Comments Add Comment

मासिक धर्मसित जोडिएको मेरो यक्ष प्रश्नः

राधा कोइराला

बाजुरा जुगडा गाविसको एक गाँऊमा डेढ वर्षकी छोरी लिएर छाउगोठमा सुतिरहेकी बीस बर्षीया रीता (नाम परिवर्तन) कुँवर लाई भेटें । उनी केही दिनअघि मात्र भारतको सुरतबाट माइत आएकी रहिछन् । रीताको घरपट्टकिा परिवार अछाम जिल्लाका भए पनि पतिको जन्म सुरतमै भएको रहेछ ।
chaupadi
उनी बसेको छाउगोठमा उक्लन र ढोकाबाट छिर्न दुई सिँढी चढ्नुपर्छ । तल सिंंढी र भुईमा ढुंगा छापिएको छ । कथम् कदाचित ती आमाछोरी छाउगोठबाट लडे भने सिधैं ढुंगाामा बाजारिन पुग्छन् । तर, त्यस्तो घटना कसैलाई पनि भोग्नु नपरोस् । मूलढोका भन्दा विपरीत दिशामा छाउगोठ, घरमा नै जोडेर बनाएको थियो ।

छाउ (महिनावारी) भएकी महिलाले धारा प्रयोग गर्न, बगैंचामा फलफूलका बोट छुन, आँगनमा देखापर्न, पूजा, विवाह, ब्रतबन्ध आदि शुभकार्यमा देखा पर्नु पनि निषेध छ । लुगाधुन, नुहाउन, आफुले खाएको थाल कचौरा माझ्न खोल्सा खोल्सी वा खोलातिर जानुपर्ने हुन्छ । चर्पीमा दिशापिशाब गर्न निषेध छ । यति मात्र हैन, खानपानमा पनि दही दूध, घिउ माछामासु खान हुँदैन, रुखा सुखा मात्र हो ।

मन्दिर, शुभकार्यहरुमा समाबेश हुने त कुरै छोडौं, हेर्न पनि पाइँदैन । पहिलोपटक हो भने १४ दिनसम्म र पछिपछि महिनै पिच्छे पाँच दिनसम्म यसैगरी समय बिताउनुपर्दछ । घाँस काट्न, पत्कर सोहर्न, खेतबारीमा गोडमेल गर्न, बारी खन्न, मल बोक्न भने बन्देज छैन ।

यो भयो नेापलको सूदरु पश्चिम र हिमाली कर्णाली जिल्लाहरुको मासिक धर्म भएको समयको अभ्यास । त्यस क्षेत्रमा छाउपडी उन्मूलन गर्न, सुधार गर्नका लागि सरकारी गैरसरकारी संस्थाहरु गम्भीर भएर लागिपरेका छन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु वा वैदेशिक सहायता पनि राम्रैसित सहयोग गरिरहेको पाइयो । कतिपय गाऊमा त छाउगोठ भत्काउने र निर्मूल पार्ने अभियानमा पनि समुदायहरु लागेका छन् । छाउगोठ उन्मूलनको लगातारको अभियानको कारणले केही हदसम्म गाऊँका व्यक्तिहरुलाई यो राम्रो हैन भन्ने महसुस भएको पाए । छाउगोठ कहाँ छ भनी सोध्यो भने भन्न हिच्किचाउँछन् यसलाई गाऊँको प्रतिष्ठासँग जोडेर लिएर गएको पाइन्छ । यसले पनि के संकेत गर्दछ भने व्यक्तिहरुमा छाउगोठको अभ्यास गलत हो भन्ने वातावरणले जित्दै गएको भान भयो, यो राम्रो संकेत हो ।

राधा कोइराला
राधा कोइराला

सुत्केरी हुने स्थान पनि छाउगोठ नै हो । स्वयंसेविकाले पनि कतिपय समय टाढैबाट सुत्केरी बेथा लागेको आमालाई सघाउने गरेको समाचार पनि सुन्नमा नआएको हैन । असुरक्षित सुत्केरी हुँदा आमा र नवजात शिशु त्यतिकै जोखिममा रहन्छन् । अर्कोतिर यौन हिंस्रक व्यक्तिहरुले छाउगोठमा नै बलात्कार गर्ने गरेको घट्नाहरु प्रत्येक बर्ष सुन्नमा आउँछ । कतिपय हिमाली जिल्लाहरुमा बिषालु सर्पले टोकेर छाउ महिलाहरुको मृत्यु भएका समाचारहरु पनि आइरहेका हुन्छन् । यसबाट के प्रष्ट हुन्छ भने महिलाहरुको प्राकृतिक र महत्वपूर्ण अवस्थामा पनि विभेदपूर्ण चलनहरुले गर्दा अनाहकमा ज्यान जोखिममा परिरहेको छ ।

छाउगोठसँग अर्को मुद्दा पनि जोडिएर आएको छ कि दिशामुक्त गाऊँ वा जिल्ला । छाउ भएकाले चर्पी बाहिर नै शौच गर्नुपर्ने भएकाले समस्या पर्न थालेको छ । वातावरण प्रदुषित पारिरहेको छ ।

मैले बारें, छोरीहरुले बारेनन्

म काठमाण्डौंमा जन्मिएकी हुर्किएकी हुँ । पहिलो पटक मासिक धर्म हुँदा दश पुगी एघार मात्र लागेकी थिएँ । मेरी आमा र दिदीहरुले मलाई मासिक धर्महुदा हुँदा के भयो भनी जिज्ञासा राखे । तुरुन्तै छुट्टै कोठामा बस्न दिदीसित जा, तैँले अब लोग्ने मानिसको मुख हेर्नुहुँदैन, कोठाबाट बाहिर निस्कनु हुँदैन भनी मलाई अँध्यारो कोठामा व्यवस्थापन गर्न लगाउनुभएको थियो । एघारौं दिनमा मात्र मैले सूर्यको पूजा गरेर घामको मुख हेर्न पाएकी थिएँ । किन यसो गरियो ? बाहिर गएमा, बुबा दाज्यूभाइको मुख हेरेमा के हुन्छ, किन रगत आएको ? यी प्रश्नको उत्तर भने चित्त बुझ्दो किसिमले कसैले दिएनन् । र, ममा पनि त्यो हिम्मत जुटाएर सोध्ने आँट पनि थिएन, मानौं यस्तो कुरामा जिज्ञासा राख्नु पनि अपराध हो ।

दश दिनसम्म मैले कतै चलहल गर्न नपाउने, घाम हेर्न नपाउने, बाहिर खेल्न नपाउने, बाबु, दाज्युभाइको मुख हेर्न नपाउने थियो । उकुस मुकुस हुन्थ्यो र कुद्दै बाहिर जान पाएँ हुन्थ्यो जस्तो लाग्थ्यो । हिम्मत जुटाउने आँट कहाँ ? धाराको पानी र शौचालयको प्रयोग पनि छुटै गर्नु पर्दथ्यो । तर, म बसेको कोठामा दिदी बैनी, साथीहरु आएर दिनभरि बसिदिन्थे, जसले गर्दा मलाई समय काट्न अलिकति भए पनि सजिलो भएको थियो । यसैगरी म भन्दा ठुली दिदीहरु र सानी बैनीहरुको पनि मासिक धर्मको पहिलो कर्म सम्पन्न भएको थियो ।

प्रत्येक समयमा मासिक धर्म हुँदा हाम्रो मानसपटलमा यस्तो नकारात्मक सोचहरु भरिदिएको थियो कि यो पाप हो, महिलाले उस जुनीमा पाप गरेको हुनाले यस्तो भएको हो । चारदिनसम्म छुटै बस्नुपर्दछ, आफुभन्दा ठूला र मान्यजनलाई लोग्ने मानिसलाई छुनुहुँदैन । भान्सा, पूजाकोठामा जानुहुँदैन, खाना पकाउनु अनि पानी पनि छुनु हुँदैन भन्ने जस्ता नियमहरु थिए, जुन बिना रोकटोक मान्नु पर्दथ्यो र प्रश्न गर्ने आँट कसैमा थिएन भने नियम उल्लघन गर्ने त झन् कसको आँट र ? किनकि त्यसमा पाप र धर्मको कुरा जोडिएको हुन्थ्यो । सकेसम्म मानिसलाई जानी जानी पाप गर्ने मन कहाँ हुन्थ्यो र ?

मेरा बुवाका सन्तानहरु मध्ये म तेह्रौंमा पर्दथें भने आमाकोमा छैठौं । दुई आमाहरु गरी हामी आठ दिदी बहिनी र सात दाज्युभाइ थियौं । बुबाले छोराहरुलाई बनारसमा राखेर पढाउने र छोरीहरुलाई साक्षर गराउँदै बिवाह गरिदिँदै गर्ने चलन थियो । यसैक्रममा मभन्दा अघिका दिदीहरुमध्ये जेठो, माइली र साहिँली दिदीको बिहे मोटा टुप्पी भएका अर्थात संस्कृतका धुरन्दर विद्वानहरुसित भयो । मन परोस् नपरोस्, बिबाह गर्ने उमेर होस वा नहोस् बुबाले निर्णय गरेपछि कसैको हिम्मत थिएन प्रतिकार गर्ने । मेरी जेठी दिदीको बिहे त चौध बर्षको हुँदा एक बिदुर संस्कृतका विद्वानसित बनारस तीर्थ गएको बेलामा उतै भएको हो । कसैको हिम्मत थिएन यसबारेमा सोध्ने किन यस्तो असमानतापूर्ण व्यवहार भनी । यदि आनाकानी गरेमा शंकाको दृष्टिले हेर्ने चलन थियो ।

मेरी आमा बिवाह भएर आउँदा मात्र बाह्र वर्षको हुनु हुन्थ्यो रे । विवाह गरेर आएपछि बल्लतल्ल क र ख लेख्न सिक्नु भएको थियो, यसभन्दा बढी सिक्न पाउनुभएन । त्यसैले मैले सानो हुँदा पाप र धर्म बाहेक अरु बैज्ञानिक कारण बुझ्न र मनन गर्न पाइँन । आमाले जे भन्नुहुन्थ्यो, त्यो नै सत्य थियो । हामीलाई हाम्रो शरीर विकासको बारेमा भन्ने परामर्श दिने, सही बाटो देखाउने त कोही थिएनन् । मात्र हामीलाई के भनिएको थियो भने अब धेरै केटाहरुसित एक्लै कुरा नगर्नु, राति नहिँड्नु, केटी मान्छे भएर जताततै एक्लै नजानु बदमासले दुःख दिन्छन् । आफ्नो सतमा बस्नु पर्छ, दायाँवायाँ लाग्नु हुँदैन ।

मेरो विवाह २० बर्षको उमेरमा भएको हो । लोग्नेको घरमा गएपछि पनि खासै अन्तर थिएन । म जुन घरमा गएँ, त्यहाँ पनि यताको भन्दा कम थिएन । अहिले म सन्ताउन्न वर्षकी भएँ ।

मेरा दुई छोरी र एक छोरा छन् । मैले जब आफुले मासिक धर्मबारेमा राम्ररी बुझ्न थालें त्यसपछि मेरा साथै मेरी छोरीहरुको पनि घेरा तोडें । यस काममा मेरा पतिले पनि धेरै सहयोग गरेका हुन् र हौसला बढाउनेमा उनको पनि हात छ । तर, बाहिर जसको घरमा जाँदा पनि माहिनावारी बारेको देख्दा मेरा छोरीहरु मलाई प्रश्न गरिरहन्थे । कहिलेकाँही म आफन्तबाट बहिस्कारमा पनि परेकी छु महिनाबारी नबार्नेमा ।

प्रत्येक महिलाहरुको मन मष्तिष्कमा यसरी भरिएको छ कि यदि नियम उलंघन गरेमा घरमा अशुभ हुन्छ, कोही बाहिर टाढा जाँदै छ भने देखा पर्नुहुँदैन, साइत पर्दैन, घरका सदस्य बिरामी पर्छन्, गाई बस्तु बिरामी हुन्छन्, फलफूलको बोट मर्छ, फल लागेको छ भने कुहिएर र्झछ आदि भ्रमहरु फैल्याएको छ । कहिलेकाँही संजोग परेपछि त के चाहियो र ? यो त सत्य रहेछ भन्ने भान परिहाल्छ ।

अधिकांश महिलाहरुमा मैले नियम उल्लंघन गर्दा संकट आईपर्छ भने किन अवज्ञा गर्नु भन्ने ले प्रेरित गर्दछ । पढेलेखेको होस् वा नहोस्, रेखा तोड्न अन्कनाउँछन् । हिम्मत गर्न निकै सोच्नुपर्दछ कथमकदाचित केही भैदिएमा फेरि उनलाई टिप्पा खेलाउँछन्, जसको डर मान्नै पर्‍यो । यी कारणहरुले पनि यस्ता कुरुतीहरुलाई निमिट्यान्न पार्न सकिएको छैन ।

मधेसको राम्रो चलन

मैले आधाभन्दा बढी जीवन मधेसमा बिताएँ । तर, मधेसमूलका महिलाहरुले कहिले पनि मासिक धर्म भएको समयमा बस्ने छुट्टै स्थानमा बस्ने चलन कसैको घरमा पनि पाइँन, आखिर उनीहरु पनि त हिन्दु धर्म मान्ने समुदाय नै हुन नि ।
आ-आफ्नो भौगोलिक परिबेश, जातजातिहरु र व्याख्याको आधारमा नियमहरु बनेका छन् वा बनाइएको छ, जसलाई निशर्त पालना गर्ने र यसमा प्रश्न उठाउन नपाउने कारणहरुले गर्दा पनि यसखालका परम्पराहरु चलिरहेका हुन् ।

देशका सपुत कर्णधारहरु जन्माउने आमाहरुमा यति धेरै विभेदहरु गरिन्छन् भने असल नागरिक कसरी देशले पाउन सक्ला ?

गाऊँघरमा मासिक धर्मको समयमा प्रयोग गरिएका कपडाहरु राम्रोसित सफा नगरी नदेख्ने स्थानमा वा फोहोर, गोबर मल भएको स्थानमा सुकाउने चलन छ । जसलेगर्दा कतिपय अवस्थामा धनुष्टंकार हुन सक्ने र अन्य रोगहरुले पनि आक्रमण गर्ने जोखिम पनि त्यतिकै रहन्छ । महिलाहरुले पनि धर्मसँग जोडिएको हुनाले यसको प्रतिवाद चाहेर पनि गर्न सकेका थिएनन् । अहिले महिलाहरु पनि आर्थिक विकासको क्षेत्रमा काम गर्न थालेपछि एकल परिवार, शहरको बसोबास र व्यस्त जनजीवनका कारणहरुले गर्दा विगतका अभ्यासहरुमा धेरै सुधार आएको देखिन्छ ।

नेवार, राई लिम्बू, गुरुङ्ग, मगर समुदायहरुमा पनि मासिक धर्म मान्ने चलन छ । यस्तो अवस्थामा मात्र खान पकाउन, देउताको पूजा गर्न, मन्दिर जान पाइँदैन । तर, अरु कुरामा खास बन्देज छैन ।

शहरी क्षेत्र र ग्रामीण क्षेत्रमा फरक हुनुको मुख्य कारण ग्रामीण क्षेत्रमा जस्तो प्रशस्तै स्थानहरु नहुने, डेरामा बस्दाको साँघुरो घेराले गर्दा पनि यसमा केही परिमार्जन भएको पाइन्छ । तर, फेरि त्यही व्यक्ति गाउँमा जाने हो भने फेरि उस्तै हो । यसरी केही मात्रामा महिनावारी बार्ने चलनमा सुधार आएको भएता पनि अधिकांश महिलाहरुले चटक्कै छोड्न भने सकेको पाइँदैन ।

के हो महिनावारी ?

स्वास्थ्यको दृष्टिकोणले विश्लेषण गर्ने हो भने यस समयमा शरीरमा हुने हार्मोनको परिवर्तन अनि उतारचढाव हुनुको साथै शरीरबाट रक्तस्राव हुने कारणले गर्दा विशेष खानपान र आरामको आवश्यकता पर्दछ । रक्तस्राब हुने हुनाले पनि सरफाई र खानपानमा विशेष ध्यान दिनु जरुरी छ । स्वस्थ्य, स्वच्छ र शान्त स्थानमा आराम गर्नु र हल्का काम मात्र गर्नु यो अबस्थामा जरुरी छ । स्वस्थ्यवर्धक पौष्टिक खानाहरुको साथै झोल पदार्थ ख्ाानु पनि त्यतिकै आवश्यक पर्दछ शरीरलाई स्वस्थ्य राख्नका लागि । मासिक धर्म नितान्त सन्तान उत्पादनसँग सम्बन्धित छ ।

यदि महिलाहरुमा मासिक धर्म नियमित भएन वा समस्या उत्पन्न भएमा बच्चादानीमा बच्चा आउन सक्दैन । त्यसैले यो एउटा प्राकृतिक अनिवार्य नियम हो ।

यो कुनै पाप वा धर्मसँग जोडिएको कुरा हैन । सामाजिक नियम कानुन बनाउनेहरुमा राम्ररी चेतना भया ।

नौमहिना गर्भमा राखेर बच्चा जन्माउने काम महिलाले नै हो र एक न एक दिन सबै महिला आमा भएका नै हुन्छन् । छोरी होस् वा छोरा सबैलाई पाउँदाको पीडा एकै हो । देशका सपुत कर्णधारहरु जन्माउने आमाहरुमा यति धेरै विभेदहरु गरिन्छन् भने असल नागरिक कसरी देशले पाउन सक्ला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment