Comments Add Comment

सेयर बजार भूकम्पअघिकै अवस्थामा फर्कियो, अब बढ्न सक्छ

rabindra-bhattaraiरविन्द्र भट्टराई

बिनासकारी भूकम्पको त्रासदीपूर्ण अवस्थामा पनि सेयर बजारका लगानीकर्ताहरुले धैर्यता कायम गर्दै आत्मविश्वास बढाएको साताको अन्तिम दिनको कारोबारले देखाएको छ । नेप्से परिसूचक घटे पनि कारोबारका अन्य तथ्यांकहरुका आधारमा सेयर बजार भूकम्पअघिको अवस्थामा फर्किसकेको छ ।

भूकम्प जानुअघि बैशाख महिनामा ७ दिन दैनिक औषत १७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको थियो । भूकम्पपछि कारोबार भएको अन्तिम दिन बिहीबार १७ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ, जुन भूकम्पअघिको औषत कारोबारभन्दा ५० लाख रुपैयाँले बढी हो ।
त्यसैगरी, भूकम्पअघि दैनिक औषत १४ सय २१ वटा कारोबार हुँदै आएकोमा भूकम्पपछिको अन्तिम दिन १४ सय १४ वटा कारोबार भएको छ । भूकम्पअघि दैनिक औषत कारोबार सेयर संख्या ४ लाख कित्ता थियो भने यो बिहीबार ४ लाख १९ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबारका यी तथ्यांकले सेयर बजार भूकम्पअघिको अवस्थामा फर्किसकेको देखाउँछ ।

भूकम्पपछि कारोबार खुलेको पहिलो दिन अर्थात आइतबार २८, सोमबार २९, मंगलबार २०, बुधबार २२ अंकले घटेको नेप्से बिहीबार ४ अंकले बढेको छ । भूकम्पअघिको कारोबारको तुलनामा भूकम्पपछिको कारोबार भएको पहिलो साता नेप्से सूचक ९६ अंकले घटेको छ । अर्कोतर्फ यस अवधिमा कूल बजार पुँजीकरण करिब १ खर्ब रुपैयाँले घटेको छ ।

अब के होला ?
समग्रमा हेर्दा पछिल्ला दिनहरुमा बजारमा सेयरको माग बढेको देखिन्छ । साताको अन्त्यमा नेप्से सूचक बढ्नुले आगामी साता सेयर बजारमा सकरात्मक प्रभाव पर्ने अनुमान गर्न सकिन्छ । साताको अन्त्यमा देखिएको वृद्धिको अर्थ आपूर्तिभन्दा माग बढी भएको अवस्थामा नै बजार बन्द भएको जनाउँछ । यसको अर्थ त्यसको निरन्तरता अर्को साताको सुरुमा पनि कायम रहने प्राविधिक विश्लेषण गर्न सकिन्छ ।

भूकम्पपछि सेयरमा लगानी गर्न डराइरहेका लगानीकर्तालाई यो वृद्धिले सकरात्मक सन्देश प्रवाह हुने र आत्मविश्वास वृद्धिभई सेयरको थप माग हुने सम्भावना रहन्छ । नेप्से परिसूचक ८ सय ४४ अंकमा टेवा (आधार) रहेकोमा त्योभन्दा केही अंक तल आएर बजार बढ्न सुरु गरेको छ । बिहीबार बजारमा उच्च अंकको गिरावट नदेखिएको हुनाले आपूर्तिको तुलनामा माग बढेको देखिन्छ ।

विपत्तिपछि पुँजी बजारको गिरावटको समय छोटो हुने गरेको अन्तराष्ट्रिय अनुभव छ । यसलाई आधार मानेर पनि लगानीकर्ताले धेरै आत्तिनु र डराउनुभन्दा धैर्यता कायम गर्नुनै बुद्धिमत्तापूर्ण हुने देखिन्छ ।

भूकम्पपपछिको कारोबारको मूल्य विश्लेषण गर्दा कतिपय कम्पनीको सेयर मूल्य घटेर आएको न्यूनतम मूल्यभन्दा १०० रुपैयाँभन्दा बढीले बढिसकेको पनि छ । यसको अर्थ आत्तिएर बेच्नेहरुले यो नोक्सानी व्यहोरिसकेका छन् । र, धर्यता कायम राख्नेहरु यो नोक्सानबाट बचेका छन् ।

बीमा

जीवन बीमा कम्पनीहरुमा भूकम्पको खासै असर परेको देखिँदैन । तर, निर्जीवन बीमा कम्पनीहरुमा भने भूकम्पको असर बढी पर्ने देखिन्छ । १७ निर्जीवन बीमा कम्पनीहरुमा करिब २० अर्ब रुपैयाँको बराबरको भुक्तानीका लागि १२ हजार बढी दाबी परेको समाचारहरु आइरहेका छन् । जसको प्रत्यक्ष असर निर्जीवन बीमा कम्पनीहरुको नाफामा असर पर्नेछ । त्यसैले, निर्जीवन बीमा कम्पनीहरुको सेयर किन्दा सो कम्पनीको व्यवसायको आकार र दाबी भुक्तानीको अवस्थाको सही मूल्यांकन गरी नाफामा पर्नसक्ने असरलाई हेरेर मात्रै लगानी गर्नु उपयुक्त हुन्छ ।

होटल

होटलको आम्दानीको मूख्य स्रोत पर्यटक भएको र भूकम्पका कारण पर्यटन क्षेत्रमा ठूलो असर परेकोले नेप्सेमा सूचीकृत होटलहरुको सेयर मूल्यमा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ ।

जलविद्युत्

यस्तो अवस्थामा लगानीकर्ताले आफ्नो पोर्टफोलियो -लगानी सम्मिश्रण)मा भएका कम्पनीहरु र ती कम्पनीको नाफा नोक्सानमा पार्न सक्ने सम्भावित असरलाई ख्याल गरी बेच्ने निर्णय गर्नु वुद्धिमानी हुन्छ । जस्तो, नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत जलविद्युत कम्पनी कुनैमा पनि भूकम्पको प्रत्यक्ष असर परेको देखिँदैन । यसको अर्थ भूकम्पकै कारणले यी कम्पनीको नाफा घट्ने अवस्था छैन । त्यसैले यी कम्पनीका लागानीकर्ताहरुले आत्तिएर सेयर बेच्नुपर्ने कुनै कारण देखिँदैन ।

बैंकिङ

बैंकिङ क्षेत्रमा वाणिज्य बैंक समुहमा भूकम्पको असर बैंकहरुले ऋण दिँदा धितो राखेको घर र गाडीमा भएको क्षति र ऋणीको आम्दानीमा परेको असरका कारण व्याज तिर्नसक्ने क्षमताका कारण नाफा नोक्सानमा असर पर्न सक्छ ।

तर, घरजगगा कारोबारमा बैंकको ऋणको मात्रा कूल कर्जा लगानीको करिब १२ प्रतिश अर्थात १ खर्ब ७० अर्ब रुपैयाँ छ । नेपाल घरजग्गा व्यवसायी संघले राष्ट्र बैंकलाई बुझाएको प्रारम्भिक प्रतिवेदन अनुसार भूकम्पले यो क्षेत्रमा १५ अर्ब रुपैयाँ बराबरको क्षति गरेको छ । क्षति भएका आयोजनाहरुमध्ये ६० बैंकको ऋण भएको र ४० प्रतिशत व्यवसायीहरुको लगानी भएको प्रारम्भिक अनुमान छ । बैंकले धितो राखेर ऋण दिएको सम्पत्तिको बीमा गरिएको हुने भएकाले बैंकले तत्काल यस्तो ऋण वापत कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) गर्नु परेतापनि दीर्घकालमा त्यस्तो ठूलो असर व्यहोर्नु पर्ने देखिँदैन ।

त्यस्तै, भूकम्पको ठूलो प्रभाव ग्रामीण क्षेत्रमा परेको हुनाले त्यस क्षेत्रमा लगानी केन्दि्रत गरेका लघुवित्त कम्पनीहरुको नाफामा ठूलो असर पर्नसक्ने लगानीकर्ताहरुको अनुमान छ । तर, यस्तो देखिँदैन । किनभने लघुवित्तहरुले प्रदान गरेको र विपन्न वर्गा अन्तर्गतको बिना धितोको १ लाख ५० हजार रुपैयाँ र धितोको ४ लाख रुपैयाँसम्मको ऋण निक्षेप तथा कर्जा सुरक्षण निगममा बीमा गरिएको हुन्छ । र, त्यसको ७५ प्रतिशत बराबर भुक्तानी निगमले गर्ने व्यवस्था छ । यसकारण पनि यी संस्थाहरुले त्यति ठूलो नोक्सानी व्यहोर्नु पर्ने अवस्था देखिँदैन ।

सरकारले भूकम्प पीडितहरुको ५० हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने बारेमा छलफल गरिरहेको हुनाले सोही अनुसार ऋण मिनाहा भएमा लघुवित्त कम्पनीहरुलाई ऋणको जोखिम अझ कम पर्नेछ ।

अन्य समूहहरु

व्यापार, उत्पादनमूलक र अन्य समुहको कम्पनीहरुमा भूकम्पको खासै प्रभाव परेको सूचनाहरु नआएकाले यी कम्पनीहरुको नाफामा ठूलो असर पर्ने संभावना कमै देखिन्छ ।

(सेयर विश्लेषक भट्टराईसँग गरिएको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment