Comments Add Comment

भुटानी मेलामा नेपालका ६९ स्टल, मेलाको तयारी पुरा

१७ भदौ, भुटान । भुटानको थिम्पुमा शुक्रबारदेखि सुरु हुन लागेको छैठौं अन्तराष्ट्रिय मेलाको तयारी पूरा भएको छ । चार दिनसम्म चल्ने मेलामा नेपालसहित ६ देशको सहभागिता रहेको छ ।

भुटान चेम्बर अफ कमर्शको आयोजनामा हुन लागेको मेलामा भुटानसहित नेपाल, भारत, बंगलादेश, ताइवान, भियतनाम र थाइल्यान्डको सहभागिता रहेको छ ।

Bhutan3
फाइल तस्बीर/अनलाइनखबर

मेलामा भारतपछि सबैभन्दा बढी ६९ स्टल नेपालको रहने आयोजकले बताएका छन् । भुटान चेम्बर अफ कमर्श र ललितपुर उद्योग वाणिज्य संंघद्धारा संयुक्त रुपमा विहिवार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो ।

मेलामा नेपालको तर्फबाट हस्तकला, तयारी पोसाक, पश्मिना, ज्वेलरी, ट्रान्सफरर्मर, विजुलीको पोल, औषधी लगायतको वस्तु प्रदर्शनीमा राखिने ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष अजरमान जोशीले बताए ।

‘मेलामा नेपाल छैठौ पटक सहभागी हुँदैछ । नेपालको वस्तु प्रवर्द्धनका लागि यो सबैभन्दा उत्तम अवसर हो, उनले भने, “पहिलो मेलामा २० वटा कम्पनी सहभागी भएकोमा अहिले ६९मा पुगेको छ । यो हाम्रो लागि पनि गर्वको विषय हो ।’

भुटान चेम्बर अफ कमर्शका महासचिव फुब छिरिङले भुटान नेपालका लागि सबैभन्दा ठूलो बजार भएको बताए ।

‘भुटानमा ९५ प्रतिशत वस्तु आयात हुन्छ । आयातमा आधारित अर्थतन्त्र भएको मुलुक भएकोले नेपालका लागि यहाँ धेरै अवसरहरु छन्’ छिरिङले भने- ‘भुटानमा वस्तु मात्रै होइन सेवा पनि आयात हुन्छ । नेपालको ट्रान्सफरर्मर मात्रै होइन निर्माण कम्पनी समेत आएर काम गरिरहेका छन् । नेपालका एजुकेशन कन्सल्ट्यान्सीले समेत यहाँ आएर काम गरिरहेका छन् ।’ नेपालको तुन्दी कन्स्ट्रक्सनले सडक र पुल निर्माण गरेको छ ।

छिरिङले यातायात सञ्जाल सहज नभएकोले दुई देशवीच व्यापार प्रवर्द्धन हुन नसकेको बताउँदै सार्क मुलुकवीच भएको सार्क यातायात सम्झौंताले व्यापार प्रवर्द्धनको बाटो खोल्ने दावी गरे ।

गत वर्ष नेपाल र भुटानबीच झन्डै ५२ करोडको व्यापार भएको थियो । नेपालबाट १२ करोडका सामान भुटान निकासी भएका थिए भने भुटानबाट ४० करोडको सामान नेपालमा आयात भएको थियो ।

भुटानबाट जिप्सम, कोइला, आयुर्वेदिक औषधी लगायतका वस्तु निकासी हुन्छ भने नेपालबाट ट्रान्सफरर्मर, विजुलीको पोल, हस्तकलाका सामाग्री, गहना, तयारी पोसाक लगायतका वस्तु निकासी हुन्छ ।

उनले नेपाल र भुटानवीच द्धिपक्षीय व्यापार सम्झौंता भएपछि सहुलियत पूर्ण व्यापारको बाटो खोल्ने बताउँदै सम्झौंताले व्यापार अभिवृद्धिमा ठूलो सहयोग गर्ने अपेक्षा गरे ।

‘द्धिपक्षीय व्यापार सन्धी पाइपलाइनमा छ । यो सन्धी हुनेवितिकै सहुलियतपूर्ण व्यापार गर्ने बाटो खुल्छ’ छिरिङले भने-‘ दुई देशले यो सम्झौंतालाई छिटो अघि बढाउनुपर्छ ।’

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका उपकार्यकारी निर्देशक तेजसिंह विष्टले भुटानसँग व्यापार घाटा बढ्नु चिन्ताको विषय भएको बताउँदै द्धिपक्षीय व्यापार सन्धी अगाडी बढेमा निकासी प्रवर्द्धनमा सघाउ पुग्ने बताए ।

विष्टले दुई देशबीचको व्यापार प्रवर्द्धनमा रहेका गैरभन्सार अवरोध हटाउन पहल गरिने बताउँदै मेलामा आएको प्रतिक्रियालाई समेटेर निकासी बढाउने नीति बनाउने बताए । ललितपुर चेम्बरका महासचिव सविन श्रेष्ठले मेला दुई देशवीचको व्यापार प्रवर्द्धनमा कोशेढुंगा सावित हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment