Comments Add Comment

प्रधानमन्त्रीले प्रचण्डलाई भने- ‘मैले कुरो बुझिँनछु’

susil koirala and prachanda

२० फागुन, काठमाडौं । ‘माघ ५ गते तपाई जुन स्पिरिटका साथ सहमतिमा आउनुभएको थियो, मैले अलिकति कुरा बुझिँनछु ।’

प्रधानमन्त्री सुशील कोइरालाले बुधबार बिहान आफ्नै निवास बालुवाटारमा एमाओवादी अध्यक्ष प्रचण्डसँग गत माघ ५ गते आफूले कुरो नबुझ्दा सहमति भाँडिएको स्वीकार गरेका छन् ।

माघ ५ गते भएको छलफलमा एमाओवादीले शासकीय स्वरुपमा संसदीय प्रणालीबारे ‘रिजर्भेसन’मा बस्ने बताएको थियो । तर, प्रधानमन्त्री कोइरालाले यसको अर्थ नबुझी उसोभए एमाओवादीसँग सहमति हुन सक्दैन, प्रक्रियामै गइन्छ भनेका थिए ।

बालुवाटारमा बुधबार भएको भेटमा प्रधानमन्त्रीले आफूले कुरो नबुझेको बताएपछि प्रचण्डले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सकारात्मक भन्दै अब सहमतिमै संविधान बनाउने सहमतिका साथ वार्ताको वातावरण बनाए आफूहरु जुनसुकै बेला वार्तामा बस्न तयार रहेको बताएका थिए ।

स्रोतका अनुसार प्रचण्डसँगको भेटमा प्रधानमन्त्री कोइरालाले मुलकलाई मुठभेडतिर जान नदिई सम्वाद र सहमतिबाटै अघि बढ्नुपर्ने बताएका थिए ।

प्रधानमन्त्री कोइराला र प्रचण्डको भेटबारे एमाओावदी केन्द्रीय सदस्य एवं प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले अनलाइनखबरसँग भने, ‘बालुवाटारको छलफल सकारात्मक रहेको अध्यक्षको निश्कर्ष छ ।’

अर्याल होटलमा माधव नेपालसँग बेग्लै छलफल

यसैवीच एमाओवादी अध्यक्ष प्रचण्डले बुधबार नै नयाँ बानेश्वरको अर्याल होटलमा एमाले नेता माधवकुमार नेपालसँग भेट गरेका छन् ।

बाह्रबुँदे समझदारी र शान्ति प्रक्रियामा आफू हस्ताक्षरकर्ता भए पनि माधव नेपाल यसको पहलकर्ता रहेको प्रचण्डले बताएका थिए । शान्ति प्रक्रियाको पहलकर्ता हुनुको नाताले सहमतिको वातावरण बनाउन नेता नेपालले भूमिका खेल्नुपर्ने प्रचण्डको प्रस्ताव थियो ।

यसैवीच पोखरामा आयोजित बेग्लाबेग्लै कार्यक्रममा सहभागी हुन बुधबार दिउँसो माधव नेपाल र प्रचण्डले एउटै प्लेनमा यात्रा गरे । प्लेनमा समेत उनीहरुले अनौपचारिक कुराकानी गरेका थिए ।

एमाओवादी अध्यक्ष जिल्ला पार्टीको प्रशिक्षण सकेर बुधबारै राजधानी फर्किएका छन् भने माधवकुमार नेपाल विहीबार पर्वतमा रेडियाृ दिदी बहिनीको कार्यक्रममा सहभागी हुने कार्यसूची छ ।

पोखराको पार्टी कार्यक्रममा बोल्दै प्रचण्डले सहमतिका लागि हदैसम्म लचिलो हुने बताएका थिए ।

दमौलीमा रामचन्द्र-प्रचण्डवीच वार्ता

एमाओवादी अध्यक्ष प्रचण्डले पोखराबाट स्थल मार्ग हुँदै र्फकने क्रममा तनहुँको दमौलीमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरेका छन् ।

भेटमा प्रचण्डले पौडेललाई सत्तारुढ दलका तर्फबाट वार्ता र सहमतिको पहल गर्न आग्रह गरेको स्रोतले बतायो । सत्तारुढ दलहरुले बालुवाटारमा भेला भएर छलफल गरेको भोलिपल्ट बुधबार कांग्रेस र एमालेका नेताहरुसँग प्रचण्डले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

कांग्रेसले तत्काल संविधान निर्माणको प्रक्रिया शुरु नगरेर सरकारमा नबस्ने एमालेको चेतावनी आएसँगै राजनीति गर्माएको छ । तर, मंगलबार कांग्रेस र एमालेवीच भएको छलफलले केही दिन सहमतिको अन्तिम प्रयास गर्ने आन्तरिक सहमति गरेका छन् ।

विहीबारको भेटघाटपछि सहमतिका लागि सकारात्मक वातावरण बनेको एमाओवादी तर्फको समेत मूल्यांकन छ । यद्यपि प्रमुख तीन दलवीच औपचारिक वार्ताको तिथि मिति भने अझै जुरिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment