Comments Add Comment

बादलले मागे माधव नेपालसँग भोट, नेपालले दिएनन् वचन

४ जेठ, काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनमा वाग्मती प्रदेशका नेकपा एमाले उम्मेदवार रामबहादुर थापा बादलले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

मंगलबार नेता नेपालको निवास कोटेश्वर पुगेका गृहमन्त्री बादलले राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेका नेता नेपालका सहयोगी मोहन गौतमले बताए ।

उनका अनुसार नेता नेपालले भने उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएकोले अहिले सहयोग गर्न नसक्ने बताएका थिए ।

त्यसपछि नेता बादलले मतदातालाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गरेको र त्यसमा नेता नेपालले सहमति जनाएको गौतमले बताए ।

नेकपा माओवादी केन्द्र परित्याग गरेपछि बादल राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका थिए । त्यसै स्थानमा हुन लागेको उपनिर्वाचनमा बादल नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका छन् ।

उनीविरुद्ध नेकपा एमालेकै माधवकुमार नेपाल समूह, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment