन्त्रीले दुई-दुईपटक वार्ताका लागि औपचारिक आह्वान गरिसक्नुभयो, २० दिन भइसक्दा पनि उहाँहरु वार्तामा आउनुभएको छैन, अब कति आग्रह गर्ने ?’

बाबुरामको आलोचना

बालुवाटार बैठकमा कांग्रेस नेताहरुले एमाओवादी नेता डा. बाबुराम भट्टराईको चर्को आलोचना गरेका छन् ।

भारत भ्रमणमा रहेका बेला डा. भट्टराईले नेपालका प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीलाई गाली गरेको भन्दै पूर्वप्रधानमन्त्रीले अर्काको देशमा त्यसरी बोल्न नमिल्ने कांग्रेस नेता डा. शेखर कोइरालाले बालुवाटारमा कुरा उठाएका हुन् ।

‘पूर्वप्रधानमन्त्रीले अर्काको देशमा गएर जथाभावी बोल्न मिल्दैन,’ बैठकमा कोइरालाले भने । डा. बाबुराम भट्टराईले भारतमै रहँदा मिडियालाई दिएको अन्तरवार्तामा प्रश्नावली समितिका साथै प्रश्नावली नै खारेज हुनुपर्छ भनेकोप्रति कांग्रेस नेताले आपत्ति जनाएका छन् ।

‘सहमति भएको अवस्थामा प्रश्नावली समितिले बनाएका प्रश्नावली सम्वाद समितिमा पठाउन सकिन्छ, तर प्रश्नावली नै खारेज गर्ने हो भने संविधानसभा नै किन चाहियो ?’ बालुवाटार बैठकमा सहभागी एक कांग्रेस नेताले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment