Comments Add Comment

अब्दुल कलामः जसले ३ लाख ५२ हजारको बिल तिरे !

सोमबार राति निधन भएका भारतका पूर्वराष्ट्रपति डा. एपीजे अब्दुल कलाम वैज्ञानिक एवं सरल जीवनशैलीका लागि प्रख्यात छन् । उनी युवावस्थामा एयरफोर्समा भर्ती हुन चाहन्थे । तर, उनको यो इच्छा पूरा हुन सकेन । र, उनी वैज्ञानिक हुँदै भारतको राष्ट्रपति पदसम्म पुगे ।
Abdul-kalam
सन् १९९९ मा कलामलाई भारत सरकारको प्रमुख वैज्ञानिक सल्लाहकार बनाइएको थियो । सन् २००१ मा सो पद छाडेपछि उनले अन्ना विश्वविद्यालयमा प्रोफेसरका रुपमा काम गरे ।

सन् २००२ को २५ जुलाईमा उनी भारतको ११ औं राष्ट्रपति बने । कलाम २५ जुलाई २००७ सम्म सो पदमा रहेका थिए ।

कलामको राष्ट्रपति कार्यकालका केही प्रेरणादायी प्रसंग यस्ता छन् :

मुसर्रफसित ३० मिनेट
सन् २००५ मा तत्कालीन पाकिस्तानी राष्ट्रपति परवेज मुसर्रफ भारत भ्रमणमा आउँदा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहका साथै राष्ट्रपति अब्दुल कलामसित पनि भेटेका थिए । बीबीसी हिन्दीमा रेहान फजलका अनुसार भेटघाटको अघिल्लो दिन कलामका सचिव पीके नायर बिफ्रिङका लागि उनीकहाँ पुगे ।

नायरले भने, ‘सर, भोलि मुसर्रफ तपाईंसित भेट्न आउँदै हुनुहुन्छ ।’
कलामले जवाफ दिए, ‘हो मलाई थाहा छ ।’

नायरले भने, ‘उनले पक्कै पनि कश्मिरको मुद्दा उठाउने छन् । तपाईं यसका लागि तयार हुनुपर्छ ।’
कलामले भने, ‘चिन्ता नगर, म सम्हाल्छु ।’

अर्को दिन बिहान साढे सात बजे मुसर्रफ राष्ट्रपति भवनमा पुगे । कलामले उनको स्वागत गरे । उनको कुर्सीसम्म गए र छेउमै बसे । भेटघाट ३० मिनेटको भनिएको थियो । कलामले बोल्न थाले, ‘राष्ट्रपतिज्यू, भारतमा जस्तै तपाईंको देशमा पनि ग्रामीण क्षेत्रहरु छन् होला । तपाईंलाई त्यस्ता क्षेत्रको विकासमा केही गरौं जस्तो लाग्दैन ?’

मुसर्रफले हो, हो भने । त्यसपछि कलामले ग्रामीण क्षेत्रको विकासका सम्वन्धमा आफ्नो सिद्धान्त पूरा (प्रोभाइडिङ अर्बन फेसिलिटिज टु रुरल एरियाज) को विषयमा मुसर्रफलाई प्रवचन दिन थाले । भेटघाटका लागि जम्मा ३० मिनेट छुट्याइएको थियो । २६ मिनेट कलाम एक्लै बोले ।

त्यसपछि मुसर्रफले भने, ‘धन्यवाद राष्ट्रपतिज्यू । तपाईंजस्तो वैज्ञानिक राष्ट्रपति पाउने भारत भाग्यमानी छ । भेटघाट यत्तिमै सकियो ।

त्यसपछि नायरले आफ्नो डायरीमा लेखे, ‘कलामले आज देखाउनुभयो कि वैज्ञानिक पनि कुटनीतिक हुन सक्छन् ।

तीन लाख ५२ हजार रुपैयाँ
सन् २००६ को मे महिनामा कलामको सारा परिवार उनीसित भेट्न दिल्ली पुगेको थियो । सबै गरी ५२ जना थिए । त्यसमा उनका ९० वर्षीय दाजुदेखि डेढ वर्षीया पनातिनीसम्म थिए ।

उनीहरु आठ दिनसम्म राष्ट्रपति भवनमै बसे । कलामले आफ्नो परिवार राष्ट्रपति भवनमा बस्दाखेरिको भाडा आफ्नो खल्तीबाट दिए । यति मात्रै होइन, प्रत्येक दिन खाएको चियाकोसम्म हिसाब गरे । उनीहरु सबैजना गएपछि कलामले आफ्नो खाताबाट ३ लाख ५२ हजार रुपैयाँको चेक काटेर राष्ट्रपति कार्यालयमा पठाए । उनी राष्ट्रपति हुँदासम्म यो कुरा बाहिर आएन ।

वर्षातले पनि साथ दियो
राष्ट्रपति कलाम भारतका सबैभन्दा सक्रिय राष्ट्रपति मानिन्थे । आफ्नो कार्यकालमा उनले १७२ वटा भ्रमण गरेका थिए । यीमध्ये विदेश भ्रमणको संख्या भने केवल ७ मात्र थियो ।

भारतको स्वतन्त्रता दिवसका अवसरमा सन् २००३ को १५ अगष्टमा कलामले राष्ट्रपति भवनमा अघिल्ला वर्षहरुमा जस्तै चियापान कार्यक्रम आयोजना गरेका थिए । त्यसमा करिब तीन हजारलाई आमन्त्रण गरिएको थियो ।

त्यस दिन बिहान आठ बजेदेखि नै मुसलधारे वर्षा भयो । राष्ट्रपति कार्यालयका कर्मचारीहरु अब तीन हजार मान्छेलाई कहाँ राख्ने भनेर छट्पटीमा परे । उनीहरुले दौडधुप गर्दै दुई हजारवटा छाताको व्यवस्था गरे ।

दिउँसो १२ बजे राष्ट्रपतिका सचिव भेट्न आउँदा कलामले भने, ‘क्या गजबको दिन भयो, चिसो हावा चलिरहेको छ ।’
सचिवले भने, ‘तपाईंले तीन हजार मानिसलाई बोलाउनुभएको छ, यस्तो मौसममा उनीहरुलाई कसरी स्वागत गर्न सकिन्छ ?’

क्लामले भने, ‘चिन्ता नगर्नुस् । राष्ट्रपति भवनभित्रै हामी उनीहरुलाई चिया खुवाउने छाैं ।’

सचिवले सात सयभन्दा बढी मानिसलाई भित्र राख्न नसकिने बताए । दुई हजार छाताको व्यवस्था गरिएको भए पनि नपुग्ने उनले जानकारी दिए । कलामले भने, ‘हामी के गर्न सक्छौं र । वर्षा जारी रह्यो भने के चैं होला र । हामी भिज्ने न हौं ।’

नायरलाई झनै चिन्तित देखेर कलामले भने, ‘तपाईं चिन्ता नगर्नुुस् । मैले माथि कुरा मिलाएको छु ।’ त्यतिबेला दिउँसो १२ बजेर ३८ मिनेट गएको थियो । आश्चर्यजनक रुपमा दिउँसो ठीक दुई बजे वर्षात रोकियो । सूर्य देखियो । बेलुका साढे पाँच बजे चियापान सहजरुपमा सुरु भयो । करिब दुई घण्टामा सकियो ।

चियापान सकेर जब कलाम राष्ट्रपति भवनको छतमुनि पुगे, फेरि झमझम पानी पर्न थाल्यो ।

कलामका केही चर्चित भनाइ
–     तपाईंको सपना साकार हुनका लागि पहिले तपाईंले सपना देख्नुपर्छ ।

–     श्रेष्ठता एउटा प्रक्रिया हो, कुनै घटना होइन ।

–     समस्या मानिसको जीवनमा जरुरी छ, किनकि समस्याबिना सफलताको आनन्द लिन सकिँदैन ।

–     यदि देशलाई भ्रष्टाचारमुक्त बनाउने हो भने समाजका तीन सदस्यको यसमा अति महत्वपूर्ण भूमिका हुनेछ । यी तीन सदस्य हुन्, आमा, बुबा र शिक्षक ।

–     सरलता र परिश्रम नै सफलताको एक मात्र मार्ग हो ।

–     सबै प्रकारका समस्या निवारण गर्ने तथा सबै प्रकारका घाउहरु बिसेक पार्ने चिकित्सकहरु समय, धैर्य र प्रकृति हुन् ।

कलामको निधनपछि केही भारतीय ट्वीट

अरुण जेटली
उहाँ देशवासीका लागि प्रेरणास्रोत तथा सबैको रोल मोडल हुनुहुन्थ्यो । उहाँले एक वैज्ञानिक र एक राष्ट्रपतिको रुपमा योगदान दिनुभयो ।

नितिन गडकरीः
उहाँको व्यक्तित्व नै फरक थियो । उहाँको आत्माको शान्तिका लागि भगवानसित प्रार्थन गर्दछु ।
 
राहुल गान्धिः
डा. कलामको निधनले असाध्य दुखित छु । उहाँले देशवासीको मनमा राज गर्नुभएको थियो ।

राजनाथ सिंहः
डा. कलाम एक बेदाग चरित्र तथा मजबुत इच्छाशक्ति भएको मानिस हुनुहुन्थ्यो । उहाँसँग ज्ञानको भण्डार नै थियो ।

सचिन तेन्दुलकरः
सबैलाई प्रेरणा दिने एक महान व्यक्ति र वैज्ञानिकको निधनले सारा देश दुखी छ ।

लता मंगेशकरः
म उहाँलाई निकै नजिकबाट चिन्थेँ । उहाँ एकदम ठूलो वैज्ञानिक, असल मानिस र राम्रो कवि पनि हुनुहुन्थ्यो ।

स्मृति इरानीः
उहाँ यस्तो व्यक्ति हुनुहुन्थ्यो, जसले मानिसहरुलाई प्रेरणा दिनुभयो र भारतको गौरव बढाउनुभयो ।

लालु यादवः
डा. कलामले लगातार देशलाई मार्गदर्शन गर्नुभयो । कृषि तथा विज्ञानको क्षेत्रमा उहाँको ठूलो योगदान छ ।

चेतन भगतः
भारतले एउटा नायक गुमाएको छ । तपाईंले हामीलाई सधैं प्रेरणा दिइरहनु हुनेछ ।

अरविन्द केजरीवालः

भारतले एउटा साँचो भारतरत्न गुमाएको छ ।

भारतीय सञ्चार माध्यमको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment