Comments Add Comment

मलुककै पहिलो ट्राभल एप ‘गो नेपाल होलिडे’ सार्वजनिक

Go Nepal Holidays (2)

१७ असार, काठमाडौं । नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरु समेटिएको मोबाइल एप ‘गो नेपाल होलिडे’ सार्वजनिक भएको छ । मुलुकको पर्यटन पर्वद्धन गर्ने उद्देश्यसहित विकास गरिएको यो मुलुककै पहिलो ट्राभल एप हो ।

नेपाल घुम्न आउने पर्यटकको सुविधाका लागि इन्सेन्टिभ होलिडेजले ट्राभल एप विकास गरेको जनाएको छ । विश्वभरका पर्यटकले ‘गो नेपाल होलिडे’ एपबाट नेपालका गन्तव्यहरु पहिल्याउन सक्नेछन् ।

मोबाइल एपमा नेपालका अधिकांश पर्यटकीय गन्तव्य, ट्रेकिङ रुट, होटल, प्याकेजहरु, यातायात, ट्राभल ट्रिप्स लगायत पर्यटनसँग सम्बन्धीत सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने छ । पर्यटकले एपबाटै अनलाइन बुकिङ समेत गर्न सक्ने इन्सेन्टिभ होलिडेजका अध्यक्ष हरिमान लामाले बताए ।

विनाशकारी भूकम्पका कारण पर्यटन क्षेत्रमा देखिएको संकट समधानका लागि यस्तो एप विकास गरेको लामाले बताए । ‘भूकम्पपछि नेपालको पर्यटन क्षेत्रका बारेमा अन्तर्राष्ट्रिय जगतमा नकरात्मक प्रचार भइरहेको छ’ उनले भने- ‘मोबाइल एपले मुलुकको सत्यतथ्य कुरा बाहिर लगेर पर्यटन प्रवर्द्धनमा सघाउने विश्वास लिएका छौं ।’

मोबाइल एपमा नेपाली पर्यटनको बारेमा सम्पूर्ण जानकारी राखिएको हुँदा सकरात्मक सन्देश विश्वभर फिँजिने छ । नेपाली अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको पुनरुत्थान तथा दिगो विकास गर्न ट्राभल एप विकास गरेको लामाले बताए ।

Go-Nepal-Holiday-Apps-Lunch

एपमा के छन् सुविधा ?

‘गो नेपाल होलिडे’ एन्ड्रोइड मोबाइल, आइफोन तथा आइटी ग्याजेटहरुमा डाउनलोेड गर्न सकिन्छ । एपको माध्यमबाट विश्वको जुनसुकै कुनामा रहेपनि नेपालका पर्यटकीय गन्तव्य, होटल, ट्रेकिङ रुट लगायतका बारेमा जानकारी लिन सकिने छ ।

‘गो नेपाल होलिडे’मा नेपालका विभिन्न स्थानमा रहेका ४० भन्दा बढी होटलको बारेमा जानकारी उपलब्ध छ । यो संख्या विस्तारै बढाउँदै लैजाने इन्सेन्टिभ होलिडेजका अध्यक्ष लामाले जानकारी दिए ।

यसैगरि नेपालका प्रमुख शहर तथा पर्यटकीय गन्तव्यहरुको नक्सा पनि मोबाइल एपमा राखिएको छ । एपको साहयता लिएर पर्यटक मज्जाले भ्रमण गर्न सक्छन् । मोबाइल एपमा पर्यटकीय गन्तव्यहरुका बारेमा यथेष्ट जानकारी दिने प्रयास गरिएको छ ।

अहिले एपमा उपलब्ध नभएका होटल, होम स्टेजस्ता पर्यटकीय सेवामूलक व्यवसाय तथा नयाँ गन्तव्यका बारेमा जानकारी उपलब्ध गराए त्यसलाई पनि समावेश गरिँदै लैजाने लामाको भनाई छ ।

अध्यक्ष लामाले यस्तो जानकारी उपलब्ध गराउन सरोकारवाला पक्षसँग अपिल समेत गरेका छन् । ‘पर्यटनसँग जोडिएका फलदायी सूचनाहरु एपमा निःशुल्क राखिने छ’ उनले भने- ‘आफ्नो होटल, अन्य पर्यटकीय व्यवसाय तथा गन्तव्यका बारेमा [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।’

Go-Nepal-Holiday-Apps-Lunch-2

मोबाइल एपमा आवद्ध होटल तथा अन्य सेवाहरु एपबाटै बुकिङ गर्न सकिने व्यवस्था मिलाइएको छ । त्यसको हिमालयन बैंकबाट अनलाइन पेमेन्ट गर्न सकिने छ ।

भूकम्पका कारण मुलुकको पर्यटन तथा सांस्कृतिक क्षेत्रमा ४४ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको सरकारी आंकलन छ । भूकम्पपछि सुस्ताएको पर्यटनलाई पुरानै अवस्थामा फर्काउन ठूलो प्रचार प्रसारको आवश्यकता रहेको छ ।

विश्वका करोडौं मानिसको पहुँचमा पुगिसकेको मोबाइल सेवालाई पर्यटन पर्वद्धनको उपयुक्त माध्यम बनाउन ट्राभल एप विकास गरेको कम्पनीको भनाई छ । एकपटक डाउनलोड गरेपछि सधैभरी चलाउन सकिने मोबाइल एप पर्यटन पर्वद्धनको कोशेढुंगा सावित हुने विश्वास लिइएको छ ।

प्रमोशनका लागि फोटो कन्टेष्ट

कम्पनीले ‘गो नेपाल होलिडे’ एपको पर्वद्धनका लागि फोटो कन्टेष्ट प्रतियोगिता सुरु गरेको छ । प्रतियोगितामा विश्वभरका फोटोग्राफरले नेपालका सुन्दर तथा कलात्मक तस्बीरहरु एपमा अपलोड गरेर भाग लिन सक्नेछन् ।

प्रतियोगिमध्ये साहसिक, भूदृश्य, सांस्कृतिक धरोहर, वन्य जीवजन्तु गरी चार विधाका उत्कृष्ट एक/एक जनालई पुरस्कृत गरिने लामाले जानकारी दिए । यस्तो प्रतियोगिताले एकातिर नेपालका सुन्दर गन्तव्यको प्रचार हुने, अर्कोतिर विश्वभरका मोबाइल प्रयोगकर्ताले एप डाउनलोड गर्ने अपेक्षा गरिएको छ ।

अठार वर्ष उमेर पुगेका जुनसुकै देशका नागरिक प्रतियोगितामा सहभागि हुन सक्नेछन् । प्रतियोगितामा भाग लिन ‘गो नेपाल होलिड’ एप अनिवार्य डाउनलोड गर्नुपर्ने हुन्छ ।

Go Nepal Holidays (1)

एपमा अपलोड गरिएका फोटोमध्ये विज्ञहरुबाट छनौट गरेर उत्कृष्ट सय तस्विर फेसबुक पेजमा राखिने छ । फेसबुक पेजमा प्रत्येक विधाका जुन तस्बीरले धेरै लाइक पाउने छ, त्यहि तस्बीरलाई उत्कृष्ट घोषणा गरिने छ ।

प्रतियोगितामा भाग लिन इच्छुकहरुले जुलाई ३१ तारिखभित्र तस्बीर पठाइसक्नुपर्ने छ । १६ अगष्टदेखि २५ सेप्टेम्बरसम्म ती तस्बीरहरु फेसबुक पेजमा राखेर भोटिङ खुला गरिनेछ  । २७ सेप्टेम्बर अर्थात विश्व पर्यटन दिवसका दिन विजेता घोषणा गर्ने कम्पनीले जनाएको छ ।

बिजेताहरुलाई इन्सेन्टिभ होलिडेजका तर्फबाट अन्तर्राष्ट्रिय टिकटसहित काठमाडौं, लुम्बिनी, चितवन र पोखराको टुर प्याकेज प्रदान गरिने छ ।

ई-पेपर सार्वजनिक

भूकम्पबाट प्रभावित नेपालको पर्यटन क्षेत्रको विकासको लागि यथेष्ट सूचना तथा आवश्यक जानकारीहरु अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन इन्सेन्टिभ होलिडेजले अनलाइन पेपर सुरु गरेको छ ।

www.gonepalholiday.com मा नेपालको पर्यटनका बारेमा निःशुल्क पढ्न पाइने छ । यसमा नेपाली पर्यटन क्षेत्रसँग सम्बन्धीत समसामयिक विषयहरुमाथिका लेख, रचना, रिपोर्टहरु मासिक रुपमा अद्यावधिक गरिने बताइएको छ ।

अनलाइन प्रकाशनमा नेपालका सुरक्षित गन्तव्यहरु, ट्रेकिङ रुट, ट्राभल गाइड, उत्कृट गन्तव्य, खाना, पर्यटकीय गतिविधि आदिका बारेमा यथेष्ट जानकारीहरु पाउन सकिने छ ।

यसैगरि, नेपालको धार्मिक, ऐतिहासिक, सांस्कृतिक अनि प्राकृतिक गन्तव्यहरुको विस्तृत जानकारी समेत नियमित रुमपा प्रकाशित गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment