Comments Add Comment

यी हुन् कांग्रेस र एमालेको सम्बन्ध बिगार्ने पञ्चतत्व

susil-koirala-and-kp-oli

समाचार टिप्पणी

१९ साउन, काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेको दुरी तीनदिनयता नजिकिनुको साटो झन् टाढिन थालेको छ । आखिर किन बाझ्न थाले एमाले-कांग्रेसका शीर्षनेताहरु ? यसका केही भित्री र केही बाहिरी रहस्यहरु छन् ।

बिग्रँदो परिस्थिति

एमालेका कारण सीमांकनसहितको संविधान आउन नसकेको भ्रम (?) जबर्जस्ती फैलाइएको भन्दै केपी ओली सोमबार साँझ शीर्षनेता सम्मिलित संवाद समितिअन्तर्गत विशेष समिति बैठकमै जंगिए ।

ओलीले राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइराला कहिले एमाले र कहिले एमाओवादीलाई बदनाम गरेर आ-आफ्नो पदको आयु लम्ब्याउने षडयन्त्रमा लागेको घुमाउरो आरोप कोइरालाकै सामुन्ने लगाए ।

ओलीको बोली यति शक्तिशाली बन्यो कि चारदलको बैठकले औपचारिकरुपमै राष्ट्रपतिलाई १६ बुँदे सहमतिविरुद्ध चलखेल नगर्न र संविधान विरोधी शक्तिलाई उक्साउने कार्य बन्द गर्न सुझाव दिने गरी प्रधानमन्त्रीलाई अह्राउने निर्णय नै भयो ।

प्रदेशहरुको सीमांकन एमालेकै कारण हुन नसकेको भन्ने कुराको सञ्चार तलैसम्म भएपछि ओली गम्भीर भएको एमालेका एक पदाधिकारी बताउँछन् । त्यही कारणले हुनुपर्छ, ओलीले मंगलबार संसदीय दलको बैठकमा पनि प्रधानमन्त्री कोइरालाको नियतमाथि प्रश्न उठाए ।

‘हामीले त सीमांकन नगरी संविधान जारी गर्नै हुँदैन भनेको हो, तर सीमांकनमा कुरा नमिलेकै कारण १६ बुँदे सहमति गर्नु परेको हो’ ओलीले भने ‘अहिले आएर सीमांकनलाई निहुँ बनाएर सत्ता या आ-आफ्ना पदको आयु लम्ब्याउने कुरा एमालेलाई स्वीकार्य छैन ।’

सम्बन्ध बिगार्ने पञ्चतत्व

पछिल्लो घटनाक्रमलाई विश्लेषण गर्दा एमाले र कांग्रेसको सम्बन्धमा दरार ल्याउने पाँचवटा कारणहरु यस्ता छन् :

१. एमालेमाथि कांग्रेसको शंका

संविधान जारी गर्न हतारिँदा ओलीलाई प्रधानमन्त्री बन्ने हतार भएको अर्थमा नेपाली कांग्रेसले व्याख्या गरेको छ । कांग्रेस नेताहरुको यस्तो आरोपबाट ओली चिढिएका छन् । ओलीलाई गत वैशाखमै प्रधानमन्त्री बन्ने प्रस्ताव आएको एमाले नेताहरु बताउँछन् ।

Sushil-Koirala,-KP-Oli-and-

ओलीनिकट एमाले उपमहासचिव बिष्णु पौडेल भन्छन्-‘प्रधानमन्त्री त ओलीलाई भूकम्पलगत्तै कांग्रेसको कोइराला पक्षबाहेक सबै दलले अफर गरेका हुन्, तर उहाँले संविधान जारी गरौं, अनिमात्र सरकार फेरौं भनेको सबैलाई थाहा छ ।’

जसले संविधान जारी नगरी प्रधानमन्त्री नबन्ने भन्यो, उसैमाथि प्रधानमन्त्री बन्ने हतारोले सीमांकनबिनाको संविधान जारी गर्न खोजेको भनी आरोप लगाइएकाले ओलीले बाध्य भएर मुख खोल्नु परेको दाबी एमाले नेताको छ ।

‘यदि ओलीले प्रधानमन्त्री हुनकै लागि संविधान जारी गर्न हतार गरेको हो भने राष्ट्रपति र प्रधानमन्त्रीले पद लम्ब्याउनका लागि संविधानलाई पछि धकेल्न खोजेको हो किन नभन्ने ?’ एमाले महासचिव ईश्वर पोखरेलले खुलेरै यो प्रश्न उठाएका छन् ।

अहिले चलिरहेकै प्रक्रियाभित्र रहेर तत्कालै संविधान जारी नगर्ने हो भने नेपालमा संविधानसभाबाट संविधान बन्ने सम्भावना सकिने एमाले नेताहरुको विश्लेषण छ । यसका लागि सीमांकनमा समेत आफू बाधक नबन्ने जानकारी प्रधानमन्त्रीलाई गराइसकेको ओलीले ट्वीटरबाटै बताएका छन् । तर, कांग्रेस नेताहरुले भने प्रधानमन्त्री बन्ने हतारोमा एमालेले सीमांकन नचाहेको आरोप लगाउन छाडेको छैन, जसले गर्दा दुई दलको सम्बन्धमा चिसोपन आएको छ ।

२. कांग्रेसमाथि एमालेको शंका

नेपाली कांग्रेसमाथि पनि एमालेका केही आशंकाहरु छन् । प्रधानमन्त्री सशील कोइरालाले सीमांकनको कुरा गरेर आफ्नो पद पार्टीको महाधिवेशनसम्म लम्ब्याउन चाहिरहेको एमालेको आशंका छ ।

sushil koiralaहुन त प्रधानमन्त्री सुशील कोइरालालगायत कांग्रेसका नेताहरुले आफूहरु सत्ता लम्ब्याउने पक्षमा नरहेको बारम्बार बताइरहेका छन्, तैपनि एमाले नेताहरु यसमा ढुंक बन्न सकेका छै्रनन् । कांग्रेस नेता आनन्द ढुंगाना प्रधानमन्त्रीेले जति सक्दो चाँडो संविधान जारी गरेर पद त्याग गर्न चाहेको बताउँछन् ।

नेताले जतिसुकै स्पष्टीकरण दिए पनि एमालेको आशंकाचाहिँ कांग्रेसको संस्थापन पक्ष यसै गरी महाधिवेशनसम्म धकेल्ने योजनामा रहेको हो कि भन्ने छ । तर, ढुंगाना भन्छन्- ‘संविधान जारी गर्नकै लागि महाधिवेशन पछाडि सारिएकाले त्यो आशंकामा दम छैन ।’

प्रधानमन्त्री सुशील कोइरालाले पनि मंगलबार आफू सत्ता लम्ब्याउने खेलमा नरहेको ओलीलाई जवाफ दिइसकेका छन् ।

चार दलवीच १६ बुँदे सहमति गर्दा प्रदेशहरुको सीमांकन आयोगमार्फत् गर्ने भन्नेमा सहमत भएको कांग्रेस अहिले एमाओवादीसँग स्वर मिलाउन लागेको एमाले नेताहरुको आशंका छ । एमाले अध्यक्ष ओलीले मंगलबार मुखै खोलेर प्रधानमन्त्रीले पद लम्ब्याउन खोजेको भनिसकेका छन् ।

यी परिघटनाले दुई दलमा आपसी विश्वासको संकट अरु बढेको स्पष्ट गर्दछ ।

३. भित्री कारण : सत्ताको खटपट

पछिल्लो समयमा कांग्रेस र एमालेको सम्बन्ध विगार्ने तत्व संविधानको विषयवस्तुमात्रै छैन । दुबैले नभनेको तर सतहमा देखिएको विषय भनेको सत्ता साझेदारी र भागवण्डा पनि हो ।

Suchil-Koirala-in-CA-Buildi

मुख्य सचिवलगायत विभिन्न पदमा हुने नियुक्तिदेखि बजेटको बाँडफाँडमा समेत एमाले र कांग्रेसवीच विवाद बढेको छ । र, यो विवादको परावर्तन संविधान निर्माण प्रक्रियासम्म विस्तार भएको छ ।

कांग्रेसले एकलौटी ढंगले नियुक्ति र सरुवा बढुवाहरु गर्न लागेको भन्दै एमाले सशंकित भएको छ । यसैक्रममा बजेट पारित नै नगर्ने तहसम्म एमाले संसदीय दलमा मंगलबार छलफल भएको बुझिएको छ ।

यदि कांग्रेसले प्याकेजमै सबै नियुक्ति र बजेटबारे सहमति गरेन भने अप्ठेरो पार्ने योजनामा एमाले रहेको देखिन्छ । एक एमाले नेताले भन्छन्- ‘संविधानमा असर पर्छ भनेर कांग्रेसको ज्यादति सहनु परेको हो, तर अब धेरै भइसक्यो ।’

एमाले नेताहरुको यस्तो कडा अभिव्यक्तिले के स्पष्ट पार्छ भने दुई दलवीचको विवाद प्रदेशहरुको सीमांकनमा भन्दा पनि बढी सत्ता साझेदारी र बजेटका विषयमा छ । यही सत्ता साझेदारीको विषयले एमाले सरकारबाट बाहिरियो भने यसमा अचम्म नमान्दा हुने स्थिति बन्न थालेको छ ।

४. सक्रिय बाहिरी तत्वहरु

कांग्रेस र एमालेवीच दुरी बढ्न थालेपछि खुशी हुने बाहिरी तत्वहरु पनि सल्बलाइरहेका छन्, जसको प्रभाव एमाले कांग्रेसका नेताहरुमा पर्नु स्वाभाविकै हो ।

विशेष गरी साउनमा संविधान बन्न नदिने पक्षहरुले कांग्रेस र एमालेमा खेल्ने प्रयास गरिरहेका छन् । कांग्रेसभित्रकै खुमबहादुर खड्का समुहले दक्षिणपन्थी कित्ताबाट कांग्रेसलाई चर्को दबाव दिइरहेको छ ।

aandolan (4)

उता मधेसवादी र जनजातिहरुले एमाओवादीमार्फत वाम कित्ताबाट ढीलै गरेर भए पनि सीमांकनसहितको संविधानका लागि भरमग्दुर दबाव दिइरहेका छन् । यो दुबैतर्फको दबावको ठाडो असर वा उपयोग नेपाली कांग्रेसले सत्ता लम्ब्याउने उद्देश्यका लागि गर्न खोजिरहेको देखिन्छ ।

कतिपय बाह्य शक्तिहरुले पनि यतिबेला मधेसवादी र जनजातिलाई नमिलाई संविधान जारी नगर है भनेर एकातर्फबाट दबाव दिइरहेका छन् भने अर्कातिर सडकमा हिन्दु राष्ट्रको अभियानमै सहभागी भएर राजतन्त्रको समेत खुलेआम वकालत गर्न लाथेको अवस्था छ ।

यसरी बाह्य तत्वहरुले फुटाउने तीव्र इच्छा देखाइरहेका बेला कांग्रेस र एमालेका नेताहरु खुलेरै दन्तबझानमा उत्रिन थालेका छन् ।

Rambaran-yadav-Presedent-of५. राष्ट्रपतिको चलखेल

नेपाली कांग्रेसकै एउटा फ्याक्टर मानिने राष्ट्रपति डा. रामवरण यादवले पनि एमाले-कांग्रेसवीच अविश्वास बढाउनमा भूमिका खेलेका छन् ।

डा. यादवले संविधानसभा बहिस्कार गरेका मोहन वैद्यलाईसमेत प्यार गर्न थालेका छन् ।

वैद्यलगायतका दलहरुलाई समेत पर्याप्त समय दिएर संविधान जारी गर भन्ने राष्ट्रपतिको ‘डेट एक्स्पायर’ आग्रहले सेरेमोनियल पदभित्रका अवचेतन आकांक्षाहरु सतहमा छताछुल्ल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment