Comments Add Comment

‘आफ्नै पत्नीबाट लुटिएँ, प्रहरीले न्याय दिएन’

मात्रिका पाैडेल

२० साउन, काठमाडौं । गुल्मीको हुँगास्थित दलित परिवारमा जन्मिएका पदमबहादुर नेपाली वैदेशिक रोजगारीबाट काठमाडौं फर्कँदा विष पिउने अवस्थामा पुगे । अहिले उनी मर्न पनि नसकेको, बाँच्न पनि नसकेको अवस्थामा भौंतारिरहेका छन् ।
Padam Nepali
पदमले आठ वर्षअघि क्रान्तिकारी घर बसाए । तर, बाहुनकी छोरीसँग प्रेम विवाह गरेर काठमाडौं छिरेका उनै पदमको त्यो सुन्दर क्रान्तिकारी घर मलेसियाबाट फर्किँदा यतिखेर तासको घरजस्तै भत्किएको छ ।

पदमबहादुर नेपाली र रमा न्यौपानेले जातीय छुवाछुतविरुद्ध क्रान्ति गर्दै अन्तरजातीय बिहे गरेर गाउँ छाडेका थिए । तर, आठ वर्ष नपुग्दै यो सम्बन्धमा नाटकीय प्रतिक्रान्ति भएको छ । रमा दिल्ली पुगेकी छिन् तर रहस्यमय एवं फिल्मी कथामा जस्तै गरी ।

टेक्ने जमीन भासियो
अन्तरजातीय बिहेका कारण भएको सामाजिक बहिस्कार, काठमाडौंको संघर्ष र छुनुमुनु गर्ने छोरीको भविश्यको चिन्ताले गाँजेपछि पदमबहादुर चार वर्षअघि पाखुरा बजार्न भनेर मलेसिया गएका थिए ।

चार वर्षको बीचमा आफूले कमाएजति (करीव ९ लाख रुपैयाँ) उनले श्रीमती रमाकै नाममा आइएई गरे । तर, जब परिवारसँग खुसी साट्ने धोको बोकेर उनी मलेसियाबाट काठमाडौं आइपुगे, तब उनले टेकेको संसार नै भासियो । समाजमा विद्रोह गरेर भित्र्याएकी श्रीमती र बागी प्रेमको चिनोका रुपमा रहेकी छोरी यतिबेला पदमबाट रहस्यमय तरिकाले सम्पर्कविहीन बनेका छन् ।

सतुंगलस्थित डेरामा पुग्दा कण्डमका प्याकेट र केही थोत्रा सामानबाहेक उनले रमाको कुनै चिनो भेटेनन् ।

एयरपोर्ट आउँछु भनेकी थिई
पदमले मलेसियाबाट उड्नुअघि राति साढे १० बजेतिर ट्याक्सी लिएर एयरपोर्टमा आउन रमालाई भनेका थिए । रमा ट्याक्सी लिएर त गइन्, तर एयरपोर्ट होइन, अज्ञात स्थानतिर । या उनलाई कसैले वीचैमा ‘ट्रयाप’मा पार्‍यो ।

मलेसियाबाट काठमाडौं ओर्लिएपछि पदमले रमालाई धेरै खोजे । तर, न रमाको फोन लाग्यो, न त उनी एयरपोर्टमै थिइन् । त्यसपछि साथीहरुसँगै बसपार्कको होटलमा गएर रात बिताए ।

भोलिपल्ट बिहानै सतुंगलस्थित कोठामा पुग्दा रमा र छोरी दुबै थिएनन् । छिमेकीले अघिल्लै दिन आमा सिकिस्त भएर माइत हिँडेको रमाको भनाइ सुनाए ।

पदमले गुल्मीमा रमाको माइतीमा फोन गरे । न त आमा सिकिस्त थिइन्, न त रमा त्यहाँ पुगेकी थिइन् । त्यसपछि पदमको जीवनमा एकाएक अँध्यारो छाएको छ । न चार वर्षको कमाइ उनले देख्न पाए, न अन्तरजातीय विवाहको क्रान्तिकारी इतिहास नै बच्यो ।
Padam and Rama
आफ्नै स्वास्नीबाट लुटिएँ
वियोगको त्यो क्षण सम्झिँदै पदम केहीबेर रोए । आँशु पुछ्दै अनलाइनखबरको कार्यालयको एउटा कुनामा उनले भने-‘ कोठामा सामान ५० हजारमा बेचेर हिँडिछे । छोरी र सम्पत्ति उसैले लिएर हिँडी, म त आफ्नै स्वास्नीबाट लुटिएँछु । अहिले न मेरो बास छ, न खाने गाँस छ ।’

यद्यपि पदमले रमा र छोरीको खोजी भने जारी राखेका छन् । बहिनीको कोठामा खाना खानु र रमाको खोजी गर्न शहरतिर भौतारिनु पदमबहादुरको दैनिकी बनेको छ अहिले ।

प्रहरी भन्छ-पोइल गई
पदमले थानकोटस्थित प्रहरी चौकीमा पनि रमाको हुलियासहित जाहेरी दिएका छन् । ‘तर, तिम्री बुढी कोसँग पोइल गइसकी, हामीले कहाँ खोज्ने ? भन्दै प्रहरीले खासै चासो दिएन’ उनले गुनासो पोखे ।

रमा हराएको तीन दिनपछि रमाले उनकी नन्द अर्थात पदमकी बहिनीको मोबाइलमा फोन गरिन् । ‘म बौलाएर यता आएँ, अब फसिसकेँ, मिल्छ भने लिन पठाऊ’ रमाले यसो भनेपछि पदम रमालाई लिन जान तयार भए ।

रमाले नारायणघाटमा लिन आउनु भनेपछि पदम त्यहीँ पुगे । तर, त्यहाँ पुग्दा न रमा आइन् न त उनको मोबाइल सम्पर्क नै भयो । पदम भन्छन्- ‘अझै पनि उसलाई स्वीकार्न तयार छु, जतिजनासँग गएकी भए पनि छोरीका लागि जिम्मा लिन्छु ।’

विष पिउँदा पनि काल आएन
रमाले लिन बोलाएर पनि धोखा दिएपछि भने पदमको बाँच्ने चाह एकाएक मर्‍यो । त्यसपछि उनले कोठामै विष पिए । छिमेकी थाहा पाएर अस्पताल लगे । अस्पतालमा १० दिनपछि मात्र उनको होस आयो ।

कालले लैजाने बेला नभएकाले होला, विष पिएर पनि मर्न सकेनन् उनी । त्यसपछि एकाएक आफ्नी आमाको याद आयो । त्यही बेला विनाशकारी भूकम्प पनि आएकाले उनी केही समय गुल्मीस्थित घरमै गएर बसे ।

तर, रमा र छोरीको मायाले उनलाई गाउँमा धेरै दिन बस्न दिएन । नागरिकता पनि रमाले नै हराइदिएकाले उनी प्रतिलिपि लिएर पासपोर्ट बनाउन काठमाडौं आए ।

दिल्लीबाट रहस्यमय एसएमएस
करीब चार महिनापछि एकाएक रमाको एसएमएस आयो, पदमकी बहिनीको मोबाइलमा । भारतीय नम्बरबाट आएको एसएमएसमा आफू फसिसकेको र छोरीलाई बचाउने भए तुरुन्त रिप्लाई गर्नु भनिएको थियो ।

रमा कोठामा आउदा रेल्वे स्टेशनदेखि नै एक व्यक्तिले मोटरसाइकलमा पछ्याइरहेको थियो । ऊ को थियो, रमा त्यो ठाउँमा किन र कोसँग आइन् भन्ने उनले बताउन चाहिनन्

जुन नम्बरमा एसएमस आएको थियो, त्यो नम्बरमा फोन नगर्नु मेसेजको जवाफ मात्र पठाउनु भनिएको थियो । रमाले त्यो एसएमसमा दिल्लीमै रहेका पदमका दाइको नम्बरसमेत मागेकी थिइन् ।

दाइको नम्बर पाए उनलाई छोरी जिम्मा लाउने भनेकाले पदमले तुरुन्तै दाइको नम्बर पठाइदिए । रमाले उताबाटै पदका दाइलाई फोन पनि गरिन् ।

उनी बस्दिरहिछन् दिल्ली नजिक मुरादावादको मोदनगरमा । दाइ र उनको कुरा भएपछि उनी दाइको कोठामा छोरीसहित पुगिन् ।

त्यही कोठाबाट पदमसँग फोनमा कुराकानी भयो । पदमले आफू तुरुन्त लिन आउने भन्दै उनलाई दाइकै कोठामा बस्न भने । तर, उनले छोरी छाडेर जान्छु भनिन् ।

छोरी छाड्नुपर्दैन म दुबैजनालाई लिन आउँछु भन्दा पनि रमा आफू ठूलो समस्यामा परेको र नेपाल फर्किन नसक्ने भन्दै छोरी टिपेर दिल्लीस्थित जेठाजूको कोठाबाट फेरि अलप भइन् ।

कसले लग्यो होला ?
पदमका दाइले भनेअनुसार रमा उनको कोठामा आउदा रेल्वे स्टेशनदेखि नै एक व्यक्तिले मोटरसाइकलमा पछ्याइरहेको थियो । ऊ को थियो, रमा त्यो ठाउँमा किन र कोसँग आइन् भन्ने उनले बताउन चाहिनन् ।

उनको एसएमएस आउनु, दिल्लीमा जेठाजुकोमा बस्न नमान्नु र फोनमा कुरा गर्न नमिल्ने भन्नुले पदम झनै चिन्तित भएका छन् ।

‘कतै बेचबिखनमा पो परिन् कि ? कसैले बन्धक बनाएर पो लगेको हो कि ?’ उनी थप अन्योलमा परेका छन् ।

प्रहरीले चाहे पत्ता लाग्छ
रमालाई कसले भारत पुर्‍यायो भन्ने कुराको प्रहरीले राम्रो अनुसन्धान गर्ने हो भने वास्तविकता चाँडै बाहिर आउन सक्छ । रमा एक मधेसी मूलका मान्छेको घरमा बिहान बेलुका काम गर्न जान्थिन् भन्ने सूचना पनि प्राप्त भएको छ ।

उनले काम गर्ने घर तथा उनका साथीसँगीहरुसँग सोधपछु गर्दा धेरै कुरा प्रहरीले पत्ता लगाउन सक्छ । तर, वैदेशिक रोजगारीबाट फर्किएका युवाकी श्रीमती हराए भने प्रहरीसँग रेडिमेड जवाफ छ-पोइल गई,अब अर्की खोज ।

सहाराको खोजी
करीव पाँच महिनादेखि श्रीमती नभेटिएपछि पदमबहादुर शक्ति समूहमा गुहार माग्दै पुगे । बेचबिखन विरुद्ध क्रियाशील संस्था शक्ति समूहले रमा कतै भारतमा बेचिइन् कि भनेर आफ्ना संयन्त्र मार्फत खोज्ने प्रयास गरिरहेको छ ।

‘यो केस रहस्यमय छ, रमा कुनै पुरुषसँग भागेकी हुन् वा उनी परिबन्दमा परेर भारत पुगि्न भन्ने बुझ्न सकिएन’ सबै फाइल हेरिसकेपछि शक्ति समूहका लीगल कोअडिनेटर दिलिप कोइरालाले भने ‘प्रहरीले अलि गम्भीर भएर अनुसन्धान गर्ने हो भने पत्ता लाग्न सक्छ’ ।
padam bahadur_650
सम्झिँदै रुनु नै जिन्दगी !
पदमबहादुर मलेसियाबाट आउनुभन्दा दुई चार घण्टाअघिसम्म कोठामै रहेकी रमा एकाएक हराउनुले उनी परपुरुषसँग हिँडेको आशंका गर्नेलाई ठाउँ दिएको छ । तर, त्यो परपुरुष को हो र कुन नियतले उनलाई अज्ञात स्थानमा लग्यो ? यो प्रश्नले पदमबहादुरको चैन खोसेको छ ।

पदमको जिन्दगीभरको कमाइ अब केही रहेन । समाजसँग विद्रोह गरेर भित्र्याएकी श्रीमती रहिनन् । प्राणभन्दा प्यारी छोरी पनि रहिनन् । योभन्दा बज्रपात अरु के हुन सक्छ मानिसको जिन्दगीमा ?

रातो सारी लगाएको रमाको फोटो साथमै बोकेर हिँड्ने पदम घरीघरी त्यही फोटो हेर्दै रुन्छन् । गायक यशकुमारको एउटा गीत उनका लागि चरितार्थ बनेको छ- ‘तस्वीर तिम्रो सुस्तरी छोएँ..छातीमा राखी धेरै बेर रोएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment