Comments Add Comment

हरिवंशले शालिक हेर्दै सम्झिए: मीरा मेरै अगाडि उभिएजस्तो लाग्दैछ

विजय आवाज

अाँखै अगाडि दिवंगत पत्नी मीराकाे शालिक खडा छ । छेवैमा उभिएकी रमिलाले श्रद्दासुमन प्रकट गरिरहेकी छिन् । कलाकार हरिवंश अाचार्यचाहिँ शालिकतिर हेरेर ‘नाेष्टाल्जिया’ मा डुबिरहेका छन् ।

haribansha-and-ramila
काठमाण्डौं भन्दा करिब ३५ किलोमिटर टाढा, पक्की सडक छाडेपछि बिग्रिएको र हिलाम्मे सडक । त्यही सडकबाट विस्तारै अगाडि बढ्दा केही बालबालिकाका आँखामा देखिए सुनाैला  सपनाहरू ।

काठमाण्डौंबाट त्यति टाढा नभए पनि विकासको कोणबाट केही पछाडि परेको गाउँ हाे काभ्रेको शंखुपाटीचौर । पढ्नका लागि महंगा बोर्डिङ स्कुल र चाइल्ड सेन्टरमा भर्ना हुन त्यहाँका कमै मात्र बालबालिकाले अवसर पाउलान् । तर, अब त्यही गाउँको २ रोपनी जग्गामा ‘मीरा सेन्टर’ नाम दिएर ६ कोठाको घर बनेको छ ।

सोमबार राजधानीबाट करिब दुर्इ घन्टाको बाटो छिचाेल्दै शंखुपाटीचौर पुग्दा एकाएक  वातावरण भावुक बन्याे । चर्चित हास्य कलाकार हरिवंश आचार्यले आफ्नै पुर्खौली जग्गामा दिवंगत पत्नी मीरा आचार्यका नाममा ‘मीरा सेन्टर’ स्थापना गरेका रहेछन्।

mira-center-building

विगत २ बर्षदेखि सुरु भएको ‘मीरा सेन्टर’ निर्माणको काम धेरै हदसम्म पूरा भएको छ । हरिवंशले दुर्इ रोपनी जग्गा सहयोग गरेका छन् भने जापानी राजदुतावासले ८५ लाख नगद सहयोग गरेर यो सेन्टर बन्न सकेको हो ।

नेपालका लागि जापानका राजदुत मासामी ओगावाले साेमबार यो सेन्टरको उदघाटन गरे । उनले काठमाण्डौबाट धेरै टाढा नभए पनि यो गाउँ केही पछाडि परेकाले यस्तो सेन्टरमा सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

‘मीरा सेन्टर’को ढोकाबाट प्रवेश गर्ने वित्तिकै हरीवंशकी दिवंगत पत्नी मीरा आचार्यको अर्धकदको सालिक देखिन्छ । त्यसलगतै ४ वटा कक्षा कोठा, एउटा हेल्थ सेन्टर र एउटा रिसेप्सन कोठा छ । कोठालाई आकर्षक तरिकाले सजाइएको छ ।

japanese-embassodorहरिवंशकी दिवंगत पत्नी मीरा आचार्यको सम्झनामा यो सेन्टरको निर्माण गरिएको हो । जापान सरकारको मुख्य सहयोगका साथै चाइल्डरिच नेपालको सहयोगमा यो सेन्टर खोल्न सम्भव भएको हो । यो सेन्टरलाई चाइल्डरिच नेपालले नै सञ्चालन गर्नेछ ।

उदघाटन कार्यक्रममा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुसाल, दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल, किरण केसी लगायतको उपस्थिति थियो ।

comedian

कलाकार मदनकृष्ण श्रेष्ठले मीरा आचार्यप्रति ‘मीरा सेन्टर’को स्थापना गरेर ठूलो सम्मान भएको बताए । उनले अब धेरै भावुक नहुन अर्का कलाकार हरिवंश आचार्यलाई पनि सल्लाह दिए ।

मीरा मसँगै छिन् जस्तो लाग्दैछ : आचार्य

करिब २ रोपनी जग्गामा आफ्नी दिवंगत पत्नीको नाममा ‘मीरा सेन्टर’ स्थापना गर्न पाउँदा कलाकार हरीवंश आचार्यको अनुहारमा एक प्रकारको खुशी थियो त अर्कोतिर मीराको अभाव । ‘मीरा बच्चाहरुलाई खुबै माया गर्थिन् ।

haribansha-wiht-mira

‘हुन त मानिस सधै बाँचिरहन पाउँदैन । तर, ४७ बर्षको उमेरमै मीराले मलाई छाडेर जान्छिन् भन्ने लागेको थिएन । तर, आज ‘मीरा सेन्टर’ स्थापना गर्न पाउँदा उनी कुनै न कुनै रुपमा बाँचिरहेकी छिन् भन्ने लाग्दैछ ।’-केही भावु हुँदै हरिवंशले अनलाइनखबरसँग कुरा साटे ।

हरिवंशले मीरालाई सम्झँदै  अनलाइनखबरसँग भने ‘उनको, मेरो र छोराको जन्मदिनमा पनि उनी बाबुआमा नभएका बालबालिकालाई भेट्थिन् र खानेकुरा, लत्ता कपडा वितरण गर्थिन् । हामी दुई मिलेर समाजसेवा गर्नुपर्छ भन्ने सोच्थ्यौं । तर, आज म मीराको नाममा ‘मीरा सेन्टर’ खोल्दैछु । उनी भौतिक रुपमा मसँग नभए पनि आज कुनै न कुनै रुपमा आफ्नै अगाडि उभिएजस्तो लाग्दैछ ।’

उनले फेरि सम्झिए-‘छोराले अमेरिकामा काम गर्दा पहिलो तलव मामुलाई भनेर १ हजार डलर पठाएको थियो । मीराले २५-३० हजारको कपडा, खानेकुरा किनेर बालबालिकालाई वितरण गरेकी थिइन् । उनको बच्चाहरुसँग खुबै लगाव थियो ।’

‘मीरा सेन्टर’मा ५ बर्षमुनिका बालबच्चाहरुलाई विभिन्नखालका शिक्षा दिइन्छ । बच्चाहरुलाई सानैबाट आमाबाबुसँग नजिक हुने तरिका, उनीहरुलाई विभिन्न तवरले प्रवर्द्धन गर्ने काम यो सेन्टरले गर्ने उदघाटन कार्यक्रममा जानकारी गराइयो ।

यस्तै, यो सेन्टरमा आमाहरुलाई पनि बच्चालाई कसरी हुर्काउने, बढाउने र उनीहरुलाई शिक्षा कसरी दिलाउने भन्ने बारेमा सिकाइनेछ । ५ बर्षमुनिका बालबालिकाको समग्र विकासका लागि आवश्यक अनुकूल, सुरक्षित अनि उत्प्रेरक वातावरण सुनिश्चित गर्ने जानकारी कार्यक्रममा दिइएको थियो ।

mira-center-room-1

शिक्षाबाट कोही पनि बालबालिका बञ्चित हुन नपरोस् त भनिन्छ । तर, काठमाण्डौबाट केही पर मात्र पुग्ने हो भने पनि यस्तो कैयौ गाउँ छन्, जहाँका बालबालिकालाई शिक्षाको अवसर त्यति सजिलो छैन । ‘मीरा सेन्टर’को भित्तामा झुण्डिएको क, ख, ग, घ देखि ए, बी, सी, डी लेखिएको चार्टले सयौं बालबालिकाको शिक्षाको अँध्यारो पर्दा हटाउने विश्वास लिन सकिन्छ ।

यस्तो सेन्टरलाई देशव्यापी बनाउने योजनासमेत लिइएको छ । ‘चिना हराएको मान्छे’ भित्र हराएका हरिवंशले, सायद अब भने ‘मीरा सेन्टर’का अगाडि उभिएर मीराको सपना पूरा हुँदा मन्द मुस्कान छर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment