Comments Add Comment

पूर्वउपकुलपतिहरुले भने : अभिभावकको भूमिकामा सरकार पूर्णतया असफल

पूर्वउपकुलपति केदारभक्त माथेमा ।

४ जेठ, काठमाडौं । विश्वविद्यालयका पूर्वउपकुलपतिहरुले ज्येष्ठ नागरिकलाई समयमा नै दोस्रो मात्राको कोरोना खोप व्यवस्था गर्न माग गरेका छन् ।

१० जना पूर्वउपकुलपतिले मंगलबार विज्ञप्ति जारी गरी कोभिशिल्डको पहिलो मात्रा लिएको आठ हप्तामा दोस्रो मात्रा लिनुपर्ने नागरिकले खोप पाउन नसकेको भन्दै खेद व्यक्त गरेका छन् ।

‘सरकारको यो निष्क्रियताप्रति खेद प्रकट गर्दै खोप लिनै नपाएका जनता र खोपको पहिलो मात्रा लिइसकेकाहरूलाई तोकिएको समयभित्रै दोस्रो मात्राको व्यवस्था अविलम्ब गरियोस्’ उपकुलपतिहरुको विज्ञप्तिमा भनिएको छ ।

६५ वर्षमाथिका ज्येष्ठ नागरिकले पहिलो डोज खोप लगाएको १२ हप्ता पुगे पनि सरकारले दोस्रो डोज खोप व्यवस्था गर्न सकेको छैन ।

पूर्वउपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नवीनप्रकाश जंग शाह, कैलाशनाथ प्याकुरेल, तोरणबहादुर कार्की, खगेन्द्र भट्टराई, हिराबहादुर महर्जन र नरेशमान बज्राचार्यको विज्ञप्तिमा जनताको अभिभावकको भूमिकामा सरकार पूर्णतया असफल प्रमाणित भएको उल्लेख गरिएको छ ।

‘कोभिड–१९ बाट बच्न उपलब्ध साधन भनेको अहिले पनि केवल खोप नै हो । तर नेपालमा खोप प्रयोगमा अत्यन्त अव्यवस्था र अस्तव्यस्तता देखिएको छ । न प्राथमिकता तोकिँदा सामाजिक न्यायको कदर गरियो न सबै उमेर समूहका लागि खोप पूर्ण मात्रा उपलब्ध हुने गरी वितरणमा ध्यान दियो’ विज्ञप्तिमा भनिएको छ ।

पूर्वउपकुलपतिहरुले कमिशनखोरको अमानवीय अवरोधप्रति उदासिन भएर बस्ने प्रशासनको भूमिका निकृष्टताको पराकाष्टा भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment