News Summary
Generated by OK AI. Editorially reviewed.- छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको पुरुषतर्फ फाइनल खेल्ने टोली परिवर्तन भएको छ।
- आयोजक टाइगर ग्रुप अफ पोखराले सेट रेसियोमा पुलिस अगाडि रहेको भन्दै फाइनलमा गण्डकी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने जानकारी गराएको छ।
- फाइनल खेल २०८२ माघ १७ गते दिउँसो २ बजे गण्डकी प्रदेश भलिबल संघ र नेपाल पुलिस क्लबबीच हुनेछ भने तेस्रो स्थानका लागि पर्वत जिल्ला भलिबल संघ र त्रिभुवन आर्मी क्लब भिड्नेछन्।
१६ माघ, पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनल खेल्ने टोली परिवर्तन भएको छ ।
आयोजक टाइगर ग्रुप अफ पोखराले अंकतालिका सच्याएपछि अब उपाधिका लागि गण्डकी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा भिड्ने भएका हुन् ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भइरहेको च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको पुरुषतर्फ समूह चरणको अन्तिम खेलमा गण्डकीले पर्वतलाई ३-२ को सेटमा पराजित गरेपछि आयोजकले गण्डकी र पर्वत दुबै फाइनलमा पुगेको घोषणा गरेको थियो । गण्डकी ११ अंक जोडेर शीर्ष स्थानमा रहँदै फाइनल पुगेको थियो । तर पर्वत र पुलिसको समान १० अंक भएपछि आयोजकले धेरै सेट जितेको भन्दै पर्वतलाई दोस्रो स्थानमा राख्दै फाइनल पुर्याएको थियो ।
तर सेट रेसियोमा पर्वत भन्दा पुलिस अघि रहेकोले नियम अनुसार पुलिस फाइनल पुग्नुपर्ने थियो ।
यस विषयलाई लिएर भलिबल विज्ञ देखि सामाजिक सञ्जालसम्म प्रश्न उठेपछि आयोजकले शुक्रबार राति बैठक बसेर अंकतालिका सच्याउँदै फाइनल पुगेको टिम परिवर्तन भएको जानकारी गराएको हो ।
आयोजनक टाइगर ग्रुप अफ पोखरा नेपालले शुक्रबार राति प्रेस विज्ञप्ती जारी गर्दै सेट रेसियोमा पुलिस अगाडि भएको भन्दै फाइनलमा गण्डकी र पुलिसबिच प्रतिस्पर्धा हुने जानकारी गराएको हो । ‘फाइनल खेल घोषणा गर्ने क्रममा प्राविधिक त्रुटिका कारण गलत सूचना प्रवाह हुन गएको थियो । मिति २०८२ माघ १७ गते हुने पुरुषतर्फको फाइनल खेल गण्डकी प्रदेश भलिबल संघ र नेपाल पुलिस क्लबबीच हुने आधिकारिक जानकारी गराउदछौं,’ विज्ञप्तीमा भनिएको छ ।

अब छैटौं टाइगर कपको उपाधिका लागि शनिबार गण्डकी र पुलिस प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो २ बजेबाट सुरु हुनेछ । तेस्रो स्थानका लागि पर्वत जिल्ला भलिबल संघ र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । उक्त खेल उक्त खेल बिहान ११ बजेबाट सुरु हुनेछ ।
च्याम्पियनसिपमा विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६, उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोली २ लाख ६ हजार ६६६ रुपैयाँ पाउनेछन् ।
तस्बीर : टाइगर ग्रुप अफ पोखरा
प्रतिक्रिया 4