+
+
Shares

सचेत विद्रोहको पर्खाइमा छ कर्णाली

अब समय आएको छ, पुराना ढाँचाहरू भत्काएर कर्णालीमा समानताको नयाँ चेतना निर्माण गर्ने।

नेत्र नेहरू नेत्र नेहरू
२०८२ असार १६ गते ८:१६

कर्णाली, जहाँ हिमाल जति ठूला छन् पीडा र खोला जस्तै गहिरा छन् घाउहरू। यहाँका पाखा–पखेरा, गोठ–गाउँले, कुलो–काँढी मात्र जर्जर छैनन्, जर्जर छ सदियौंदेखि गढिएको जातीय संरचनाभित्रको अन्याय।

गाउँमा जनप्रतिनिधि छन् तर जनताको आवाज छैन। विद्यालय छन्, शिक्षाको चेतना छैन। स्वास्थ्य चौकी छन्, तर उपचारको भरोसा छैन। योजना छन्, तर सार्वजनिक हितभन्दा दलीय राजनीतिको गुटगत लाभका निम्ति तँछाडमछाड।

हामी सबैलाई आफ्नो जात, धर्म, भाषा र पहिचानप्रति माया हुन्छ। त्यो स्वाभाविक हो। तर त्यो माया, अरूको पहिचानलाई कुल्चेर, आफ्नो वर्चस्व कायम गर्ने माध्यम बन्न थाल्यो भने, माया हैन; अहंकार बन्छ। कर्णालीको ग्रामीण समाज अझै जातीय संरचनामा गहिरो गरी गाँसिएको छ। जहाँ शिक्षित भनिएका नेतृत्वहरूले चेतना ल्याउनुको सट्टा, आफ्नो जातीय पहिचानको गर्वमा रमाउने गर्छन्। अनि आलोचना सहन नसकी, प्रश्नलाई प्रतिशोधमा बदल्ने रोग फैलिएको छ।

दलित बस्तीमा विद्यालय त छ, तर चेतना छैन। शिक्षक उपल्लो जातका छन्, तर उनीहरू जातीय कुरीतिबारे कहिल्यै बोल्दैनन्। बरु आफ्नो पहिचानको घमण्ड मौन व्यवहार मार्फत प्रसारित गर्छन्। शिक्षक जब विचारको सट्टा वंशको प्रभाव देखाउँछ, त्यहाँ विद्यालयले ज्ञान बाँड्दैन, गुलामी जन्माउँछ।

हिजो शिक्षाबाट मुक्ति खोज्ने सपना देखिएको थियो। आज शिक्षा स्वयं जातीय मौनता उत्पादन गर्ने माध्यम बन्न पुगेको छ। राजनीति पनि चेतनाको वाहक बन्नुपर्ने हो, तर यहाँ गुटबन्दी, पहुँच र स्वार्थको ‘घेरा’ बनेको छ। सत्तामा पुगेका प्रतिनिधिहरू आफ्नै सर्कलभित्र रमाउँछन्। सार्वजनिक सेवा प्रदायकहरू जनताप्रति होइन, नेताको खुसीप्रति जिम्मेवार देखिन्छन्।

आजको कर्णालीमा पीडा साझा छ, चेतना टुक्रिएको छ। हाम्रो समाज सांस्कृतिक विविधताभित्रको  चेतना सहितको समानताबाट मात्र बलियो हुन्छ। तर, त्यो समानता देखिंदैन। यसैले पीडाको दायरा फराकिलो हुँदैछ।

सबैलाई थाहा छ, कर्णाली विकासमा पछि परेको छ। तर, कर्णालीले विकास भन्दा पहिला विवेक खोजिरहेको छ। जातको सिंढी होइन, चेतनाको पुल तरेर अघि बढ्ने समाज निर्माण हाम्रो साझा लक्ष्य हुनुपर्छ। त्यस्तो समाज निर्माण गर्न चेतना भएको नेतृत्व कर्णालीले खोजिरहेको छ।

समय आएको छ, पुराना ढाँचाहरू भत्काएर समानताको नयाँ चेतना निर्माण गर्ने। नेतृत्व विचारको होस्, जातीय पहिचानको होइन। नेतृत्वमा स्पष्ट कार्यशैली अनि आचरण होस्। समाज आड–अडानको होस्, मौनताको होइन।

(नेहरू, सामाजिक न्याय र चेतनाबारे कलम चलाउँछन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?