Comments Add Comment

कर्णालीले कोरोना जित्ने मोडेल के हो ?

‘संसारमा कुनै पनि कुरा भयपूर्ण हुँदैन । बरु बुझिने वा नबुझिने हुन्छ । कुरा जति कम बुझिन्छ, त्यति धेरै डर पनि हुन्छ ।’

कोरोना भाइरस (कोभिड–१९) को नेपाली संक्रमण दर (इन्फेक्टिभिटी रेट) अहिले ३२ प्रतिशत छ । तर, कर्णालीको भने ८६ प्रतिशत छ । यो काठमाडौं विश्वविद्यालयले गरेको अनुसन्धानको पछिल्लो तथ्यांक हो ।

यो तथ्यांकले भन्छ, ‘कर्णाली सिंगो नेपालभन्दा दोब्बर बढी महामारीको चपेटामा छ ।’ त्यसैले यतिबेला हामीले देशका अन्य ठाउँभन्दा दुई गुणा बढी नै सोच्न, बुझ्न र काम गर्न जरूरी छ ।

कोरोना संक्रमण यतिबेला समुदायस्तरमा पूर्णरूपले फैलिएकाले ६०–८० प्रतिशत जनसंख्या संक्रमित हुने अनुमान छ । कर्णालीको सन्दर्भमा यो करीब १२ लाख जनसंख्या हो । यीमध्ये १० प्रतिशतको स्वास्थ्य जोखिम बढी हुने हुँदा करीब १ लाख २० हजार नागरिकलाई अस्पताल भर्ना वा प्रत्यक्ष चिकित्सक र स्वास्थ्यकर्मीहरूबाट उपचार गराउनुपर्ने हुनसक्छ ।

निषेधाज्ञा र लकडाउनले मात्रै संक्रमणको दर घटाउँदैन । त्यही हुने संक्रमणलाई थोरै ढिलो ढिलो गरेर उपचार गर्नुपर्ने भीड घटाउने हो । दुई हप्ताको पूर्ण लकडाउन पछि विस्तारै खुकुलो गरी चरणवद्ध रूपमा खोल्दा त्यसो हुनेछ । अहिलेको आधा लकडाउनको असर भन्न सकिने अवस्था छैन ।

कोरोना के हो ? किन जाँच गर्ने ? लक्षण के के हुन् ? भन्नुपर्ने समय पनि छैन । तर, कर्णालीले कोरोना जित्ने मोडेल के हो ? हामीले जित्ने लक्षण के हुन् ? यो चाहिं जान्नै पर्छ । यो कुरा न त सरकारले भेट्टाएको छ । न कुनै किताबका पानाहरूमा लेखिएको छ । न त विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यस सम्बन्धी टिप्स दिनेछ ।

यतिबेला कर्णालीको कोरोनालाई बाहिरबाट हेरेर समस्याको समाधान खोज्ने काम गरिएको छ । तर, बिरामीको बेड, कुरुवाको काँध र स्वास्थ्यकर्मीको कामबाट पूरै कर्णालीको कोरोना अवस्था अनि समस्याको उपाय बुझ्न जरूरी छ ।

यो हेराइलाई समस्याको भित्रबाट बाहिरतिर हेरेको हो भन्न सकिन्छ । समस्याको मुटुबाट छालातर्फ हेर्दा, दुईवटा कुराहरू देखिन्छन् । जसले समाधान दिनेछ । पहिलो, समुदायको व्यवस्थापन र दोस्रो, अस्पताल व्यवस्थापन ।

समुदाय व्यवस्थापन

संसारमा कोरोनाबाट सबैभन्दा सुरक्षित देश कुन हो ? भन्दा सिङ्गापुरको नाम पहिलो स्थानमा आउँछ । यो देशले समुदायस्तरमा गरेको कामको सिको हामी जस्ता कम विकसित देशहरूले गर्नुपर्छ भनेर डब्लुएचओले नै भनेको छ । कम विकसित र साना देशहरूले लामो महामारी र लकडाउन दुवै थेक्न सक्दैनन् । तर, उनीहरूले एउटा सानो कम जनसंख्या भएको सिङ्गापुरले जस्तै भने अवश्य गर्न सक्छन् ।

राम्रो कन्ट्याक्ट ट्रेसिङ, चुस्त स्वास्थ्य शिक्षा, उत्कृष्ट ढंगले एकैपटक धेरै जनाको कोरोना परीक्षण यो सिङ्गापुर मोडेल हो । अझ सबैभन्दा महत्वपूर्ण कुरा के भने यो राष्ट्रले कोरोना वा अन्य महामारीका बेला खटाउने ‘पब्लिक हेल्थ प्रेपार्डनेस Public Health Preparedness Clinic (PHPC) (तत्परता) क्लिनिक (पीएचपीसी) हुन् । यस पटक त्यहाँ करीब १०० वटा पीएचपीसी देशभरका टोलटोलमा घुमाइएछ ।

साना साना गस्तीहरूलाई आवश्यक पीपीई र औषधिको पूर्व व्यवस्थापन गरिएको थियो । अनि ती पीएचपीसीले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै तीनवटा काम गरे । लक्षण भएका व्यक्तिहरूको खोजी, चेकजाँच र औषधि उपचार । उनीहरूले जरूरी पर्दा अस्पतालहरूमा समन्वयात्मक रिफर र खोप दिने काम पनि गरे ।

हामी सहितका अन्य देशहरूमा रोग अघि–अघि, राज्य पछि–पछि कुदिरहँदा सिङ्गापुर भने रोगभन्दा अगाडि पुगेर रोगको कठालो समातिरहेको देखियो ।

कोरोना महामारी नियन्त्रणमा के कर्णालीले सिङ्गापुर मोडेल अपनाउन सक्छ त ? अवश्य पनि सक्छ । नसक्ने कुनै कारण छैन । विशेषज्ञ चिकित्सक छन् । आवश्यक स्वास्थ्यकर्मी र हेल्थपोष्टहरू पनि छन् । गाउँ–गाउँमा आमा समूह छन् । स्वयंसेविका छन् । तिनीहरूको सही व्यवस्थापन र परिचालन गर्न सके मात्रै पुग्छ । यसो गर्न सकिन्छ ।

कोरोना महामारीका बेला फ्रन्टलाइनमा रहेर एक वर्ष काम गरेको एउटा चिकित्सकले बुझ्न नसकेको कुरा कोरोनाको परीक्षण ब्लड गु्रप जस्तो पोजेटिभ र नेगेटिभ, टाइफाइड जस्तो छ र छैन मात्रै भनेर पुग्छ र ?

कोरोना लागेको छ या छैन भनेर किन परीक्षण गर्ने ? जबकि बिरामीको लक्षणबाट नै थाहा हुन्छ भने । कोरोना परीक्षण गरेर प्रमाणित गर्नुको मुख्य कारण हो कन्ट्याक्ट ट्रेसिङ्ग । तर हामीले कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने गरेका छैनौं ।

संक्रमितको परिवार, टोल र समुदायमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षण गर्नु आवश्यक छ । टोलमा परीक्षण गरिसकेपछि उनीहरूको वस्तुस्थिति बुझ्ने र संक्रमितको अवस्था जटिल भए अस्पताल लैजाने, सामान्य भए घरमै राखेर उपचार गर्नु आवश्यक छ । यो काम गर्न हाम्रा समुदायस्तरमा रहेका महिला स्वास्थ्य स्वयंसेविकादेखि अन्य स्वास्थ्यकर्मीहरूले गर्न सक्छन् । तर सही परिचालन गर्न आवश्यक छ ।

अस्पताल व्यवस्थापन

कर्णाली प्रदेशका सबैजसो अस्पतालहरू यतिबेला पुरानै सोचबाट चलिरहेका छन् । अस्पतालको व्यवस्थापन गर्ने चिकित्सकले, बिरामी हेर्ने चिकित्सकले, औषधिको किनबेच गर्ने चिकित्सकले, अस्पतालभित्रको ठेक्कापट्टाको काम गर्ने चिकित्सकले, सिङ्गो व्यवस्थापन गर्ने चिकित्सकले !

संसारले कोल्टो फेरिसकेको छ । अस्पतालमा चिकित्सकको भूमिका एउटा मात्रै हुन्छ । बाँकी प्रत्येकको आ–आफ्नै भूमिकाका सातरंगी सोचहरू यहाँ नपुगेको देखिन्छ ।
उसो भए प्रदेश र जिल्ला अस्पतालबाट कोरोना व्यवस्थापन कसरी गर्ने त ? बेइजिङ र हङकङका कोरोना जित्ने राम्रा र सक्षम अस्पतालहरूले जे गरे हामीलाई सुहाउँदो त्यही गर्ने ।

  • सकेसम्म होमआइसोलेसनमा बसेकालाई टेलिमेडिसिन मार्फत निरन्तर प्रत्यक्ष सेवा दिऊँ ।
  • अस्पतालको मुख्य गेट नजिकै २४ सै घण्टा कोभिड ओपीडी (वाइरिङ्ग विभाग) को स्थापना गरौं । जो हालसम्म कतै पनि गरिएको छैन । त्यसले बिरामीहरूलाई चेकजाँच गर्ने, एक्स–रे गर्ने र ल्याब सेवा दिने काम गर्नेछ । यो सेवा उपलब्ध गराउँदा जनताले २४ सै घण्टा नियमित जाँच र औषधि पाउँछन् । हौसला बढ्छ । त्रास घट्छ । सँगसँगै मृत्युदरमा पनि कमी आउँछ ।
  • अक्सिजन चाहिनेलाई आवश्यकता अनुसार भर्ना गर्ने र आईसीयूमा केयर गर्ने ।

यी सबै सेवा दिन अस्पतालले आफ्ना जनशक्तिको ‘टास्क फोर्स’ बनाउने । त्यो ‘टास्क फोर्स’ले नियमित रूपमा आफ्नो काम गर्ने । अस्पताल प्रमुखले मनिटरिङ्ग गर्ने ।
माथि उल्लिखित कामहरू गर्न निम्न अनुसारको जनशक्ति र त्यसले सम्पादन गर्ने कार्यहरू संक्षिप्त रूपमा तल प्रस्तुत गरिएको छ ।

१) विभागीय प्रमुख

  • विभागीय प्रमुखले अस्पताल प्रमुख र कोभिड रोग विभागबीच पुलको काम गर्ने ।
  • कोभिड रोग नियन्त्रणको योजना बनाउने र कार्यान्वयन गर्ने ।
  • कोभिड रोग विभागमा रहेका जनशक्तिहरूको परिचालन गर्ने ।

२) प्रशासन प्रमुख

  • कोभिड विभागको सम्पूर्ण प्रशासनिक कामहरू गर्ने ।
  • विभागीय प्रमुख तथा कोभिड टीमलाई व्यवस्थापनमा सहयोग गर्ने ।
  • रोग नियन्त्रणका लागि योजना बनाउन सहयोग गर्ने ।
  • कोभिड विभाग प्रमुखको प्रत्यक्ष निर्देशनमा काम गर्ने ।

३) फिजिसियन टीम

  • होम आइसोलेसनमा रहेका बिरामीहरूको अनुगमन गर्ने ।
  • होम आइसोलेसनमा रहेका बिरामीहरूको परिचयपत्र जारी गर्ने र बिरामीको वर्गीकरण गर्ने ।
  • होम आइसोलेसनमा रहेका बिरामीहरूलाई नियमित रूपमा सम्पर्क गर्ने ।
  • होम आइसोलेसनमा रहेका बिरामीहरूलाई टेलिफोन, टेलिमेडिसिन लगायत अन्य सञ्चारका माध्यमबाट उपचार तथा परामर्श सल्लाह प्रदान गर्ने ।
  • होम आइसोलेसनमा रहेका बिरामीहरूको वर्गीकरण गरिसकेपछि सघन उपचार आवश्यक पर्ने बिरामीहरूलाई कोभिड बहिरंग विभागमा भर्ना हुन रिफर गर्ने
  • कोभिडका बिरामीहरूको लागि आवश्यक पर्ने औषधि तथा अन्य सामग्रीहरूको खरीद तथा भण्डारण योजना तयार पार्ने ।

४) सघन उपचार टीम

  • यो टीम कोभिड बहिरंग सेवा संचालन गर्न पूर्ण जिम्मेवार रहनेछ ।
  • यसै टीम अन्तर्गत नै मेडिकल अधिकृत, स्टाफ नर्स, एचए तथा पारामेडिकल्सहरू परिचालित हुनेछन् ।
  • बहिरंग विभागमा भर्ना भएका बिरामीहरूलाई आवश्यक पर्ने अक्सिजनको आधारमा लो फ्लो र हाई फ्लो अक्सिजन गरी दुई भागमा वर्गीकरण गर्ने ।
  •  लो फ्लो अक्सिजन आवश्यक पर्ने बिरामीहरूलाई १० जना बिरामीको लागि एक जना स्वास्थ्यकर्मी र हाई फ्लो अक्सिजन आवश्यक पर्ने बिरामीहरूलाई एक जना स्वास्थ्यकर्मी रहने व्यवस्था मिलाउनुपर्नेछ ।

५) ल्याब टीम

  • ल्याब सेवा २४सै घण्टा संचालन गर्ने ।
  • सामाजिक दूरी होइन, समयको दूरी मिलाई भीडभाड नहुने गरी स्वाब संकलन गर्ने ।
  • बिरामीको आवश्यकता, जनशक्तिको उपलब्धताका आधारमा निश्चित शुल्क लिएर बिरामीको घरमै गई स्वाब संकलन गर्ने व्यवस्था मिलाउने ।
  • स्वाब संकलन गरिसक्नासाथ छिटोभन्दा छिटो रिपोर्ट उपलब्ध गराउने व्यवस्था मिलाउने ।

६) स्टोरकिपर

  • विभागलाई आवश्यक पर्ने औषधि, स्वास्थ्य तथा अन्य सामग्रीहरूको खरीद योजना बनाउने ।
  • सामग्रीहरूको भण्डारण गर्ने ।
  • भण्डारमा मौज्दात रहेका सामग्रीबारे नियमित रूपमा विभागीय प्रमुखलाई जानकारी गराउने ।
  • विभागमा आवश्यक पर्ने सामग्री सप्लायर्सहरूको सूची तयार पार्ने ।
  • विभागलाई आवश्यक पर्ने सामग्रीहरू तत्कालै उपलब्ध गराउने व्यवस्था मिलाउने ।

७) मनोपरामर्शकर्ता

  • बिरामी तथा बिरामीको कुरुवालाई परामर्श प्रदान गर्ने ।

८) सामाजिक सेवा इकाइ

  • यस इकाइले समन्वयको कार्य गर्नेछ ।
  • सरकारी तथा गैरसरकारी कार्यालयहरूसँग स्रोत अभिवृद्धिका लागि योजना बनाउने ।
  • बिरामीका कुरुवालाई आवश्यक पर्ने सहयोग गर्ने ।

९) अन्य कार्य

अक्सिजन प्लान्ट नियमित रूपमा सञ्चालन गर्ने ।

मानव सभ्यता रहँदासम्म यस्ता खालका महामारीहरू निरन्तर रूपमा आइरहने छन् । तसर्थ कर्णाली प्रदेशमा पनि एक सरुवा तथा संक्रमण रोग नियन्त्रण विभाग आवश्यक छ ।

यसै विभागलाई नै सरुवा रोग नियन्त्रण विभागमा रूपान्तरण गरी नियमित रूपमा काम गर्ने व्यवस्था मिलाउन आवश्यक देखिन्छ ।

हामी समस्याको बीचमा छौं । ओरालो लाग्ने ठाउँ पनि छ । उकालो लाग्ने र सफलताको चुचुरो चुम्ने अवसर पनि छ । ओरालो लागे दुनियाँले भन्ने छ, ‘कोरोनाले कर्णाली जस्तो खत्तम हुन सक्छ है…!’

तर, सही कदम र उचित बल पुर्‍याएर उकालो चढ्दै चुचुरो चुमे, ‘नेपालमा कोरोना लागे कर्णाली जस्तै गर्नुपर्छ, कर्णालीको कोरोना मोडेल सबैले सिक्नु र अपनाउनुपर्छ’ भन्नेछ दुनियाँले । र, कर्णालीबाट नयाँ र अनुकरणीय अभ्यास सिक्नेछ ।

अझै भनौं कर्णाली नदी सही दिशामा बगे ठूलो मात्रामा जलविद्युत् उत्पादन गर्न सकिएला, विशाल बाँझो जमीन सिंचाइ गर्न सकिएला, ठूलै लाभ लिन सकिएला । तर, कर्णाली बेतालमा बग्न थाले हजारौं मान्छे बगाउने छ । प्रदेशले ठूलो क्षति व्यहोर्नेछ । नागरिकले अनेकन् दुःख झेल्ने छन् । त्यसैले त कोरोनाको कर्णाली सही दिशामा बग्न आवश्यक छ । सही लय पक्रन आवश्यक छ ।

(बालरोग विशेषज्ञ डा. केसी कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा कार्यरत र कोरोना महामारी शुरू भएदेखि फ्रन्टलाइनमा रहेर काम गर्दै आएका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment