Comments Add Comment

आफ्नै घर भित्रै जलिन् गीता शेख

Gita-Shekh-Bardiya

  • भेरी अञ्चल अस्पतालको शैयामा गीता शेख

आरपी सुवेदी

१७ साउन, नेपालगन्ज । बर्दिया मोहम्मदपुर-१ शितलाबजारकी ३० वर्षीया गीता शेख झण्डै आधा शरिर जलेर नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा उपचारका लागि भर्ना भएकी छन् ।

प्रेम विवाह गरेकी गीताले आत्मदाहको प्रयास गरेको घरपरिवार र आफन्तले दावी गरे पनि घटना शंकास्पद मानिएको छ ।

उनले गत शुक्रबार राति करिव साढे ९ बजे आफैले आफैमाथि मट्टतिेल छर्केर आगो लगाएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् ।

उपचारको लागि अस्पतालमै रहेका उनका पति नैमुद्दिन शेखले भने, ‘घरमै थियौं झगडा पनि भएको थिएन तर, एक्कासी उनले मट्टतिेल शरिरमा खन्याइन् र सलाई कोर्न लागिन् । पहिलो पटक उनको हातको सलाई खोसेर लिन नपाउँदै अर्को सलाई कोरेर आगो लगाइन् । धाराबाट पानी पेलेर निभाउँदै अस्पताल लिएर आएँ ।’

भेरी अञ्चल अस्पतालको बर्निङ वार्डको १२६ नम्बर बेडमा अचेत अवस्थामा गीताको उपचार भैरहेको छ । उनका दुबैहात छाती, खुट्टा, अनुहारलगायतका अंग नराम्रोसँग जलेका छन् । शरिरको ३१ प्रतिशत भाग जलेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

भेरी अञ्चल अस्पताल परिसरमा भेटिएकी पीडित गीताकी सहोदर भाइबुहारी पार्वती नेपालीले भनिन्, ‘आफैले आगो लगाएको भन्ने सुनिएको छ । किन र केका लागि हो केही थाहा भएको छैन ।’

शुक्रबारको घटना आइतबार सार्बजनिक

शुक्रबार राति नै अस्पताल पुर्‍याइए पनि प्रहरीले भने आईतबारमात्र घटनाको जानकारी पाएको थियो ।

बर्दियाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक गोविन्दराम परियारले घटनाबारे प्रहरीमा भरखरै जानकारी आएकोले गम्भीरता पूर्वक अनुसन्धान सुरु गरेको जानकारी दिए ।

उनले भने, ‘आज मात्रै घटनाबारे जानकारी आएको छ । जानकारीमा आउनासाथ अनुसन्धानका लागि टोली परिचालन गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment