Comments Add Comment

एमाओवादी विघटन भइसक्यो, घोषणा हुन मात्र बाँकी छ

प्रकाश पोखरेल (केन्द्रीय सदस्य, एमाओवादी)

एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य प्रकाश पोखरेल पूर्वएकताकेन्द्र समुहको विद्यार्थी फाँट हुँदै पार्टीको नेतृत्व तहमा आइपुगेका युवा नेता हुन् । शनिबार राजधानीमापूर्व एकताकेन्द्रको अलग्गै भेला गर्नमा पोखरेलको महत्वपूर्ण भूमिका थियो । अब उनकै सक्रियतामा पार्टीभित्र केन्द्रदेखि जिल्ला तहसम्म नयाँ पुनर्गठन अभियान चल्ने बताइको छ ।

एमाओवादी पार्टीको विकल्प खोज्ने अभियानको अगुवाइ गरिरहेका युवा नेता पोखरेलसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानीमा उनले प्रचण्डबाट अब एमाओवादी पार्टी रुपान्तरण हुने सम्भावना सकिएको ठोकुवा गरे ।

Prakesh-Pokhrealयसरी पार्टीभित्रै पूर्वएकताकेन्द्रको गुटको भेला गर्दै हिँड्नु अनुशासनविपरीत कार्य होइन ?

– यो गुटको भेला होइन । र, पार्टी अनुसाशन विपरीत कार्य पनि होइन । उद्येश्यमा समानता भएका साथीहरुले आयोजना गरेको छलफल हो यो ।

तर, यसरी भेला गर्दा पार्टीभित्र अनुशासनको प्रश्न उठ्दैन ?

– हाम्रो बुझाइमा एमाओवादी पार्टी विघटन भइसक्यो, यसको औपचारिकरुपमा घोषणा मात्रै गर्न बाँकी छ । कोमामा रहेको बिरामीलाई डाक्टरले मृत घोषणा गर्न बाँकी रहेको जस्तै अवस्थामा छ पार्टी । यो अवस्थामा कसैले अनुशासनको डण्डा लगाउने अवस्था नै छैन । पार्टी विघटनको घोषणा कसले गर्ने भन्ने मात्रै बाँकी छ अब ।

एमाओवादी पार्टी विघटनकै अवस्थामा पुगिसकेको तपाईहरुको निश्कर्ष हो त ?

– क्रान्तिकारी आन्दोलनको कम्युनिष्ट धारा नै विघटन भयो । तर, पार्टी विघटन भए पनि व्यक्तिहरु छन्, उनीहरुका वीचमा एकता गरेर नयाँ धाराको पुनर्गठन गर्नुपर्छ भन्ने हाम्रो निश्कर्ष हो ।

तपाईहरुको भेलाले नयाँ पार्टी बनाउने निर्णय गरेको हो ?

– तत्काल नयाँ कम्युनिष्ट पार्टी घोषणा गर्ने हामीले निर्णय गरेका छैनौं । कम्युनिष्ट आन्दोलनलाई पुनःसंंगठित गर्न सकिन्छ र गर्नुपर्छ भन्ने हाम्रो निश्कर्ष हो ।

प्रचण्डकै नेतृत्वमा पार्टीलाई रुपान्तरण गरेर, सच्याएर अघि बढ्दा के बिग्रन्छ र ? उनले पनि त पार्टीलाई रुपान्तरण गरौं भनिरहेकै छन् …

– विश्व कम्युनिष्ट आन्दोलनको अनुभव हेर्दा मुख्य नेतामा विचलन आएपछि तिनै नेताको नेतृत्वमा पार्टीको रुपान्तरण सम्भव भएको उदाहरण काहीँ पनि छैन । प्रचण्ड यसको अपवाद बन्न सक्नुहुन्न भन्ने हाम्रो निश्कर्ष हो । प्रचण्ड, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको नेतृत्वमा रुपान्तरणको सम्भावना एकदमै कम छ । प्रचण्डको नेतृत्वमा त पार्टी अगाडि बढ्नै सक्दैन, बाबुराम र नारायणकाजीलाई हेर्न बाँकी छ ।

पार्टीको मूल लिडरसीप ९९ प्रतिशत बिग्रिइसकेको छ । १ प्रतिशत सम्भावना हामीले बाँकी छ भनिदिएका हौं । यथास्थितिमा अब यो पार्टीको पुनर्गठन सम्भव छैन भन्ने नै हाम्रो निश्कर्ष हो ।

यो भेला गर्नुअघि तपाईहरुले बाबुराम भट्टराईसँग पनि छलफल गर्नुभएको थियो कि ?

– बाबुरामजीसँग यसबारे कुरा गरेनौं, उहाँ निकटका नेताहरुसँग छलफल गरेका थियौं । हामी बाबुरामजीको अहिलेसम्मको योगदानको कदर गर्छौं ।

बाबुरामलाई नेता मानेर अघि बढ्ने सम्भावना चाहिँ कत्तिको छ ?

– हामी सबैसँग छलफल गरेर कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने पक्षमा छौं । बाबुराम, मोहन वैद्य र विप्लवसँग पनि छलफल गर्न तयार छौं । छलफल गर्छौं ।

पूर्वएकताकेन्द्रको भेला भएकाले तपाईहरुको सम्भावित नेताचाहिँ अब नारायणकाजी श्रेष्ठ नै होलान् हैन ?

– होइन, पूर्वएकताकेन्द्रको गुट जम्मा पारेर अबको जनताको आवश्कतालाई त्यसले सम्बोधन गर्न सक्दैन ।

उसोभए शनिबारको भेला आयोजना गर्नुपूर्व तपाईहरुले उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग पनि छलफलै गर्नुभएन त ?

– मैले नै उहाँसँग कुरा गरेको थिएँ । उहाँ संविधान निर्माण प्रक्रियाबाट र्फसद भयो र भ्याएँ भने आउँछु र तपाईहरुको कुरा सुन्छु भन्नुभएको थियो, तर आउन भ्याउनुभएन । हामीले भेला राखेकोमा उहाँको कुनै असहमति थिएन ।

यो भेलाको मुख्यसर्जक चाहिँ को हो त उसोभए ?

– हामी युवा साथीहरुले यसबारे एक/डेढ महिना अघिदेखि छलफल गरिरहेका थियौं । आखिर पहल त कसैले लिनै पर्ने थियो, त्यसैले अब हामी युवाहरुले नै यसको पहलकदमी लिनुपर्छ भनेर हामी अघि बढेका हौं ।

तपाईहरुको भेलाले गरेको खास निर्णय के हो ?

– प्रचण्डकै नेतृत्वमा पार्टीको रुपान्तरण सम्भव छैन । पार्टी भन्नै नै नरहेको अवस्था सिर्जना भएकाले अब हामी समाजवादी वैचारिक आन्दोलनको ब्यानरमुनि कार्यक्रम गर्छौं । राजधानीका साथै तल पनि साथीहरुलाई समेट्दै छलफल अघि बढाउँछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment