Comments Add Comment

कांग्रेस : सत्तामा होइन, अपजसमा साझेदारी

१ जेठ, काठमाडौं । जतिबेला अरु दलसँगै पार्टीभित्रबाट पनि अविश्वास प्रस्ताव दर्ता गर्न तारन्तर प्रस्ताव आयो, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा बहुमत खोजे । १९ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली आफैंले विश्वासको मत लिने निर्णय गरेपछि देउवा वैकल्पिक सरकार गठन गर्न कस्सिए ।

तर, प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदमा विश्वास गुमाएसँगै प्रमुख विपक्षी कांग्रेस वैकल्पिक सरकार दिन पनि असफल भयो । कांग्रेस नेताहरुको निष्कर्ष छ, महामारीका बेला सत्ताको खेलमा लागेको अपजस मात्रै आइलाग्यो ।

नयाँ सरकार गठन गर्ने प्रयास किन सफल भएन ? कांग्रेसको संस्थापन र इतर पक्षका नेताहरुको आफ्नै व्याख्या छ । देउवा निकट केन्द्रीय सदस्य एनपी साउद भन्छन्, ‘जसलाई भर गरेका थियौं, त्यही पार्टीले कुनै निर्णय दिन सकेन ।’

कांग्रेस संस्थापनको बुझाइमा नयाँ सरकार गठनमा माओवादी केन्द्रले अपेक्षा अनुसार नै भूमिका खेल्यो । जसपाको डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले पार्टीभित्र बहुमत आफूहरुसँग भएको दाबी गरेको थियो । एमालेमा माधवकुमार नेपाल समूह पनि ओलीसँग असन्तुष्ट भएकाले राजनीतिक निकासका लागि सरकार गठन गर्न कांग्रेस सभापति देउवा अगाडि बढेका थिए । तर जसपाले निर्णायक क्षणमा संस्थागत निर्णय नगर्दा वैकल्पिक सरकार बनेन ।

तर संस्थापन इतर समूहका नेताहरु त्यो मान्न तयार छैनन् । उनीहरुका अनुसार, जतिबेला एमालेमा ओली र नेपाल समूहको विवाद उत्कर्षमा पुगेको थियो, त्यो बेला प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वास प्रस्ताव लैजानुपर्थ्यो । कर्णाली प्रदेशमा झैं माधवकुमार नेपाल समूहका सांसदहरुले फ्लोर क्रस गर्थे ।

त्यसबेला देउवाले पार्टीका बैठकहरु मात्रै होइन, सार्वजनिक मञ्चहरुमै बहुमत छैन भनिरहे । केन्द्रीय कार्यसमितिले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गर्दा पनि सभापति देउवाले अग्रसरता नदिएको इतर पक्षका नेताहरुको गुनासो छ ।

पछिल्लो समय भने देउवाले अग्रसरता लिएका थिए । तर सरकार बन्ने भइसक्यो भने झैं गरेर पार्टीकै नेताहरुको समेत सहयोग नलिएको आरोप पनि छ । संस्थापन इतर पक्षका एकजना नेता भन्छन्, ‘तर उहाँलाई न महन्थ ठाकुरजीहरुले विश्वास गरेर नयाँ सरकार गठनका साथ दिनुभयो, न माधव नेपालजीहरुले सांसदबाट राजीनामा दिनुभयो ।’

संस्थापन पक्षका नेता साउद भने आफूहरु माधव नेपाल समूहमा धेरै भर नपरेको दाबी गर्छन् । पार्टीमा अध्यक्ष ओलीसँग व्यापक असन्तुष्टि भएर नै नेपाल समूहले विश्वासको मत नदिएको भन्दै उनले भने, ‘राजनीनामा दिने तहमा पुग्नुहन्छ भन्नेमा आशंका थियो । त्यसैले उहाँहरुबाट भन्दा जसपामै भर गरेका थियौं ।’

उनी प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव नलगेर सरकार नबनेको दाबी मान्न तयार छैनन् । ‘पहिले हाम्रो जे मूल्यांकन थियो, परिणाम त्यही आयो,’ साउद भन्छन्, ‘पार्टीका साथीहरुले अग्रसरता लिनुभएन भनिरहँदा पनि हामीलाई सभापतिजीले अग्रसता लिएर गुणात्मक अन्तर आउँदैन भन्ने लागेको थियो, त्यही भयो ।’

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने सरकार बनाउने उत्कट चाहनाले भन्दा पनि ओलीविरोधी माहौल बनेकाले त्यसको नेतृत्व गर्न मात्र देउवा अग्रसर भएको बताउँछन् । तर आफूले चुनाव जित्न सघाएका महन्थ ठाकुरहरुको समेत विश्वास जित्न नसक्दा सरकार बनाउन असफल भएको उनले बताए ।

‘राजनीतिमा रणनीतिक चालहरु हुन्छन्, त्यसमा हरेक पटक (चुनावको परिणाम ल्याउन, प्रतिपक्षको भूमिका खेल्न) देउवा असफल हुनुहुन्छ,’ राजनीतिक विश्लेषक आचार्य भन्छन्, ‘सरकार गठनमा पनि त्यही भयो ।’

सत्ता होइन, अपजसमा साझेदारी

जतिबेला राजनीतिक दलहरु सरकार टिकाउने-भत्काउने खेलमा लागेका थिए, जनता कोरोना महामारीले आक्रान्त थिए । संक्रमण तीव्र गतिमा फैलिएका कारण अस्पतालहरु बिरामीले भरिएका थिए । गम्भीर अवस्थामा भएका संक्रमितहरुले अस्पतालमा बेड त परै जाओस्, अक्सिजन समेत पाइरहेका थिएनन्  । अक्सिजन नै नपाएर संक्रमितहरुले ज्यान गुमाउनु परेको थियो ।

त्यही बेला प्रधानमन्त्री र एमाले नेताहरु सरकार जोगाउन राजनीतिक भेटवार्ता र बैठकहरुमा व्यस्त थिए । कांग्रेसका नेताहरु भने नयाँ सरकार बनाउन जसपाको एउटा पक्ष र एमालेको असन्तुष्ट पक्षलाई साथ खोज्न दौडधुपमा थियो ।

कांग्रेस नेताहरुका अनुसार प्रधानमन्त्री ओलीले संसदको विश्वास गुमाएपछि वैकल्पिक सरकार गठनका लागि प्रयास गर्नु प्रमुख प्रतिपक्षी दलको धर्म थियो । विकल्प नखोजेको भए पनि प्रश्न उठ्थ्यो । तर, विकल्प खोज्दा पनि प्रश्न उठ्ने अवस्था बन्यो अहिले ।

पार्टी नेतृत्वले नयाँ सरकार गठन किन गर्नुपर्‍यो भनेर जनतालाई बुझाउन पनि नसकेको भन्दै कांग्रेसका एक नेता भन्छन्, ‘जनता महामारीले आक्रान्त भएका बेला सत्ता राजनीति गरेको अपजसको भारी प्रधानमन्त्रीसँगै अरुले पनि बोक्नुपर्ने भयो । हामी सबै बद्नाम भयौैं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment