Comments Add Comment

इजरायली पत्रकारको अनुभव : नेपालमा बन्चरो उपयोगी

मेलानी लिडम्यान

नेपालमा अप्रिल २५ मा गएको भूकम्पको ३ दिनपछि स्तानबुलबाट काठमाण्डौका लागि उडेको विमानभित्र बहुरंगी दृश्य थियो, जसमा म पनि चढेकी थिएँ । चम्किलो हरियो टिसर्टहरु, पहेँलो हेल्मेट अनि चाँदी रँगका चम्किला धर्सा  भएको चम्किलो निलो प्यान्ट लगाएका मानिसहरु ।  डोरी, लाइट तथा ब्याण्डेजहरुले टन्न भरिएका कसिला झोलाहरु तथा अन्य सामानहरु ।
Ax-1
जहाजमा स्पेन, टर्की, अमेरिका, कोरिया, जापान लगायतका देशका अग्नीनियन्त्रकहरु थिए भने अमेरिका र नर्वेका रेडक्रसका स्वयंसेवी पनि थिए ।

हातमा विभिन्न उपकरण तथा कुटो र बन्चरो लिएका झण्डै दुइ सय मानिसहरु जोसँग विपद उद्धारमा वर्षौँसम्मको अनुभव थियो । उनीहरु समूहमा आएका थिए एकैखालका पोसाकमा, जहाज चढ्दै गर्दा आफ्ना सहकर्मीहरुसँग परिचय गर्दै थिए । जहाज चढ्नुअघि प्रतिक्षास्थलमा बस्दा हामीहरुबीच एउटा त्रसित हाँसो छायो जसले आइसब्रेकरको काम गर्यो ।

कफी सपको निकै कमसल वाइफाइ इन्टरनेटको माध्यमबाट अन्तिम पटक आफ्नो घरमा इमेल पठाउँदै थियौँ, किनकि हामी काठमाण्डौ उड्दै थियौँ र त्यहाँ के हुने हो, थाहा थिएन ।

उद्धारकर्मीहरुको त्यो भीडमा त्यहाँ म पनि थिएँ, एकजना पत्रकार । मेरो कुनै छुट्टै पोषाक थिएन, हेल्मेट थिएन, प्राथमिक औषधोपचारको झोला थिएन र चिकित्सा ज्ञान पनि थिएन । केवल एउटा झोला थियो जसमा नोटबुक, क्यामरा, कम्प्युटर तथा केही कलमका साथै ग्रानोला बार कोचेर भरेकी थिएँ ।

प्राकृतिक प्रकोपको प्रतिकार्यमा पत्रकार पनि एक अनन्य भाग हो भन्ने विश्वासमा म नेपाल गएकी गएँ । हामी पत्रकार डाक्टर तथा उद्धारकर्मीहरुको तहको मानिस होइनौँ, तथापि हामी विपद प्रतिकार्यको एउटा निश्चित तह भने हौँ ।

Ax2

इजरायलमा युद्ध तथा आतंककारी आक्रमणको अवस्थामा पत्रकारको हकमा यो धारणा सही ठहरिएको मैले बुझेकी थिएँ । समाचार संस्थाहरुले प्रकाशित गर्ने सही, सामयिक, तथा निष्पक्ष समाचार जनताका लागि महत्वपूर्ण सेवा हो, जसले विभिन्नखालका अफवाह तथा गलत सूचनाहरुसँग लड्न जुध्न सहयोग गर्दछ ।

जब विपद आउँछ, त्यस अवस्थामा हरेकले निर्वाह गर्ने आ आफ्नै जिम्मेवारी हुन्छ ।  वृहत तथा जटिल विपद प्रतिकार्यमा हरेक मानिस एउटा महत्वपूर्ण अंश बन्दछ र मेरो भूमिका पनि यस्तै हो ।

तर, नेपालमा हामी पत्रकार भने स्पष्टरुपमा समस्या सिर्जनाका एक कारक तत्व नै बन्यौँ । धेरै विदेशी सञ्चार माध्यमका पत्रकार बसेको याक एण्ड यति होटलको वातावरण एक प्रकारको प्रतिष्पर्धा र उत्तेजनाले भरिएको थियो ।

कडा युद्ध फोटोग्राफरहरुबीच खाजा खाने ठाउँमा बसेर सबैभन्दा ध्वस्त गाउँहरुका भीमकाय तस्वीरको व्यापार गर्ने प्रतिस्पर्धा भैरहेको थियो ।

इजरायलमा कतिपय लोकप्रिय समाचार साइटहरुले समेत आफ्नो नेपालको भुकम्प सम्बन्धी समाचार कभरेजमा यो कुरालाई समेट्न नजरअन्दाज गरे की काठमाण्डौका ८० प्रतिशत घरहरुमा भुकम्पबाट कुनै क्षति पुगेको छैन । नेपालको भुकम्प सुरुक्षाको सम्बन्धमा काम गर्ने एक संस्था भूकम्प प्रविधि राष्ट्रिय सञ्जालको यो तथ्यांकलाई आफ्नो समाचारमा उल्लेख गरेनन् इजरायली लोकप्रिय साइटहरुले समेत ।
AX3
इजरायली मिडियाहरुले काठमाण्डौ सहर पूर्ण रुपमा ध्वस्त भएको र सहरका मानिसहरु पनि हिंश्रक लुटपाटमा उत्रिएको भन्ने खालका समाचार प्रकाशन गरेपछि नेपालका विभिन्न ठाउँमा रहेका इजरायली पर्यटकहरुले समेत आफु काठमाण्डौ फर्किन केही दिन ढिलाइ गरेको भनेर मसँग बताएका थिए । तर, नेपालमा ९ दिने बसाइका क्रममा मैले अस्वभाविक मूल्य वृद्धिको एउटा पनि घटना भेटाइन भने लुटपाट तथा कानून वीहिनताको अवस्था पनि थिएन ।

भूकम्पले सबैभन्दा धेरै क्षति

पूराएका गाउँहरु,  जहाँ मानिसहरुले धेरै दिनदेखि खान पाएका थिएनन् उनीहरुसमेत राहतको खाद्यान्न लिन कुरेको लाइनमा शान्त तथा भद्र देखिन्थे ।

तर भूकम्पमा यस्ता समाचारले फेसबुकमा बढी क्लिक पाएनन् । न त समाचार साइटको पेज भ्यूज बढाए ।

घरको भग्नावशेषमाथि बसेर रोइरहेकी महिला जसले सोही घरभित्र आफ्ना सबै परिवार गुमाइन् तथा भग्नावशेषमा पुरिएको आफ्नो गुडिया खोतल खातल पारेर निकाल्ने प्रयास गरिरहेकी बालिकाका जस्ता तस्वीरहरु मिडियाहरुले देखाइरहे । तर, भूकम्पका कारण पनि नबिगि्रएका अधिकांश सडक, जम्मा १२ घण्टा बिजुली गएको खबर तथा सबैजसो समयमा टेलिफोन सुचारु रहेको कुरा देखाइएन ।

यद्यपि यो अवस्थाको सिर्जना केवल मिडियाहरुले मात्र गरेका भने होइनन् । राष्ट्रसंघाक अनुसार नेपालमा दर्जनौँ देशका ३ सय ३० वटा संस्थाहरु कार्यरत छन् र उनीहरुले आफ्नो देशबाट आफ्नो संस्थाका लागि थप बजेट भित्राउन प्रतिस्पर्धा गरिरहेका छन् । नेपालको अवस्था जति धेरै नाजुक तथा डरलाग्दो बन्यो ती संस्थाहरुले आफ्नो देशबाट उति धेरै बजेट पाउँछन् । त्यसैले नेपालको अवस्थाको बढाइ चढाइ गर्नका लागि सबैले मरिहत्ते गरिरहेका थिए ।

Ax4

सबै खोजी तथा उद्धार टोलीहरुले जिउमा लगाउन मिल्ने गो प्रो क्यामरा भिरेका थिए, ता कि उनीहरुले गरेका सबै कामहरु क्यामेरामा कैद होउन् । मैले यस्ता धेरै भिडियो फुटेजहरु देखेँ, जहाँ विभिन्न देशका उद्धारकर्मीहरु स्ट्रेचर तथा उद्धार गरिएका मानिसहरुलाई राख्ने बडी ब्याग समाउन मरिहत्ते गरिरहेका थिए । अनि आफुले लगाएको हेल्मेटको लोगो सञ्चारमाध्यमको क्यामेरामा देखियोस् भनेर हेलमेट सिधा पारिरहेका थिए, ता कि सो उद्धार तथा शव निकालेको काम म आफैले गरेको हुँ भनेर पछि जस लिन पाइयोस् ।

दुनियाँले अहिले यसैगरी काम गरिरहेको छ ।  निकै इमान्दारितापूर्वक वास्तवमा राम्रो काम गरिरहेका संस्थाहरु समेत यो खेल खेल्न बाध्य थिए, किनकि उनीहरुसँग अरु विकल्प थिएन ।

वास्तवमा हामी मिडियाकर्मीहरु मात्र यसका दोषी थिएनौँ । तर, हामीले आगोमा पंखाले हम्किने काम भने अवश्य गरेकै हो । नेपालमा रहँदाको मेरो पहिलो दिनमै नेपालमा रहेको इजरायली उद्धारकर्मीको समाचार सम्प्रेषणको क्रममा यो खेलमा सहभागी हुनुपर्‍यो, वास्तवमा राम्रो जानकारीको अभावमा ।

इजरायली टिम वास्तविक असल कार्यका लागि भन्दा पनि बढी मिडियामा देखाउनकै लागि त्यहाँ थियो । उनीहरुले नेपालीलाई सहयोग गर्न चाहन्थे होलान् वा गरे पनि होलान् । तर, उनीहरु प्रेसका यतिधेरै भोका थिए कि मिडियामा ठाउँ पाउने बित्तिकै उनीहरु बखान गर्नमै समय बिताउँथे र धेरै मिडिया आएपछि मात्र आफ्नो काम सुरु गर्थे । यसरी वास्तवमा म मिडियाकर्मी नै समस्याको पाटो बनेकी थिएँ ।

आफ्नो कामप्रति अरुको ध्यान तान्ने त्यो तृष्णा केवल सहायता समूहहरुमा मात्र सिमित थिएन । इजरायली विदेश मन्त्रालयको काठमाण्डौबाट इजरायली नागरिकलाई  आकस्मिक उद्धार गर्ने कार्यक्रमलाई हेरौँ । अपि्रल २८ मा भएको यो आकस्मिक उद्धारका बेला नेपालमा रहेका धेरै इजरायली पर्यटक काठमाण्डौ बाहिर नै थिए । तर, विदेश मन्त्रालयले आकस्मिक उद्धार कार्यक्रमलाई हठात् त्यही बेला गर्‍यो, जुनबेला इजरायली मिडियाले भावनात्मक पुनर्मिलनका तस्वीरहरु सार्वजनिक गरिरहन्थे ।

AX5

अवश्य पनि काठमाण्डौस्थित इजरायली दूतावासले  धेरै इजरायलीहरुलाई छिटै घर फर्काउन सफल हुनु निकै खुसीको कुरा थियो । तर, भूकम्प गएको एक हप्तापछि मात्र काठमाण्डौ आउन सकेका इजरायली पदयात्रीहरु इजरायल फर्किन चाहँदा निशुल्क हवाइ उडान पाएनन्, त्यतिबेलासम्म नेपालको भूकम्पका विषयमा समाचारहरु बासी बन्दै गएका थिए र इजरायली मिडियामा खासै महत्वपूर्ण स्थान पाउन छाडेका थिए ।

विदेश मन्त्रीले अन्तराष्ट्रिय विमानस्थल सुचारु भएको र व्यवसायिक उडानहरुमा खुल्ला सिट उपलब्ध रहेको बताए, तर विदेश मन्त्रालयले काठमाण्डौमा रहेका इजरायलीको उद्धारका लागि थप जहाज पठाउन आवश्यक ठानेन ।

खाल्डाखुल्डीयुक्त कठिन सडक हुँदै दुर्गम गाउँवस्तीमा पुगेर मैले वरिष्ठ सहायताकर्मीहरुसँग विपद राहतको नैतिक मामिलाका विषयमा घण्टौसम्म छलफल गरेँ । यस्तो संवेदनशील समयमा म जस्ता विदेशीहरु नेपालमा लामो समयसम्म बसेर मूल्यवान श्रोतको दोहन गर्नु राम्रो हो की होइन भन्ने कुरामा चेतनाबोध गराउने प्रयास गरेँ ।

जब तपाइँसँग बचेखुसेको खाना हुन्छ तब त्यो कसले पाउने भन्ने निर्णय कसरी गर्नुहुन्छ ? के तपाईले त्यो सबैभन्दा बढी चिनेजानेको मान्छेलाई दिनुहुन्छ, ता कि तपाईले समुदायका नेताबाट आफ्नो कृत्य अघि बढाइरहने आशिर्वाद मिलोस् ? के तपाईले त्यो मर्ने निश्चित भएका अन्त्यन्तै रोगी मानिसलाई दिनुहुन्छ ? अथवा त्यो स्वस्थ मानिसहरुलाई दिनुहुन्छ, ता की उनीहरु रोगी नबनुन् ? यदि तपाइँसँगै पर्याप्त खानेकुरा छैन भने कसलाई खान दिने भन्ने बारेमा कसरी निर्णय गर्न सक्नुहुन्छ ? अनि यस्तो कुराको निर्णय गर्ने जिम्मा आखिर तपाईजस्तोलाई नै किन दिनुपर्‍यो ?

एक बेलुकी खाना खाने समयमा इजरायली सहायता समूहका दुईजना डाक्टरहरु  सन् २०१३ मा फिलिपिन्सको सहायता मिसनका अनुभव तथा चिकित्सा-नैतिकताका विषयमा भोगेको द्विविधाका सम्बन्धमा यस्तै कुरा गरिरहेका थिए । वास्तवमा यी प्रश्नहरु यस्ता उद्धारका काममा खटिने जो कोहीका लागि पनि सजिला होइनन् ।

भूकम्प जस्तो विपदको अवस्थामा हरेक मानिसले पीडितलाई सहयोग गर्न चाहन्छ । सहायता समूहहरु मुटुदेखि नै सहयोग गर्न चाहन्छन्, त्यसैले उनीहरु विपद राहतमा काम गर्दछन् । तर, निकै कमजोर रुपमा कार्यान्वयन गरिने सहायता, जसमा पर्याप्त स्थानीय संजाल तथा सम्पर्क विस्तार भएको हुँदैन र कम्तिमा एक हप्ताभन्दा बढी समयसम्म रहने संस्थाहरुसँग दीर्घकालीन योजना समन्वय रहँदैन, त्यस्तो उद्धार तथा राहतको प्रयासले फाइदा भन्दा हानी बढि गर्छ ।

Ax6

मैले पनि सकेसम्म असल काम गर्न चाहेँ । म नेपालमा एक निष्पक्ष पर्यवेक्षकको रुपमा पुगेँ, तथापि त्यो कालरात्रीमा बाँचेका नेपालीहरुप्रति मनमा अगाध सहानुभूति थियो । मैले मान्छेको जीवन बचाउन सक्ने अवस्था थिइन, तर संसारमा सकारात्मक कार्यका लागि मैले चलाउने मेरो औजार भनेको कलम हो र मैले यही औजारबाट सेवा गर्न सक्छु ।

देश संकटकालबाट सामान्य अवस्थामा फर्किँदा पनि नैतिक द्विविधिा अन्त्य हुँदैन । मैले भेटेका केही नेपालीहरुले ‘विपद पर्यटन’ भन्ने शव्दावली खुबै प्रयोग गरेको पाएँ । १० लाख नेपालीलाई रोजगारी दिएको पर्यटन उद्योगलाई बचाउनका लागि विपद पर्यटनको प्रवर्द्धनको कुरा पनि उठिरहेको पाएँ । वास्तवमा विपद पर्यटनले अर्को ठूलो नैतिक प्रश्न उठाउनेछ ।

‘ए तपाइ पर्यटक ?’ मलाई एकजना इजरायली भरिया पर्यटकले सोधे, ‘तपाई यस्ता मानिसहरु मध्ये एक हो, जो उल्टोतर्फ दौडिन्छ । जब अरु सबैजना टाढातर्फ भाग्न थाल्छन्, तपाईहरु नजिकतर्फ जान थाल्नुहुन्छ ।’

हो, म सधै यस्तै छु । घटनालाई जस्ताको त्यस्तै हेर्नुपर्ने अहम आवश्यकताका साथै कुनै चिजको आविष्कार, पहिचान तथा बुझाइका साथै केही हजार मानिसहरुका लागि घटनाको यथार्थ अनुभुति गराउने संरचनावद्ध आलेख तयार पार्ने प्रयासका लागि म यस्तै हुने गर्छु । वास्तविकताको अराजकतालाई ५ सय वा त्यसभन्दा पनि कम शव्दमा क्रमवद्ध गर्ने प्रयास गर्छु ।

त्यसकारण के म नेपाल आउनु ठीक थियो ? सायद यो मैले आफैलाई वा दि टाइम्स अफ इजरायलका पाठकलाई सोध्ने कुरा होइन  । मैले नेपालीहरुलाई सोध्नुपर्थ्यो । उनीहरु व्यस्त छन्, अहिले दोश्रो भूकम्पपछि देशको पुनर्निर्माणमा जुटिरहेका छन् र विश्व अर्को त्रासदीमा प्रवेश गरेको छ ।

नैतिक द्विविधाको विषयमा मैले जे कुरा सिकेँ, के अब म अर्को विपदको खबर सम्प्रेषणमा खटिनेछु ? व्यक्तिगत तहमा विश्वले हेरिरहेको कुरालाई आफ्नै आँखा अगाडि जस्ताको त्यस्तै देख्न पाउने यो कार्य वास्तवमा लत जस्तै रहेछ । जब तपाई यसमा अभ्यस्त हुनुहुन्छ, तब त्यसलाई त्याग्न गाह्रो हुन्छ ।

इजरायल फर्केपछि मैले आफैलाई धेरैपटक सोधेँ, के मैले ठीक गरेँ ? सहायता तथा उद्धारकर्मीहरुले भरिएका जहाजहरुमा चढेर आवत जावत गर्दा म आफ्नो सिटमा चुपचाप बसेँ र आफ्नो भूमिकाका विषयमा बताउन लाज लाग्यो ।

उनीहरुले गर्ने काम भन्दा मैले गर्ने पत्रकारिता निकै महत्वहीन अनुभुति हुन्छ । मैले आफैलाई फेरि सोध्छु, के मैले राम्रो गरेको छु ? र मलाई थाहा छैन कि मैले कहिल्यै यसको उत्तर पाउनेछु । अथवा यो प्रश्नको एउटै उत्तर नहुन पनि सक्छ ।

मलाई गर्व छ की म  गएँ, मैले   देखेँ र पुनर्निर्माणको चरण सुरु गरेको नेपालले भोगेका अद्वितीय चुनौतिका साथै अन्तराष्ट्रिय सहायताका सम्बन्धमा रहेका जटिल समस्याका विषयमा मैले बुझेँ । र, मलाई आशा छ मैले यो विषयमा हाम्रा पाठकहरुका लागि केही चिज पस्किन सकेँ जसले उनीहरुलाई सूसुचित बनाउनुका साथै रचनात्मक परिणामका विषयमा जान्नेहरुका लागि घोत्लिने मौका पनि दियो ।

तर, कतिपय सहायता संस्था तथा मिडिया कभरेजले मलाई घर फर्किसकेपछि पनि  निकै नमिठो स्वाद दिलाएको छ, भुकम्पको धुलो पखालिसकेको लामो समय भैसकेपछि पनि ।
टाइम्स अफ इजरायलबाट अनुदित  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment