Comments Add Comment

साउनभित्र संविधान जारी गर्नुको विकल्प छैन : प्रधानमन्त्री

Sushil-Koirala

१९ साउन, काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले दलहरू छलफलमा जुटिरहेकाले यही साउनभित्रै संविधान जारी गर्नुको विकल्प नभएको बताएका छन् ।

संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री कोइरालाले पूर्व प्रतिबद्धताअनुसार संविधान नआएमा जनतामा निराशा उत्पन्न हुने बताए ।

प्रधानमन्त्री कोइरालाले भने, ‘प्रदेशको सीमाङ्कनसहित साउनभित्र संविधान जारी हुनेमा म धेरै आशावादी छु । संविधान ल्याउनुको विकल्प छैन, त्यसकै लागि हामीहरू दिनभर छलफल गरिरहेका छौं । सञ्चारमाध्यमले नकारात्मक सन्देश प्रवाह गर्नुभएन ।’

उनले संविधान निर्माणकै लागि आठवर्ष बितिसकेकाले अब धेरै समय लिनु उचित नहुने बताउँदै सबै दल, जनता र अन्तर्राष्ट्रिय समुदाय चिन्तित भएकाले ढिलो गर्दा थप निराशा पैदा हुने धारणा राखे ।

मधेसवादी मोर्चालगायत असहमत पक्षलाई पनि सहमतिमा ल्याउन सीमाङ्कनसहितको संविधान आउने उल्लेख गर्दै उनले ‘संविधान च्यात्छु’ भन्दैमा कसैलाई फाइदा नहुने बताए । प्रधानमन्त्री कोइरालाले सङ्घीयताको सीमाङ्कन टुङ्गिएमा नामाङ्कन ठूलो समस्या नहुने दाबी समेत गरे ।

यसैबीच, बैठकपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि यही साउनभित्रै संविधान आउने विश्वास व्यक्त गरे । उनले भने, ‘हामी कार्यविभाजन गरेर काम गरिरहेका छौं । सीमाङ्कनसहितको संविधान यही साउनभित्र आउँछ ।’

संविधानको प्रारम्भिक मस्यौदामा जनताका सुझावका आधारमा परिमार्जनका लागि सहमति जुटाउने जिम्मा पाएको शीर्षनेता सम्मिलित विशेष समितिको अर्काे बैठक आजै बस्नेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment