+
+
Shares

कर्णालीका अर्थमन्त्रीलाई दाइहरूको दबाब

राजीवविक्रम शाह त्यो ठाउँको अर्थमन्त्री हुन्, जहाँ विधिको होइन, व्यक्तिको शासन चल्छ । सिस्टमले होइन, पद र पावरले काम गर्छ । हरेक ठाउँमा चरम राजनीति र बेथिति छ । छलकपट र जालझेल छ ।

यज्ञ खत्री यज्ञ खत्री
२०८२ असार ५ गते २२:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पत्रकार सम्मेलन गरेका शाहले यो बीचमा आफूले आफ्नै पार्टीका दाइहरूबाट झेल्नु परेको दबाबको पोको फुकाए ।
  • राजीवविक्रम शाहले प्रणाली र भ्रष्टाचार विरुद्ध संघर्ष गर्दै बजेट र शासन सुधारको प्रयास गरिरहेका छन्।
  • संसदीय र राजनीतिक विवादहरू र पार्टीभित्रको असहयोगका बाबजुद शाहले विकास र पारदर्शिताका लागि काम गरिरहेका छन्।

४ असार, सुर्खेत । एउटा १० वर्षे चकचके बालक । एक दिन परिवारसँग पिकनिक गएका थिए । उनका बुवा देशको एक उच्चपदस्थ कर्मचारी थिए । बुवालाई राज्यले गाडी, आकर्षक तलब लगायतका सेवा-सुविधा दिएको थियो । ती बालकको मावली देशको राजपरिवार थियो ।

उनी सत्ता, शक्ति र पहुँचको घेरामा हुर्के-बढेका थिए । पारिवारिक पिकनिक गएका उनलाई त्यो जमघट मन परेन । ड्राइभरलाई भनेर तत्काल बुवाको सरकारी गाडीमा घर फर्किए । बेलुका घर फर्किएका बुवाले उनलाई नराम्रोसँग झपारे । कारण थियो, सरकारी गाडी चढ्नु । बुवाले उल्टै उनलाई प्रश्न गरे, त्यो गाडी तिम्रो बुवाको हो ? जे मन लाग्यो त्यही गर्ने ?

उनले त्यसअघि आफनो बुवालाई त्यसरी रिसाएको कहिल्यै देखेका थिएनन् । त्यति सारो थर्काइ खाने ठूलै कसुर पनि त केही थिएन । गल्ती थियो त, बुवालाई राज्यले दिएको सरकारी गाडीमा चढ्नु । राज्यले दिएको गाडीमा आफ्नै छोरा चढ्दा यसरी थर्काउने बुवा थिए, नेपालको पहिलो जेट विमान चालक बबिविक्रम शाह । थर्काइ खाने छोरा थिए, राजीवविक्रम शाह ।

झुक्किएर बुवाको सरकारी गाडी चढ्दा बुवाले गरेको गाली अहिले पनि राजीवको कानमा गुन्जिन्छ । ‘हाम्रो मुवा, बहिनी, हामी कसैले पनि बुवालाई राज्यले दिएको गाडीमा चढ्न पाउँदैनथ्यौँ,’ विगत सम्झिँदै राजीव भन्छन्, ‘इथिक्सभन्दा बाहिरको काम गर्ने छुट परिवारले बच्चैदेखि दिएन । हामीलाई त्यसरी नै हुर्काइयो ।’

सिंह शमशेरकी नातिनी अर्थात् अर्जुन शमशेर राणाकी कान्छी छोरी जया शाह राजीवकी आमा हुन् । राजीवको हुर्काइ-बढाइ पनि राजपरिवारकै शैलीमा भयो । राजीव र उनकी बहिनीको लागि बच्चैदेखि सुत्ने, उठ्ने, खाने, पढ्ने र घुमफिर गर्ने एउटा निश्चित समय तालिका परिवारले निर्धारण गरिदिएको थियो ।

उनीहरूलाई नैतिकता, आचरण, सभ्यता र संस्कारको शिक्षा दिइन्थ्यो । अलिकति हुर्केपछि राजीव पढ्नलाई अमेरिका गए । लस एन्जलसको एउटा विश्वविद्यालयबाट स्नातक गरे । उनले त्यो बेला अमेरिकाको विकास, व्यवस्था र नागरिकको अवस्था नजिकबाट देख्न पाए । त्यहाँ हरेक कुरा सिस्टममा चल्थ्यो । व्यक्तिको होइन, विधिको शासन थियो ।

०००

राजीवका मावली हजुरबुवा राजतन्त्रका राजा थिए । नाती राजीव यतिबेला गणतन्त्र नेपालको प्रदेश मन्त्री छन् । नेपाली कांग्रेसबाट राजनीतिमा आएका उनी कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री हुन् ।

उनी त्यो ठाउँको अर्थमन्त्री हुन्, जहाँ विधिको होइन, व्यक्तिको शासन चल्छ । सिस्टमले होइन, पद र पावरले काम गर्छ । हरेक ठाउँमा चरम राजनीति र बेथिति छ । छलकपट र जालझेल छ । झाडापखालामा समस्याग्रस्त जाजरकोटीको सेवा गर्दै राजनीतिमा आएका तिनै शाहलाई यतिबेला राजनीतिभित्रको ‘जालझेल’ समझ्न मुस्किल छ ।

अनाहक फाइल अड्काउने कर्मचारी, मैले भनेकै गर भन्ने सांसदहरू । यो गर, त्यो गर भन्दै छिनछिनमा निर्देशनात्मक फोन बर्साउने आफ्नै पार्टीका दाइहरू । क्वार्टर बाहिर भेट्न आउने बिचौलिया, योजना नहाले चुनाव हराउँछु भन्दै धम्की दिने कार्यकर्ता, अधिवेशन, क्यालेन्डर इत्यादि भन्दै पैसा माग्ने आफ्नै पार्टीका भ्रातृ संस्थाका प्रतिनिधिहरूदेखि उनी आजित छन् ।

गत साउनदेखि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका शाहले पहिलो पटक प्रदेश सभामा आइतबार मध्यराति बजेट पेस गरे । बजेट पेस गरेपछि सोमबार बेलुका मन्त्रालयमा पत्रकार सम्मेलन गरेका शाहले यो बीचमा आफूले आफ्नै पार्टीका दाइहरूबाट झेल्नु परेको दबाबको पोको फुकाए ।

पत्रकार सम्मेलनमा बजेट कस्तो बन्यो, यसका विशेषताहरू के हुन् ? प्रदेशको आन्तरिक आम्दानी कसरी वृद्धि हुन्छ ? बजेट खर्च प्रणाली कहिले सुध्रिन्छ ? जस्ता प्रश्नहरू पत्रकारहरूले उनलाई सोधेका थिए । तर अर्थमन्त्री शाह भने बजेट भित्र के छन् भन्दा पनि बजेट कसरी ल्याइयो ? योजना कसरी छनोट गरियो भन्ने कुरामा केन्द्रित भए ।

उनले सुरुमै, अमेरिका र चाइना कसरी बन्यो ? र हामी नेपाली कसरी पछाडि पर्‍यौं भन्ने केही उदाहरण सुनाए । ‘उनीहरू अर्थतन्त्र, अर्थतन्त्र र अर्थतन्त्रमा जोड दिन्छन् । तर हामी भने राजनीति, राजनीति र राजनीतिमा जोड दिन्छौँ,’ उनले भने, ‘समस्याको मुख्य जड नै यही रहेछ । अब यसलाई बन्द गरौँ ।’

शाह भन्छन्- केही परिवर्तन ल्याउन खोज्दा आफ्नै पार्टीका नेता र कार्यकर्ताहरूबाट नै चर्को दबाब आउँछ । धन्न मलाई जनताले समर्थन गरेका छन् । आफ्नै नेता र कार्यकर्ताको भर परेको भए मेरो राजनीति नै रहन्थेन ।

डाक्टर, पत्रकार, इन्जिनियर, कर्मचारी, वकिल र व्यापारी लगायत हरेक ठाउँमा राजनीति घुस्दा जनताले अपेक्षा गरेअनुसारको विकास हुन नसकेको उनले बताए । अब पनि यही अवस्था रहे यो संरचना नै नटिक्ने हो कि भन्दै शाहले चिन्ता व्यक्त गरे । ‘एक समय थियो, राजनीतिज्ञले मात्रै आन्दोलन गरेर व्यवस्था बदल्न सम्भव थिएन । सबैको साझा प्रयासले आज व्यवस्था फेरिएको छ,’ उनले भने, ‘अब भो यो राजनीति छोड्दिउँ ।’

एउटा करारमा आएको कर्मचारीले पनि २० वर्षसम्म जागिर खाने यो कस्तो सिस्टम बसालेका छौँ ? भन्दै उनले प्रणालीमाथि नै प्रश्न गरे । प्रदेशका मन्त्रालयहरूमा अनावश्यक राखिएको करार कर्मचारीको दरबन्दी कटौती गर्दा ठूलो रकम जम्मा भएको उनले बताए । ‘करार दरबन्दी कटौती गरेको त तिनै कर्मचारीलाई राख भन्दै केन्द्रबाटै दबाब आयो । तर मैले मानिनँ । संसारमा यस्तो व्यवस्था कतै देख्नु भएको छ ?,’ उनले भने ।

केही परिवर्तन ल्याउन खोज्दा आफ्नै पार्टीका नेता र कार्यकर्ताहरूबाट नै चर्को दबाब आएको उनले बताए । ‘हुन त म राजनीतिज्ञ हुँ तर स्पष्ट बोल्छु । जालझेल जान्दिनँ म,’ उनले भने, ‘धन्न मलाई जनताले समर्थन गरेका छन् । आफ्नै नेता र कार्यकर्ताको भर परेको भए मेरो राजनीति नै रहन्थेन ।’ देश र जनताको नाममा राजनीति गर्छु भन्नेहरू नै बिचौलियाको भरिया हुँदा जनतामा वितृष्णा जागेको उनले बताए ।

आफूले बजेटमा विकासमुखी योजना राख्न खोज्दा कार्यकर्ता खुसी नहुने खतरा रहेको प्रष्ट पारे । ‘अब व्यक्तिभन्दा संस्था बलियो बनाउने प्रणालीमा जानुपर्छ भन्ने लागेको छ,’ मन्त्री शाहले भने, ‘बरु मेरो राजनीति नरहला तर म बिचौलिया पोस्ने काम गर्दिनँ ।’

उनले बजेटलाई विकासभन्दा कार्यकर्ता पोस्ने माध्यम बनाउन खोज्ने प्रवृत्तिको आफूले प्रत्यक्ष सामना गरेको बताए । ‘बजेट बनाउँदा कार्यकर्ताहरूले ‘मेरो योजना पारिदिनुपर्छ’ भन्ने ठूलो दबाब आउँदो रहेछ । तर १०–१५ लाखका साना र व्यक्तिगत योजनाले न दीर्घकालीन विकास हुन्छ, न त राज्यको दिगो हित हुन्छ,’ उनले भने ।

शाहले यस्ता साना योजनाले क्षणिक रूपमा केही व्यक्ति खुसी भए पनि त्यसले स्रोतको दुरूपयोग मात्र हुने धारणा व्यक्त गरे । कसको योजना राख्ने र कसको नराख्ने भन्ने दुविधा हुने गरेको अनुभव समेत सुनाए । ‘नराख्दा रिसाउने, राख्दा स्रोतको सदुपयोग नहुने,’ उनले भने, ‘तर मैले राज्यलाई भार पार्ने काम गरिनँ ।’

बजेटले भ्रष्टाचार कम गर्ने र विकासको अनुभूति दिलाउने लक्ष्य राखेको शाहको दाबी छ । बजेटमा चालु खर्च कटौती गरेर पूँजीगत रकम वृद्धि गरिएको छ, कृषि र पर्यटनलाई जोड दिइएको छ भने युवा लक्षित कार्यक्रम समावेश गरिएका छन् । अर्थमन्त्री शाहले संसद्‌मा पेस गर्नुअघि नै बजेट विवादित बनेको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीसँग मुख्यमन्त्री यामलाल कँडेल र सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले एकबुँदे सहमति गरेका छन् ।

‘आज बजेट प्रस्तुत गर्ने, योजना निर्माण र बजेटसँग प्रमुख प्रतिपक्षले उठाएका विषयमा छलफल पश्चातमात्र सदनको प्रक्रिया अगाडि बढाउने सहमति गरियो,’ एक बुँदे सहमति पत्रमा भनिएको छ । मन्त्री शाहले बजेट मात्र प्रस्तुत गरे पनि आर्थिक विधेयक र विनियोजन विधेयक अझै सभामा पेस गर्न पाएका छैनन् ।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले ‘योजना बैङ्क’ अपारदर्शी र एकलौटी भएको आरोप लगाएको छ । उक्त सहमतिपत्र अनुसार प्रदेश सभामा बजेट प्रस्तुत भए पनि यसको प्रक्रिया र विषयवस्तुलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीचको विवाद अझै कायमै छ ।

माओवादीले ‘योजना बैङ्क’ मा मात्र नभएर ‘आयोजना प्रस्ताव छनोटसम्बन्धी कार्यविधि २०८१’ माथि नै प्रश्न उठाएको छ । उक्त कार्यविधि बमोजिम जिल्लास्तरीय आयोजना प्रस्ताव छनोट सिफारिस समितिको बैठकबाट सिफारिस भएका योजनाहरूमध्ये तुलनात्मक हिसाबले लाभदायक योजनाहरू मात्र कार्यान्वयन गर्ने कुरा यसअघि भनिएको थियो ।

तर, अर्थमन्त्री शाह भने प्रतिपक्षीले आरोप लगाएको योजना छनोटमा कुनै त्रुटि नभएको बताउँछन् । बरु योजनामा हुने विभिन्न बेथिति रोक्न सरकारले आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि, २०८१ लागु गरेको बताए । कार्यविधिअनुसार प्रदेश सरकारको बजेटमा समावेश भएका आयोजनाहरू जिल्ला तहबाट छनोट भएर आएका हुन् ।

यसले चोर बाटोबाट आउने योजनालाई निरुत्साहित गरेको र एउटा थिति बसालेको उनले दाबी गरे । आयोजनामा हुने दोहोरोपना हटेको र बजेट विनियोजनलाई चुस्त बनाउन सहयोग पुग्ने अर्थमन्त्री शाहले बताए । ‘यो पटक हामीले नयाँ कानुन लागु गरेका छौँ । केही सुधार र परिवर्तन गर्दा सबै कुरा सही नहोला तर परिवर्तनको सुरुवात भएको छ,’ उनले भने ।

सरकारले पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात् ६०.५५ प्रतिशत बजेट ल्याएको छ । जुन चालु आर्थिक वर्षको तुलनामा ११.६३ प्रतिशतले बढी हो । एकमुष्ट बजेट (अबण्डा) प्रस्ताव गर्ने परिपाटीमा सुधार गरेको र बजेटलाई आयआर्जन वृद्धि मार्फत गरिबी न्यूनीकरण, उद्यमशिलता र रोजगारी प्रवर्द्धन गर्ने विषयमा केन्द्रित गरेको अर्थमन्त्री शाहले बताए ।

यो बजेटमार्फत सरकारले केही ‘बोल्ड’ निर्णय लिएको शाह बताउँछन् । ‘हामीले विभिन्न मन्त्रालय र सरकारी कार्यालयहरूमा जाने चालु खर्च कटौती गरेका छौँ । कर्मचारीको सुविधा कटौती गर्दा हामी ‘अनपपुलर’ हुन सक्छौँ, तर त्यो चालु खर्चलाई पूँजीगत बजेटमा रूपान्तरण गर्न सकियो भने त्यसले विकासमा ठूलो मद्दत गर्छ,’ उनले भने ।

आफ्नै दलका दाइहरूको छैन साथ

२०७९ मंसिरको आम निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेदवार बनेका कांग्रेस नेता शाहले आफूले चुनाव जिते ‘मुख्यमन्त्री बनेर आउँछु’ भन्दै जाजरकोटीसँग भोट मागेका थिए । केही शीर्ष नेताहरूको आश्वासन समेत पाएका उनले मुख्यमन्त्रीलाई चुनावी सभामा प्रमुख अजेन्डा बनाए ।

शाहले प्रदेश सभामा कांग्रेसबाट उम्मेदवार बनेका अधिकांशलाई धेरथोर आर्थिक सहयोग पनि गरे । माओवादीसँग गठबन्धन गरेको कांग्रेसले प्रत्यक्षतर्फ ९ सिट जित्यो भने समानुपातिकतर्फ ५ सिट पाएको कांग्रेस १४ सांसदसहित कर्णाली प्रदेश सभाको ठूलो दल बन्यो ।

कर्णाली प्रदेश सभामा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही पनि चुनिएर आएका थिए । त्यसैले मुख्यमन्त्री बन्नुपूर्व राजीवले उनीसँग संसदीय दलको चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने भयो । राजीवले चुनाव लड्ने घोषणा पनि गरे । तर उनले प्रस्तावक र समर्थक समेत पाएनन् ।

जीवन र राजीव दुवै जना संस्थापन पक्षकै नेता हुन् । कर्णालीमा कांग्रेसको संस्थापनइतर पक्षको उपस्थिति निकै कमजोर छ । १४ सांसदमध्ये ११ जना सांसद संस्थापन पक्षमा छन् भने ३ जना संस्थापनइतरका हुन् । संस्थापनइतरका ३ जनाले राजीवलाई साथ दिने वाचा गरेका थिए । तर उम्मेदवारी दिने दिन ८ पुस २०७९ मा कुनै पनि सांसदले सहयोग नगरेपछि शाहले संसदीय दलको नेतामा जीवनबहादुर शाहीलाई नै समर्थन गरे ।

समर्थन गर्दा उनलाई लागेको थियो, भोलि सरकारमा जाने बेला सहज होला । तर संसदीय दलका नेता शाहीले त्यसो गरेनन् । केन्द्रमा गठबन्धन फेरिएपछि राजकुमार शर्मा नेतृत्वको माओवादी सरकारमा कांग्रेस सहभागी हुने भयो । पार्टी केन्द्रीय सदस्यसमेत रहेका राजीव बरियतामा जीवनपछिका सिनियर नेता हुन् । त्यसैले उनले सरकारमा पार्टीको नेतृत्व गर्न चाहे ।

तर, संसदीय दलका नेता जीवनले भने जाजरकोटकै अर्का सांसद वेदराज सिंहलाई अर्थमन्त्री बनाए । त्यस घटनाबाट बिरक्तिएका राजीव ३–४ महिना कर्णालीमै आएनन्, काठमाडौँ बसे । ४ साउन २०८० भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा समेत शाहले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्छु भनेकै कारण नेताहरूले आफूलाई गलत व्यवहार गरेको बताए । उनले भनेका थिए, ‘लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा गर्छु भनेर मैले चाहना राख्नु के अपराध थियो ?’

मुख्यमन्त्री बन्नुपूर्व राजीवले उनीसँग संसदीय दलको चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने भयो । राजीवले चुनाव लड्ने घोषणा पनि गरे । तर उनले प्रस्तावक र समर्थक समेत पाएनन् ।

१७ असार २०८१ मा कांग्रेस र एमालेबीच केन्द्रमा नयाँ समीकरण बन्यो । दुई दलबीच कर्णालीमा एमाले संसदीय दलका नेता यमलाल कँडेल नेतृत्वको सरकारलाई नै निरन्तरता दिने सहमति भयो । राजीवले मन्त्री बन्न लबिइङ गरे । त्यतिबेला उनले उपसभापति पूर्णबहादुर खड्का र नेता शाहीलाई भेटेर सम्बन्ध सुधारे । राजीवकै नेतृत्वमा कांग्रेस कँडेल नेतृत्वका कर्णाली सरकारमा सहभागी भएको छ ।

तर, कांग्रेसकै दाइहरूले नै सहयोग नगरेको उनी बताउँदै आएका छन् । अर्को पार्टीको भएर पनि मुख्यमन्त्री यामलाल कँडेलले आफूलाई सहयोग गरे पनि आफ्नै पार्टीका नेता र कार्यकर्ताले असहयोग गरेको उनको भनाइ छ । मन्त्रालयका स–साना निर्णय गर्दा पनि दाइहरूले हस्तक्षेप गर्ने, आफूलाई नसोधेर किन गरेको भन्दै दबाब दिने गरेको शाह बताउँछन् ।

कांग्रेस नेताहरूका अनुसार अर्थमन्त्री शाहले दाइहरूको निर्देशनअनुसार नचल्दा उनी यतिबेला पेलानमा छन् । सहयोगको साटो चौतर्फी असहयोग पाउने गरेको शाह निकट नेताहरू बताउँछन् । राजनीतिमा चाहिने चातुर्यता र कूटनीतिमा कमजोर भएकै कारण शाहले पटकपटक धोका खाएको भन्दै उनी निकट एक नेता भन्छन्, ‘उहाँ कमलो हृदय भएको मान्छे हो ।’

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?