Comments Add Comment

सुशीलदालाई खुलापत्र : अब कुर्सी त्याग गरुँ

-खगेन्द्र संग्रौला

सुशील दा,

तपाईँका कथनी र करनीको ऐनामा तपाईँको कारुणिक छवि देख्दा लाग्छ, कोइराला वंशमा जन्मिनु तपाईँको जीवनको ठूलो दुर्भाग्य हो । तपाईँ क्षमता र प्रभावकारिता एवं अन्तरदृष्टि र दूरदृष्टिका आधारमा नभई वंशजका आधारमा कांग्रेसको सभापति र प्रधानमन्त्री बन्नुभयो । तपाईँको यो बन्नु तपाईँ, कांग्रेस र देशका लागि अभिशाप भइदियो ।

Susil-koiralaरहर गर्नु एउटा कुरा हो, खूबी हुनु अर्कै कुरा । खूबी नहुनेले रहर गरेर वंशजको कारणवश वा काकतालीवश वा दुर्घटनावश राज्यको गुरुत्तर दायित्वकोे पद हत्याउँदा त्यसको परिणाम अनर्थ हुन्छ । यसको प्रत्यक्ष उदाहरण तपाईँ हुनुहुन्छ ।

संक्रमणकालीन राजनीतिमा मन परे पनि मन नपरे पनि सहमतिको वाध्यता छ । त्यसैले सरकार कि त सर्वसमावेशी हुनुपथ्र्यो, त्यो नभए कांग्रेसको अल्पमतको सरकार हुन्थ्यो । किन हो थाहा छैन तपाईँले सरकारमा एमालेसित गलो मिलाउनु भयो । र, एमालेका केपी शर्मा ओलीलाई शिरमा बोक्नुभयो । गिँड कांग्रेसको, टाउको एमालेको- हरिबिजोकको सरकार बन्यो । भनाइमा छ कांग्रेसी नेतृत्वको सरकार, गराइमा छ दक्षिणाभिमुखी एमालेको लगभग एकाधिकार ।

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

वचन र कर्मले सहमतिको वातावरण बिगार्ने मूलतः एमाले, कलङ्कको एकलौटी टीका लगाउने कांग्रेस । सरकारका प्राविधिक प्रमुखको हैसियतले यी सब अपजसको भारी बोक्ने बूढो टाउको त आखिर तपाईँकै हो ।

सुशील दा,

तपाईँको निष्प्रभावी नेतृत्वमा कांग्रेस पार्टी होइन, तामसी र स्वार्थी जुवाडेहरुको अखडाजस्तो भयो । दुई चिरा परेको, छाडा, दिशाहीन, गतिहीन, कान्तिहीन र वैचारिक एवं आर्थिक दृष्टिले चरम् भ्रष्ट । पार्टी यसरी आत्मिक र भौतिक दुवै दृष्टिले भ्रष्ट हुनुमा तपाईँको नेतृत्वविहीन नेतृत्वको योगदान भयङ्कर छ । कांग्रेसी नेतृत्वमा कांग्रेसको यस्तो पङ्गु र पत्रु सरकार यसअघि कहिल्यै बनेको थिएन । तपाईँको व्यर्थको रहरले बन्यो ।

तपाईँलाई न सरकारमा कसैले टेर्छ, न पार्टीमा कसैले गन्छ । टेरिन र गनिन त चाहियो नि केही न केही योग्यता, क्षमता र नैतिकता । सरकार र संविधानसभालाई दिशा र गति दिन न तपाईँको कुनै योजना छ, न त तपाईँलाई त्यस्तो योजना हुनुपर्छ भन्ने एकरत्ती चिन्ता नै छ ।

भन्नलाई कांग्रेस धर्मनिरपेक्ष पार्टी हो, तर खुमबहादुरहरुले निरपेक्षताको धर्म छाड्दा तपाईँ त्यसको मौन अनुमोदन गर्नुहुन्छ । भन्नलाई कांग्रेस संघीयता पक्षधर पार्टी हो, तर रामशरणहरुले संघीयतामाथि तरबार उजाउँदा तपाईँ त्यसको मौन समर्थन गर्नुहुन्छ ।

जिम्मेवार पदमा बसेर मुखर भएर गलत कुराको प्रतिवाद नगर्नु आखिर मौन अनुमोदन वा मौन समर्थन गर्नु त हो । कांग्रेसभित्रैबाट कांग्रेसको निधारमा मोसो दलिँदा तपाईँ दाह्री मुसार्दै ट्वाँ परेर हेर्नुहुन्छ र उल्लूले झैँ हेरिरहनुहुन्छ । मानौँ त्यसरी हेर्ने जीव चेतविनाको, इखविनाको र इमानविनाको कबाडी जीव हो ।

सुशील दा,

तपाईँका ओठ चल्दा द्वन्द्वको भयावह चक्रमा फसेको जडवत् राजनीतिले गति लिने दिव्य वचन पो बोलिहाल्नु होला कि भिनेर म सास दबाएर सुन्न खोज्छु । तर एक पित्को केही बुझे त मलाई मार्दिनू । बुझ्नेहरुलाई सोधेर लामो सास फेर्दै म आत्मलाप गर्छु- नबुझिनु ठीक भएछ । जे अनर्थ र अनिष्ट हो त्यो नबुझिनु नै राम्रो । यसै पनि तपाईँमा चिन्तनको दूरदृष्टि र सन्तुलन त थिएन नै, अहिले त्यसमा झनै गडबडी देखिएको छ ।

तपाईँले सारा जगत्ले सुन्ने गरी आफ्नो मातहतका राष्ट्रसेवकहरु घुस सेवन गरिरहेका छन् भन्नुभएछ । तपाईँले झन्डै एक दर्जन कानले सुन्ने गरी ‘डा. केसी मरे मरुन्’ भन्नु भएछ । त्यत्रो जिम्मेवार पदमा बसेको सद्दे मान्छेले कदापि यसो भन्दैन । जसले भन्छ, त्यसको दिमागका तारहरु खुकुलिएछन् भनी बुझ्नुपर्छ । देशका प्रधानमन्त्रीको यो दशा देशका लागि लज्जाजनक दुर्दशा हो ।

सुशील दा,

संघीयतालाई संस्थागत गर्ने प्रक्रिया अक्करमा अड्किएको छ । सतहमा हेर्दा यो प्रक्रिया प्रदेशको संख्या, रेखाङ्कन र नामाङ्कनमा अल्भिmएझैँ लाग्छ । तर सारमा कुरो अर्कै छ । जनआवेगको राप र ताप सेलाएको मौका छोपेर यथास्थितिवादी अभिजातहरु संघीयताको उद्भव, आवश्यकता र औचित्यमाथि नै हाकाहाकी प्रश्न गर्न थालेका छन् । यसरी प्रश्न गर्नेहरुमा केपी पथीय एमाले अगाडि छ, उसको पछिपछि कांग्रेसको दक्षिणपन्थी भीड निर्लज्ज मुद्रामा खडा भएको छ ।

एक दिनको भए पनि प्रधानमन्त्री हो, दशै वर्षको भए पनि उही प्रधानमन्त्री हो । आखिर सिंहदरबारमा तुलसी गिरी र मरिचमानका लहरमा तपाईाको फोटो त बडो शानका साथ अब टाँसिने नै भयो

उता प्रतिपक्षको एउटा मुख वार्ताका लागि विन्तीपत्र हाल्न आतुर छ, अर्को मुख आन्दोलनका कुरा गर्नमा व्यस्त छ । यो दुईमुखे प्रतिपक्ष विन्तीपत्र र आन्दोलनमाझ भित्तेघडीको लङ्गुरझैँ हाँसउठ्दो गरी लिन्ठिङ-लिन्ठिङ्ग हल्लिरहेछ ।
सत्तापक्ष र प्रतिपक्ष दुवैको बेतालको ताल देख्दा छाँटले चालू प्रक्रियाबाट यो संविधानसभाले संविधान बनाउने संभावना घट्दो छ । र, संविधानसभामा अभिव्यक्त उत्पीडित जनहरुका समान र स्वतन्त्र नेपालीको हैसियत प्राप्त गर्ने सपना मारिने खतरा बढ्दो छ ।

यसरी संविधानसभालाई पददलित जनताका सपनाको बधशाला बनाउने माउ कर्ताको कुरुप दर्जा इतिहासले सुशील दालाई नै दिनेछ । र, संस्थाका रुपमा त्यो दर्जाको यथास्थितिवादी अधिकारी कांग्रेस हुनेछ । आखिर घरमूली भएपछि घरको बेथिति, भद्रगोल र विनाशको अपजस त व्यहोर्नै पर्छ । हजार आँखा भएको निर्मम इतिहासले कर्ताहरुका कर्मको यथातथ्य हिसाब त राख्छ नै ।

सुशील दा,

तपाईँको अनुहारमा म धर्मान्ध पुरेतको लम्पट बिम्ब देख्छु । धर्मान्ध पुरेत हर्दम् रामनामी रोइलोको रटना गरिरहन्छ । तपाईँ संविधान र सहमतिको रटना गरिरहनु हुन्छ । धर्मान्ध पुरेत आफ्नो भाग्य आफैँ बनाउन सिन्को पनि भाँच्दैन । तपाईँ सहमतिलाई साकार रुप दिन सिन्को पनि भाँच्नुहुन्न ।

लोकका मनोविनोदी र ब्यंग्यप्रेमी जनले तपाईँबारे एउटा विद्रूप ठट्टा रचेका छन् । उक्त ठट्टा भन्छ- माघ ८ गते बिहान सुशील कोइराला ऐना हेरेर मनोवाद गर्दै थिए- संविधान आठै गते जारी हुन्छ । नापियो !

सुशील दा,

ल भैगो, संविधान, जनता र देशका कुरा छोड्दिऊँ । तपाईँको अकर्मण्यता, विचारशून्ता र गतिशून्यताले कांग्रेससँग जो भएको थोरै निधि र सम्पत्ति सर्वनाश भइरहेछ । कांग्रेससँग जनता र कम्निस्टहरुलाई देखाउन लायकका केही सुन्दर अनुहार थिए- प्रदीप गिरी, नरहरि आचार्य र गगन थापा आदि । तपाईँका यथास्थितिमुखी कथन र कर्मका दाग लागेर यी अनुहारहरु कुरुप भइरहेका छन् । संविधानसभामा सहमतिको अनिष्ट प्रक्रिया शुरु भएपछि प्रदीप गिरी हुनुसम्म चिन्तित भए । र, संविधानसभाका दुई पक्षलाई जोड्न दुवै पक्षका कर्ताहरुमाझ तिनले अहोरात्र भगिरथ प्रयास गरे ।

Pradeep-giriसुशील दाले प्रदीप गिरीका सहमतिका चिन्ता र चेष्टाहरुलाई लेसमात्र पनि महत्व दिएनन् । आफ्नो प्रयास निष्फल भएपछि अहिले श्री गिरी पराजित र उदास मुद्रामा कतै मौन साधनामा लीन भएका होलान् । नरहरि आचार्य प्रम सुशील दाका प्रमुख सल्लाहकार हुन् । सल्लाह दिनेले के दिए, सल्लाह लिनेले के बुझे यो गम्भीर अनुसन्धानको विषय हो ।

तर, नरहरिको प्रगतिशील छवि भने यथास्थितिमा कायाकल्प भएको छ । र, उनको सत्व र निजत्व सुशील दाका वचन र कर्महरुमा घोलिएर उनैको अप्रीतिकर बिम्बमा विलय भएको छ ।
बिडम्बनावश, नरहरि आचार्य सत्तावृत्तमा असल कर्ममै प्रवृत्त भएको जिरह प्रस्तुत गर्न शारदा शर्माले कलम चलाउनु परेको छ । उदात्त कर्म आफैँमा प्रकाश हुन्छ । लोकका आँखामा त्यो यसै देखिन्छ । त्यो छ भनेर स्पष्टीकरण किन पो दिइरहनुपर्छ र ? जे छैन, जतिसुकै कने पनि त्यसको अस्तित्व सिद्ध गर्न सकिँदैन । जगतको यथार्थ कठोर छ ।

सुको शासनको छत्रछायाँमा गगन थापाको दशा पनि नरहरि आचार्यको झैँ दुर्दशामय छ । गगन थापा कथित कांग्रेसी नेतृत्वको सरकार र कांग्रेसको दक्षिणपन्थी भीडले नेपाली समाजलाई यथास्थिति, अझ पश्चगमनतिर धकेल्न गरेका अनेकन चेष्टाहरुका मूक दर्शक बनिरहेका छन् । यो बिब्ल्याँटो प्रक्रियामा तिनले विवेक र साहसपूर्वक हस्तक्षेप गरेको देखिँदैन । तिनले रत्तिभर जोखिम उठाएको दृष्टान्त पनि गोचर हुँदैन । तिनी मानौँ सनातनी कांग्रेसी संरचनाको खोपोमा टाउको लुकाउने सानो ठाउँ पाउनुमै सन्तुष्ट छन् ।
gagan-narahari

बिडम्वनावश, गगन थापा सुको शासनको छत्रछायाँमा आफूले गरेका भनिएका सत्कर्महरुको फिहरिस्त प्रस्तुत गर्न विवश छन् । उदात्त कर्म आफैँमा प्रकाश हुन्छ । लोकका आँखामा त्यो यसै देखिन्छ । त्यो छ भनेर फिहरिस्त किन पो प्रस्तुत गरिरहनुपर्छ र ? जे छैन, जतिसुकै कने पनि त्यसको अस्तित्व सिद्ध गर्न सकिँदैन । जगत्को यथार्थ कठोर छ ।

सुशील दा,

प्रधानमन्त्री बन्नु नै तपाईँको जीवनको एकमात्र सपना हो भने त्यो सपना साकार भइसक्यो । एक दिनको भए पनि प्रधानमन्त्री हो, दशै वर्षको भए पनि उही प्रधानमन्त्री हो । आखिर सिंहदरबारमा तुलसी गिरी र मरिचमानका लहरमा तपाईँको फोटो त बडो शानका साथ अब टाँसिने नै भयो ।

तसर्थ, सुशील दा, कांग्रेसका निधारमा अब अरु कलङ्क नथपूँ । संविधान निर्माणको बाटोमा अब अरु व्यवधान खडा नगरुँ । देशलाई विकराल द्वन्द्वको धरापमा पार्न अब अरु योगदान नगरुँ । सुशील दा, अब प्रधानमन्त्रीको कुर्सी त्याग गरुँ । एकबारको जुनीमा अब अलि दिन विश्राम गरुँ । जति बिगार्नु थियो बिगारिसकियो । बिगार्न अब बाँकी नै केही छैन त सत्ताको गद्दा ओघटेर किन कनिरहनु ? अलबिदा सुशील दा । जय नेपाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment