Comments Add Comment

दस जिल्लाका दुई हजार युवालाई पुनर्निर्माण तालिम

१४ साउन, काठमाडौंँ । घरेलु तथा साना उद्योग विकास समितिले भूकम्पप्रभावित १० जिल्लामा दुई हजार युवा जनशक्तिलाई पुनःनिर्माणसम्बन्धी तालिम दिने भएको छ ।

Nirman-Project

भूकम्पलगायत अन्य विपद् परेका समयमा ग्रामीण क्षेत्रमा पुनःनिर्माण र उद्धारमा खटिँदा आवश्यक पर्ने सिकर्मी, डकर्मी, हाउस वाइरिङ, प्लम्बिङ जस्ता प्राविधिक विषयमा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले उद्योग मन्त्रालय मातहतको सो समितिले प्रथम चौमासिकमा तालिम सञ्चालन गर्ने भएको हो ।

सो कार्यका लागि चालु आर्थिक वर्षको बजेटमा दुई करोड ९० लाख बजेट विनियोजन गरिएको समितिका निमित्त कार्यकारी निर्देशक घनराज पन्तले जानकारी दिए ।

समितिले काठमाडौँ उपत्यकाका तीन र काभ्रेपलाञ्चोकबाहेक भूकम्पपछि सङ्कटग्रस्त घोषित गोरखा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट, रसुवा, धादिङ, ओखलढुङ्गा, लमजुङ जिल्लास्थित उद्योग प्रवर्धन समिति, उद्योग वाणिज्य सङ्घ र घरेलु तथा साना उद्योग महासङ्घको सहकार्यमा सो कार्यक्रम सञ्चालन गर्ने कार्यकारी निर्देशक पन्तले बताए ।

यस्तै, समितिले ‘युवा उद्यमशीलता तथा औद्योगिक जनशक्ति विकास कार्यक्रम’ अन्तर्गत ४८ जिल्लाका एक हजार ३०० युवालाई विभिन्न उद्योगमा बाह्य मुलुकबाट प्राविधिक जनशक्ति ल्याउनु नपरोस् भन्ने उद्देश्यले अलग्गै तालिम सञ्चालन गर्ने भएको छ ।

समितिसँग यो वर्ष उद्योगको विकास र प्रवर्द्धनसहितका कार्यक्रम र प्रशासनिक खर्चका लागि केन्द्रस्तरमा आठ करोड ८५ लाख र कार्य क्षेत्र भएका ४८ जिल्लास्तरका लागि ३८ करोड ३७ लाख रूपैयाँ बजेट छ ।

राष्ट्रिय अर्थतन्त्रमा घरेलु उद्योगको महत्व बढाउन भन्दै गत वर्षभन्दा बढी बजेट विनियोजन गरेको पन्तले जानकारी दिए । समितिले महिला उद्यम विकास कार्यक्रम, राष्ट्रिय औद्योगिक प्रदर्शनी, बजारयोग्य वस्तुको नमुना विकास, औद्योगिक सम्भाव्यता अध्ययन, उत्कृष्ट उद्यमी पुरस्कार, उद्योग प्रवद्र्धनजस्ता गतिविधि सञ्चलन गर्दै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment