+
+
Shares

कता हराए गगन, रामकुमारी र लेखनाथहरु ?

उनीहरुले बिगतको संघर्षशील इतिहास बिर्सेका हुन् कि सम्झन नचाहेका हुन् म भन्न सक्दिँन, तर के कुरा पक्का हो भने नेतृत्वको गलत अडान वा निष्कर्षको बिरुद्ध बोल्दा आफ्नो खाईपाई आएको पद र प्रतिष्ठा धरापमा पर्छ कि भन्ने चिन्ता सबैमा छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २४ गते १४:०६

Madan-Pravbhatमदन प्रभात

वृद्धहरुको ढाडमाथि टेकेर समाजलाई अगाडि धकेल्नुपर्ने युवाहरु जब वृद्धकै टाङमुनि छिर्छन्, तब के हुन्छ ? उत्तर प्रष्ट छ, आज नेपालमा जे भइरहेको छ त्यही हुन्छ ।

केही अपवादलाई छाड्ने हो भने नेपालमा सचेत युवा र बिद्यार्थीहरुको मुख्य हिस्सा राजनीतिक पार्टीको भातृ संघ/संगठनमा आबद्ध छन् । हिजो मट्टीतेल, डिजल र पेट्रोलमा थोरै मात्र पनि मूल्यबृद्धि हुँदा राजधानी मात्र होइन, सिंगो देशै ठप्प पार्ने तिनै युवा-बिद्यार्थीहरु आज बर्षौंसम्म आफुमाथि शासन गर्ने नयाँ संबिधानको मस्यौदामा नै प्रतिगामी गन्ध आइरहँदा पनि बिद्रोह गर्ने त कुरै छाडौं, बिद्रोहको धम्की र घुर्कीसमेत लगाउन नसक्ने भएका छन् । युवाहरु फगत केही थान प्रेशविज्ञप्ति जारी गरेर बसिरहेका छन् ।

यसो गरेर युवाहरु खुसी छन् त ? अपवादलाई छाड्ने हो भने सबै युवा-विद्यार्थीहरु अहिले छटपटी र अन्यौलमा छन् । सबैको मनमा असन्तुष्टि छ, बेचैनी र इरिटेसन छ । हिजो परिवर्तनको स्वर उराल्ने युवा-बिद्यार्थीहरु आज मुख बन्द गरेर आफ्नो रोजीरोटी, करियर र राजनीतिक स्वार्थका खातिर बाध्यताबस या राजीखुसी जे होस् बुढाहरुको टाङमुनि छिरेका छन् र सडकमा लागेको प्रतिगामी नारा चुपचाप सुनेर बसेका छन् ।

हिजो पार्टीको लाइन विपरीत दरबारको सक्रिय शासनकालमा गणतन्त्र भनेर सडकमा आउने गगन थापाको नेवि संघ आज तिनै गगनहरुले पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भनेर बोलिरहँदा संसदीय व्यवस्थाकै पुच्छर समातेर बैतरणी तर्ने दाउमा छ ।

रविन्द्र रामकुमारी, लेखनाथ र जीवन गौतमहरुको प्रतिपक्षीय विरासत धान्नुपर्ने अखिल र अखिल (क्रान्तिकारी)हरु आज नेताले के निर्देशन देलान् र छलफल गरौंला भनेर संगठनात्मक किचलो र गुटबन्दीमा रमाएर बसेका छन् ।
युवा-बिद्यार्थी आन्दोलनको प्रतिपक्षीयता आज पुरै स्खलित भएको छ । रञ्जीत कर्ण, किशोरबिक्रम र रमेश मल्लहरु आज सडकमा उत्रिएर जनआवाजलाई मुखरित गर्ने र साथ दिने अग्रगामी बिद्यार्थी नेता होइन, सडक किनारामा उभिएर मुसुमुसु हाँस्दै प्रतिगामीहरुको तमासा नियालिरहने रमिते भएका छन् ।

सडक नै राताम्मे पारेर राज्यसत्ताको मुटु नै थर्किने गरी नारा लगाउने गणेशमान पुनको वाई.सि.एल. चन्दाको चानचुन चक्करमा आज बिघटित जस्तै भएर कुहिरोको कागझै हराइरहेको छ ।

सबैखाले युवाहरुलाई समेटेर शहरका गल्लीगल्लीमा गर्जने महेश बस्नेतको युवा संघ आज झण्डावाल गाडीभित्र कैदछ र सत्ताको तर मार्नैका निम्ति गुट उपगुटको दलदलमा भास्सिएको छ ।

युवाहरु आज पार्टीका नेताहरुको चन्दा उठाउने दाहिने हात बनेका छन्, पार्टीभित्र र बाहिरका बिरोधीहरुलाई तह लगाउने मुक्का बनेका छन् । बदलामा बुढा नेताहरुको आशिर्वाद चाहिएको छ युवाहरुलाई ।

युवा र बिद्यार्थी संगठनका नेताहरु जब प्रत्यक्ष अप्रत्यक्ष रुपमा पार्टीका बुढा नेताहरुको टाङ्गमुनि छिर्छन्, तब उनीहरु बोल्न सक्दैनन् । बुढा नेताहरुको बिरुद्ध खुट्टा उचालेर केही गर्नै सक्दैनन् । आफ्नो पद धरापमा पारेर, पार्टी सत्ता र राज्य सत्ताका भर्‍याङ्गहरुमा माथिबाट हात दिएर तान्ने पार्टीका बुढा र पाका नेताहरुको बिरुद्ध अहिले र आजको दिनमा कोही बोल्न सक्छ ? अहँ, उनीहरु चाहेर पनि सकिरहेका छैनन् र सक्दैनन् पनि । यस्तो दास मानसिकताका साथ कसरी उभिन्छन् युवाहरु प्रतिस्पर्धात्मक व्यवस्थाको पक्षमा ?

युवा माननीयको लाचारीपन

हिजो संघर्षमा खरो उत्रिएका, राज्यसत्ता मात्र होइन पार्टी सत्ताका बिरुद्ध समेत औंला ठड्याएका धेरै पूर्व युवा-बिद्यार्थी नेताहरु आज नयाँ संबिधान जारी गर्ने संबिधानसभामा माननीय भएर बिराजमान छन् । तर, संबिधानसभाले सार्वजनिक गरेको मस्यौदा संबिधानमा कहीँ कतै पनि युवापन देखिँदैन ।

मस्यौदामा न राष्ट्रिय युवा नीति छ, न युवाहरुलाई राज्यसत्ताको माथिल्लो निकायमा प्रतिस्पर्धा गर्न पाउने अधिकार छ, न युवाहरुको संघर्षले स्थापित समानुपातिक समाबेशी लगायतका मान्यताहरु छन् । जनसंख्याको करिब ४० प्रतिशत ओगट्ने युवाहरुको नाममा जम्मा चारवटा शब्द समेटेको छ, मस्यौदा संबिधानले ।

यस्तो हुँदा पनि सत्तापक्षका हुन या प्रतिपक्षका युवा माननीयहरु पार्टीका बुढा नेताकै मुख ताकेर चुपचाप बसेका छन् । अझ मननीय कुरा के छ भने मस्यौदामाथि सुझाब संकलनका क्रममा सक्रिय सहभागी युवा जनमतले देशैभरिबाट एकमतले दिएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलगायतका सुझाबलाई संबिधानमा समेट्न युवा माननीयहरुकोे न सामुहिक, न व्यक्तिगत कुनै पनि किसिमको पहल र प्रयत्न सुन्न र देख्न पाइएको छैन । शीर्ष नेताहरुले जे भने, त्यसैमा ल्याप्चे लगाउने “ल्याप्चे माननिय” मात्र हुन् त हाम्रा युवा सभासद्हरु ? त्यस्तो त पक्कै होइन होला । कोही त होला नि शीर्ष नेतृत्वको सत्ता स्वार्थमा बिकेको बोली र अडानका बिरुद्ध बोल्ने ? कोही त होला नि आफ्नो राष्ट्र, जनता र समुदायका हक, हित र अधिकार स्थापित गर्न बोल्ने ? तर, यथार्थमा संबिधानसभाको रंगमञ्चमा त्यस्तो देखिएको छैन ।

युवा माननीय पनि अन्य माननीयझैं दलका प्रमुख नेता र तिनको अपडेट नभएका पुरानो नीतिका लाचार छाँया जस्ता मात्र भएका छन् । “हामीले गरेर हुने होइन, माथिका नेताहरुले गर्ने हुन” भन्दै आफ्नो भूमिकालाई आफैले अवमूल्यन गरेर बसेका छन्, लघुताभाष पालेर बसेका छन् ।

जनताको सुझाब नसमेटिने भो भनेर पिरोलिरहेका केही युवा माननीयहरुसंग यो पंक्तिकारले सोधेको थियो -“के तपाईहरु जनताका सुझाब संबिधानमा समेट भनेर अनसन बस्न सक्नु हुन्छ ?” माननियहरुको उत्तर थियो -“पार्टी नेताहरुले कहाँ बस्न दिन्छन् र ?” “साथीहरु तयार नै हुँदैनन् के गर्ने” “अनसन बसेर पनि के गर्ने ? शीर्ष नेताहरुलाई जस्तो लागेको छ, त्यस्तै बन्ने हो संबिधान” “हेर्नुस, अनसन बसेर केही हुनेवाला छैन” आदि इत्यादि । यसबाट प्रष्ट हुन्छ, हाम्रा युवा माननीयहरु आफ्नो बिबेकले केही निर्णय गर्न सक्दैनन् । उनीहरु नेताका अगाडि उभिएर चोर औंला ठड्याएर सवाल जवाफ गर्न सक्दैनन् ।

उनीहरुले बिगतको संघर्षशील इतिहास बिर्सेका हुन् कि सम्झन नचाहेका हुन् म भन्न सक्दिँन, तर के कुरा पक्का हो भने नेतृत्वको गलत अडान वा निष्कर्षको बिरुद्ध बोल्दा आफ्नो खाईपाई आएको पद र प्रतिष्ठा धरापमा पर्छ कि भन्ने चिन्ता सबैमा छ ।

आजकै दिनमा बिद्रोह गर्न नसके पनि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको सवाल, महिला, दलित, जनजाति, मुस्लिमलगायत अल्पसंख्यक र उत्पीडित समुदायको समानुपातिक र समाबेशी प्रतिनिधित्वको सवाल, मजदुर, किसानलगायत श्रमजीवि वर्गको छुट्टै प्रतिनिधित्वको सवाल जस्ता जनआवाजलाई नयाँ संबिधानमा समेटियोस् भन्नका खातिर केही युवा माननीय आमरण अनसन बसे के होला ? यसले आम -राजनीतिक या गैरराजनीतिक) युवाहरुलाई सडकमा आएर अग्रगामी परिवर्तनको पक्षमा नारा लगाउन प्रेरित गर्ला ? राजनीतिप्रति आश मारेर बसेका युवाहरुलाई राजनीतिप्रति आश जगाई भविश्यको समृद्ध नेपालको निम्ति जागृत हुन र संघर्षरत रहन उत्साहित बनाउला ? शीर्ष भनिएका बुढा नेताहरुमा युवाहरुले नछोड्ने रैछन है भन्ने मनोबैज्ञानिक र नैतिक दवाब सृजना गर्ला ? एकपटक युवा माननियहरुले सोच्ने की ?

नेपाली जनताको सात दशक लामो आफ्नो संबिधान आफैले बनाउने सपना पूरा हुन लागेको (भलै त्यो पूर्णरुपमा अग्रगामी छैन) यो समयमा अचेल सडकहरु खाली छन् । वायुमण्डलमा कुनै अग्रगामी युवा आवाजहरु सुनिएका छैनन् । न त स्कूल कलेज अगाडि कुनै प्रदर्शन र नारावाजी नै भएका छन् । सबैलाई सबैतिर अचम्म अचम्म लागिरहेको छ । यो के भैरहेको हो ? अग्रगामी आवाजहरु किन यतिबिधि कमजोर भएका हुन् ? कोही पत्याउनै सकिरहेका छैनन् कि शहरका गल्ली र चोक चौराहाहरुमा नयाँ संबिधान निर्माणको यस्तो उत्कर्ष समयमा पनि किन कोही हुल बाँधेर जनताका पक्षमा जुलुस र नारा लगाइरहेको छैन ? उत्पीडितको गीत गाइरहेको छैन ? के आज शहरहरुवाट अग्रगमनकारी युवाहरु गायब भएका हुन् ?

हिजो ०६२/०६३ मा कफ्र्युको पनि अबज्ञा गर्दै राजदरबार अघिल्तिर चोर औंला ठड्याउने युवाहरु आज प्रतिगामी धङ्धङीले ग्रस्त बुढा नेताहरुले आफ्ना पि्रय एजेण्डा र एजेण्डाका आत्माहरुको घाँटी निमोठेर हत्या गरिरहँदा पनि किन मौन छन् हँ ?

यो त्यही देश हो, जहाँ १० बर्ष जनयुद्ध भएको थियो । १९ दिन सिंगो राज्य नै ठप्प पारेर ऐतिहासिक जनआन्दोलन भएको थियो र त्यसपछि नै लामो समयसम्म मधेसी, जनजातिलगायतका उत्पीडित वर्ग र समुदायहरु जागै बसेर आफ्नो हक अधिकारका निम्ति संघर्ष गरेका थिए । अनि यी सबै संघर्षहरुमा युवाहरु नै अग्रपंक्तिमा थिए, युवाहरुकै बाहुल्यता थियो । तर, आज शहरभरि हिजोका मण्डले, दरबारिया र धर्मका नाममा जनभावनामाथि खेलवाड गर्दै राजनीति गर्ने सपना देखेका पाखण्डीहरुले नारा र जुलुस लगाइरहँदा हिजो त्यसैका बिरुद्ध बलिदानसमेत दिन तयार ती युवाहरु कहाँ गए ? आज सर्वत्र खोजी र चासोको विषय बनेको छ । वास्तवमा यो देशका अग्रगमनकारी, परिवर्तनका वाहक युवाहरु आज कहाँ गायब भए ?

(लेखक एमाओवादी निकट अखिल क्रान्तिकारीका नेता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?