Comments Add Comment

तीन दिनसम्म राहत दिइएनः जिप्रकाविरुद्ध नाराबाजी

१४ वैशाख, नुवाकोट । भूकम्प आएको तीन दिन बित्दा पनि पीडितलाई राहत वितरण गर्न नसकेपछि नुवाकोटको जिलिङ गाविसमा भूकम्पपीडितले सोमबार जिल्ला प्रशासन कार्यालयमा राहत माग गर्दै नाराबाजी छन् ।

कालाबजारी बढेको र व्यवसायीले बजार नखोल्दा उपभोक्ताले दैनिक उपभोग्य सामाग्री सहज रुपमा प्राप्त गर्न नसकेको भन्दै उनीहरूले प्रशासनविरुद्ध नारावाजी गरेका हुन् । “हामीले राहत मागेको होइन, प्रशासनले पसल खुलाइदिओस्, प्रचलित मूल्यमा किन्न पाइयोस्, त्यति नै हाम्रा लागि राहत हुने थियो” आन्दोलन गर्न आएका एक पीडित सुनील खतिवडाले भने “एक हजार पर्ने पाललाई पच्चीस सय तिर्न परेको छ, के हेर्छ यो प्रशासन ?”

आज साँझसम्म जिल्लामा भूकम्पबाट मर्नेको सङ्ख्या चार सय ४८ पुगेको प्रजिअ कोशहरि निरौलाले बताए । स्थानीय प्रशासनका अनुसार घाइतेको सङ्ख्या एक हजारभन्दा बढी नै छ । आजसम्म स्थानीय प्रशासनले पीडितलाई राहत बाँड्न सकेको छैन । पीडित परिवारले बजारमा रहेको पाल मात्र किन्ने वातावरण बनाइदिए पनि सहज हुने भनिरहेका छन् । तर स्थानीय प्रशासन, रेडक्रसलगायतले पाल एक थान पनि वितरण गर्न असमर्थ भएपछि पीडित आक्रोशित भएका छन् ।

तीन हेलिकप्टरबाट सेवा

आज बिहानदेखि भारतीय वायु सेवाको एक र अन्य दुई गरी तीन हेलिकप्टरले घाइतेको उपचारका लागि सदरमुकाम ल्याउन सुरु गरेका छन् । भूकम्पबाट अस्पताल क्षतिग्रस्त भएपछि प्रशासनले बट्टारमा रहेको बस पार्कलाई अस्पतालका रुपमा परिणत गरी घाइतेको उपचार सुरु गर्न लाग्दा अस्पताल क्षेत्र वरपरका बासिन्दाले विरोध जनाउँदै बिरामी र उपकरण उठाउन नदिएपछि समस्या भएको छ । जिल्ला अस्पतालको भवन भत्किएपछि चौरमा उपचार भइरहेको छ ।

बसपार्कमा रहेको १२ कोठे भुइँतले भवन खाली रहेको र त्यसलाई अस्थायी अस्पतालका रुपमा सञ्चालन गर्न स्थानीय प्रशासनको प्रयास स्थानीयवासीको अवरोधले सफल नहुँदा घाइतेको उपचारमा समस्या हुने र हुरी, बतास र पानी आएमा समस्या हुने डा. मधुकर दाहालले बताउनुभयो ।

भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको स्थानीयस्तरमा लगत सङ्कलन सुरु भएको छ । भूकम्पबाट अतिप्रभावित जिल्लाको क्षति विवरण सङ्कलनका लागि एक साता लाग्ने अनुमान गरिएको छ ।

दुर्गम गाविस भाल्चे, साल्मे, किम्ताङ, फिकुरी, घ्याङफेदी, बेतिनी, सिक्रे, तलाखु, गाउँखर्कलगायत गाविसमा बढी क्षति पुगेको छ ।

पासाङ ल्हामु बस व्यवसायी समितिले व्यवसायीलाई सडक अवरुद्ध भएको भन्दै यातायात नचलाउन निर्देश दिएपछि व्यवसायी आफैले रु दुई सय पचासको भाडामा रु पाँच सय लिई यातायातका साधन चलाएका छन् । तर पृथ्वी राजमार्गको गल्छी हुँदै नुवाकोट आउनका लागि कुनै अवरोध भएको छैन ।

सदरमुकाम क्षेत्रमा बिजुली र पानीको अभाव भएको छ । ग्रामीण भेगमा पनि बिजुली र पानीको समस्या भएको पीडितले बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment