Comments Add Comment

साउन १५ भित्र संविधान जारी गर्ने सभाध्यक्षको प्रस्ताव

Subash-Nembang

१९ असार, काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले साउन १५ भित्र नयाँ संविधान जारी गर्न प्रस्ताव गरेका छन् । संविधानसभामा अहिले संविधानको प्रारम्भिक मस्यौदामाथि छलफल भइरहेको छ र दलहरूको परामर्शमा संविधान सचिवालयले कार्यतालिका बनाउँदैछ ।

मस्यौदामा ‘जनताको प्रतिक्रियाका लागि नेपाल राजपत्रमा प्रकाशन गरियोस्’भन्ने प्रस्तावमा छलफल सकिएलगत्तै सभासद्सहितको टोली जनतामा मस्यौदा लिएर जानेछ । प्रस्तावमा मस्यौदामाथिको छलफलका लागि करिब चार सय सभासद्ले नाम टिपाएका छन् । जसका कारण जनतामा जाने मिति तत्काल तोकिने स्थिति छैन ।

१६ बुँदे सहमतिपछि नेताहरूले असारभित्र नयाँ संविधान जारी गर्ने बताए पनि असम्भव देखिएपछि अब साउन १५ भित्र संविधान ल्याउने अनौपचारिक तयारी भएको छ ।

जनतामा पुग्दा कम्तिमा हरेक निर्वाचन क्षेत्रस्तरमा सभासद् पुग्ने र राय/सुझाव लिने तथा जनताले सिधै पनि आफ्ना सुझाव संविधानसभामा पठाउन सक्ने र त्यसलाई छोटो बाटो (फाष्ट ट्रयाक) बाट एकीकृत प्रतिवेदनसहित संविधानसभामा पेस गर्ने तयारी भएको छ ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले जनतामा जाने समयसीमा र त्यसपछिका कार्ययोजनासम्बन्धी आवश्यक समझदारी जुटाउन नेतालाई आग्रह गरिसकेको बताए । उनले भने-‘मैले साउन १५ गतेभित्र संविधान जारी गर्ने गरी तयारीमा जान राय दिएको छु, दलका नेता र सभासद्ले कसरी टुंगो गर्नुहुन्छ, त्यहीअनुसार संविधानसभा अघि बढ्छ ।’

एकदेखि दुई सातासम्म जनतामा जाने समय दिने विषयमा छलफल भइरहेको नेपाली काँग्रेसका सभासद् डा प्रकाशशरण महतले जानकारी दिए ।

जनतामा जानुपूर्व संविधानको मस्यौदा राजपत्रमा प्रकाशनका साथै मस्यौदालाई पुस्तिकाकारुपमा करिब एक लाख प्रति मुद्रण गरिनेछ । जनताबाट प्राप्त सुझावसहितको प्रतिवेदन समितिले सभामा पेस गर्ने, सभाले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई एकीकृत गर्न समय दिने र सो प्राप्त भएपछि पुनः मस्यौदा समितिमा पठाइनेछ । मस्यौदा समितिबाट प्राप्त अन्तिम मस्यौदामा सभामा दफावार छलफल भइ पारित भएपछि राष्ट्रपतिबाट नयाँ संविधान जारी हुनेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment