
News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली प्रदेश सरकारले बजेट ल्याउन लागेको समयमा माओवादीले असहमति जनाएपछि बैठक अनिश्चित भएको छ।
- माओवादीले योजना बैंकमा समावेश योजनाहरू सार्वजनिक गर्न र सिफारिस योजना नआएसम्म बैठकमा नहुने निर्णय गरेको छ।
- सत्तारुढ एमालेले बजेट नआउँदै विरोध गर्नु उचित नभएको बताएको छ र सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बजेट पारित भएको जानकारी दिए।
१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याउन लागेको बजेटमा माओवादीले असहमति जनाएपछि प्रदेशसभा बैठक अनिश्चित बनेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले योजना बैंकमा योजनाहरू समावेश नगरेरै बजेट ल्याउन खोजेको भन्दै बैठकमा सहभागी नहुने जनाएको हो ।
योजना बैंकमा समावेश योजनाहरू सार्वजनिक गर्नुपर्ने र संसद्मा मुख्यमन्त्री यामलाल कँडेलले जनाएको प्रतिबद्धताअनुसार जिल्लाबाट सिफारिस योजना पनि बजेटमा समावेश नहुँदासम्म संसद् बैठकमा उपस्थित नहुने माओवादी संसदीय दलको बैठकले निर्णय गरेको छ ।
आइतबार दिउँसो तीन बजे नै प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८२ र ०८३ को वार्षिक बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । तर बजेटमा माओवादीले असन्तुष्टि देखाएपछि अझै बैठक बस्न सकेको छैन । कार्य व्यवस्था परामर्श समितिको बैठक चलिरहेको छ भने अझै सहमति जुट्न भने सकेको छैन ।
आफू कार्य व्यवस्था परामर्श समितिको बैठकमै भएको र सोही विषयमा छलफल भइरहेको माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए । ‘म अहिले कार्य व्यवस्था परामर्श समितिकै बैठकमै छु, सोही विषयमा छलफल भइरहेको छ,’ अनलाइनखबरसँग उनले भने ।
उता सत्तारुढ एमालेले भने बजेट नआउँदै माओवादीले विरोध गर्नु उचित नभएको बताएको छ । ‘बजेट सभामा प्रस्तुत नहुँदै विरोध गर्नुको तुक छैन,’ एमालेका एक सांसदले भने, ‘बजेट सभामा प्रस्तुत नहुँदासम्म त गोप्य नै रहन्छ । देखाउँदै ल्याउने कुरा पनि हुँदैन ।’ बजेटमा असन्तुष्टि भए बजेट भाषण पछि पनि राख्ने सकिने उनले बताए ।
आज दिउँसो २ बजे बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले भने कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेट पारित गरिसकेको छ । बजेट संसद्मा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट पारित भएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया 4