Comments Add Comment

लतासा प्रकरणभित्र पस्दा…

चिरञ्जीवी पौडेल
नेपाली सेनाका एक मेजरकी श्रीमतीको रहस्यमय मृत्युको सूचना गत शुक्रबार बेलुकी सहकर्मी श्रीधर पौडेलले अफिसमा ल्याए । आमा शारदा क्षेत्रीलाई फोन गरी उनैको भनाइका आधारमा सानो समाचार पोस्ट गरियो । त्यो सानो समाचार भोलिपल्टसम्म ठूलो भएर फैलिसकेको थियो ।

चिरञ्जीवी पौडेल
चिरञ्जीवी पौडेल

झट्ट सुन्दा नै यो घटना रहस्यमय प्रतीत हुन्थ्यो । माइती पक्षले लतासाको हत्या भएको आशंका गरेका थिए । आमा शारदाले खुलेरै आफ्ना मेजर ज्वाइँप्रति शंकाको सुई तेस्र्याएकी थिइन् । परिवारका व्यक्तिहरु मिडियाको सम्पर्कमा आएका थिएनन् । मेजर विष्णु कार्कीको मोबाइल निरन्तर स्वीच्ड अफ थियो । उनीहरुले प्रहरीलाई लतासाको छतबाट खसेर मृत्यु भएको बयान दिएका थिए ।

मैले यो घटनामा पस्ने निधो गरेँ । भोलिपल्टको मिटिङमा सल्लाह भयो । यो घटना महिला हिंसासित जोडिएको हुन सक्ने र मेजर कार्की यस प्रकरणका खलनायक हुनसक्ने हाम्रो सामुहिक आशंका थियो । त्यसैले सुरुमा लतासाकी आमा शारदासित भेटेर विस्तृत कुराकानी गर्नु उपयुक्त हुने ठानियो ।

मैले सारदालाई फोन गरी भेट्न आग्रह गरेँ । उनले महाराजगञ्ज प्रहरी चौकीमा बोलाइन् । दिउँसो ११ बजे त्यहाँ पुग्दा ठूलै समूह जम्मा भएको थियो । अधिकांश युवायुवती थिए । लतासा पढ्ने क्याम्पसका साथीहरु रहेछन् । सबैले हातमा प्लेकार्ड बोकेका थिए, जसमा मेजर कार्कीको फोटोसहित उनलाई हत्याराको रुपमा चिचित्र गरिएको थियो ।

प्रहरी चौकीभित्र लतासाका बुवा र आमासित भेट भयो । आमा कुरा गर्न तयार भइन् । उनले घटनामा मूलतः तीनवटा आशंका उठाइन् । १. लतासाले हाम्फालेको भनेको ठाउँमा किन रगतको एक थोपा छैन २. हस्पिटलमा बुवाआमा नआइकन किन लास जिम्मा लगाइयो र ३. छोरीको मृत्यु भएको बारे मेजर ज्वाइँले किन आफैं फोन गरेर भनेनन् ?

सारदाको आवाजमा पीडाभन्दा आक्रोशको मात्रा ठूलो थियो । उनले लतासालाई उद्वृत गर्दै विष्णु आफ्नी श्रीमतीप्रति अति शंकालु रहेको सुनाइन् । श्रीमतीलाई बिना आधार ‘त्यो हदसम्म शंका गर्ने’ श्रीमानप्रति मनमनै खेद प्रकट गरेँ । लतासाकी सासूको व्यवहारप्रति पनि उनले गुनासो गरिन् ।

लतासाकी आमासित कुरा गरेपछि यो घटना हत्या वा आत्महत्या मध्ये एउटा हो भन्नेमा म लगभग ढुक्क भएँ । यदि आत्महत्या नै हो भने पनि लतासाका श्रीमान र आमा धेरै हदसम्म यसमा जिम्मेवार छन् भन्ने लाग्यो । सारदाको भनाइ अनलाइनखबरमा जस्ताको तस्तै पोष्ट गरियो । स्वभाविक रुपमा लतासाप्रति सहानुभूति तथा मेजर उनको परिवारप्रति आक्रोशहरु सामाजिक सञ्जालमा छरपष्ट भए ।

मलाई भने घटनाको अर्को पक्षको भनाइ ल्याउन नसकेको चिन्ता बढ्दै गयो । किनकि अहिलेसम्म प्रकाशित सामग्री प्राविधिकरुपमा एकपक्षीय नै थिए । त्यसैले सिक्काको अर्को पाटो खोतल्न आइतबार फोटोपत्रकार श्रीधर र म टोखातिर हिड्यौं, मेजर कार्कीको घर खोज्दै ।

latasha chhetriघर पत्ता लगाउन खासै समस्या भएन । यद्यपि त्यहाँको माहोल हामीले सोचेभन्दा फरक थियो । मेजर शोकाकुल मुद्रामा थिए । उनकी आमा सीता कार्की अझै भावविह्वल थिइन् । छिमेकी र आफन्तहरुले उनीहरुलाई घेरेर सान्त्वना दिइरहेका थिए । आमा सीता हामीसित कुरा गर्ने क्रममा बुहारीलाई सम्झेर धेरैपटक भक्कानिइन् । आफूहरुमाथि हत्याको आरोप लगाउने बुहारीका माइतीलाई पनि एक शब्द केही भनिनन् ।

मेजर कार्कीले भने मिडियासित कुरा गर्न सेनाको हेडक्वार्टरको अनुमति लिनुपर्ने बताए । ‘मलाई पनि मिडियामा केही बोल्नैपर्छ भन्ने लागेको छ, म जसरी पनि अनुमति लिन्छु’ उनले भने । उनले अनुमति लिएर दिउँसो तीन बजे फेरि भेट्ने गरी हामी छुट्टयिौं । त्यतिञ्जेल हामी घटनाका प्रत्यक्षदर्शीको खोजीमा लाग्यौं ।

सामुन्नेको घरकी निनी भनिने एक महिलाले लतसा खसेको प्रत्यक्ष देखेकी रहिछन् । हामी निनीको घरमा पस्यौंं ।
‘अहँ म त अब केही पनि बोल्दिन,’ भर्‍याङमा उभिएरै उनले भनिन् ।
‘किन ?’
‘हैन, मैले सबै कुरा पुलिसलाई भनिसकेँ । अरु केही छैन ।’
‘हामीलाई पनि भनिदिनुस न । सत्य कुरा जतिचोटि बोल्दा पनि के फरक पर्छ र ?’
‘मलाई (माइती पक्षकाले) फोन गरेर अनेकथोक भनिरहेका छन् । पैसा खाइस् भन्छन् । बेकारमा बोलेर के फाइदा ?’
उनले निकैबेर यसरी आनाकानी गरिन् । त्यसपछि श्रीधरले सोधे, ‘तपाईंले (लतासालाई छतमा) देख्नुभएको हो र ?
‘हो त । म बार्दलीमा बाबु खेलाइरहेकी थिएँ । अचानक लतासा भाउजूलाई छतको स्लोपमा देखे….’
त्यसपछि उनले एकै सासमा सबै वर्णन गरिन् । हामीले केही सोध्नै परेन । निनीले ठोकुवा नै गरिन्, ‘चिप्लेर खसेको हो, हाम्फालेको त हुँदै होइन ।’

त्यसपछि हामी विष्णुको घरको छतमा उक्लियौं । घरको स्लोपबाट लतासा खसेको स्थान लगभग सिधा थियो । सोझै तल खस्नुको अर्थ उनी फाल हानेकी होइनन् भन्ने निनीको दाबी थियो ।

तीन बजे हामीले फेरि मेजर विष्णुलाई भेट्यौं । तर, उनले सैनिक हेडक्वार्टरबाट बोल्ने अनुमति नपाएको भन्दै असमर्थता व्यक्त गरे । ‘यो केसमा पुलिसले अनुसन्धान गरिरहेकाले अहिले तपाईं नबोल्नुस’ उनले सेनाका हाकिमलाई उद्वृत गर्दै भने । अनौपचारिक रुपमा भने उनले केही कुराकानी गरे ।

यो घटनाको रिपोर्टिङ गर्ने क्रममा मैले लतासाको माइतीतर्फ उनकी आमा, बहिनी, भाइ, साथीहरुसित सबैसित कुरा गरेँ । त्यस्तै घरतर्फ विष्णुकी आमा, दाजु, आफन्तहरु, छिमेकीहरु थुप्रैसित कुरा गरेँ । त्यसपछि प्रहरी र टिचिङका डाक्टरसित (अनौपचारिकरुपमा) कुरा गरी स्टोरी तयार पारेँ ।

अपराधीले सजायँ पाउनुपर्छ भन्ने कुरा जति महत्वपूर्ण छ, निर्दोषले सजायँ पाउनुहुन्न भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण छैन ?

के छतबाट चिप्लेरै खसेकी हुन् त लतासा ? मैले राखेको शीर्षकलाई सम्पादकले के हटाएर अनुमोदन गर्नुभयो । समाचार पोष्ट गरिएको दोस्रो दिनमा करिब ५० हजार सेयर भएको छ । यद्यपि फेसबुकमा आएका टिप्पणीहरु हेर्दा समाचार ‘अलोकप्रिय’ भएको देखिन्छ । टिप्पणीहरु मुख्य दुईखालका देखेँ । पहिलो, अनलाइनखबर/लेखकले पैसा खाएको आरोप । यो आफैंमा सबैभन्दा चल्तीको मिथ्या आरोप हो । जब कुनै समाचार मन पर्दैन, ‘पैसा खाएर लेख्यो’ भन्नु सबैभन्दा सुविधाजनक हुँदोरहेछ । पैसा खाएको पुष्टि गर्नुपर्ने चुनौति आखिर कसलाई छ ?

दोस्रो, अनलाइनखबरले प्रहरी वा न्यायाधीसको काम गर्न खोज्यो भन्ने छ । यसमा प्रष्ट पार्नु जरुरी देख्छु । पत्रकार न्यायाधीश होइन । प्रहरी झन होइन । लतासाका बारेमा अनलाइनखबरमा प्रकाशित सामग्री न कुनै फैसला थियो, न अनुसन्धान प्रतिवेदन । यो केवल समाचार थियो, जसमा कुनै ठहर-ठोकुवा थिएन । केवल प्रश्न उठाइएको थियो, आशंका व्यक्त गरिएको थियो । हत्याको आशंका गर्न पाइन्छ, आत्महत्याको आशंका गर्न पाइन्छ भने दुर्घटनाको आशंका गर्न पाइन्न ? त्यो पनि प्रशस्त आधारसहित ?

यसमा मननीय के छ भने मेजरले हत्या नगरेको पुष्टि भयो भने पनि उनी पूरै ओभानो हुन सक्दैनन् । उनले श्रीमतीमाथी शारीरिक यातना दिएको देखिँदैन (यद्यपि अनिमाले लतासालाई उद्वृत गर्दै एकपटक चुरोटको ठूटोले पोलिदिएको बताएकी छिन्) तर मानसिक रुपले प्रताडित गर्दै आएको आरोप लगाएका छन् । यसको जवाफ मेजरले दिनैपर्ने छ ।

एउटी बुहारी सामान्य तनाव वा रिसको झोकमा आएर मात्र छतको डिलमा गएर बस्न सक्दिन । महिलाले आफ्नो श्रीमानसितको असन्तुष्टी साथीहरुसित सजिलै सेयर गर्दैनन् । ठूलै समस्या पैदा भएपछि मात्र यो अवस्था आउँछ ।

आखिर के चलिरहेको थियो उनीहरु दुई बीच, त्यसको जवाफ अरुले होइन, मेजरले नै दिनुपर्छ । अर्कोतर्फ लतासाका परिवार पनि संयमित हुनु आवश्यक छ । उनीहरु भीडबाट घेरिएका छन् । भीडले उनीहरुलाई जता पनि पुर्‍याउन सक्छ । किनकि अरुको भाँडभैलोमा रमाउने व्यक्तिहरु समाजमा धेरै हुन्छन् ।

यस घटनाको पटाक्षेप अन्ततः प्रहरीले नै गर्नेछ । प्रहरी अनुसन्धानबाट हामीले गरेको आशंका सत्य सावित हुन सक्छ । अथवा, नहुन पनि सक्छ । सत्य सावित भयो भने पक्कै पनि हामी विजयजुलुस निकाल्दैनौं । असत्य सावित भयो भने नेपालबन्द आह्वान गर्दैनौं । हाम्रो रुची यत्ति हो, कि घटनाको सत्यतथ्य बाहिर आउनुपर्छ । अपराधीले सजायँ पाउनुपर्छ भन्ने कुरा जति महत्वपूर्ण छ, निर्दोषले सजायँ पाउनुहुन्न भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण छैन ? हामीले यो घटनामा लतासा र विष्णु दुबै परिवारका भनाइ एवं दाबीहरुमात्रै पाठक समक्ष पस्केका हौं । तर, मलाई थाहा छ, यसमा पनि पर्याप्त गालीहरु आउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment