Comments Add Comment

किन मिल्दैनन् बिजय गच्छदार र उपेन्द्र यादव ?

२४ भदौ, काठमाडौं । जतिखेर विजयकुमार गच्छदार बालुवाटारमा आयोजित चारदलको बैठकबाट बाहिरिएर आन्दोलनमा जाने बताइरहेका थिए, त्यसको २४ घण्टा नबित्दै उपेन्द्र यादवले गच्छदार आन्दोलन भाँड्न परिचालित हुन लागेको आशंका सार्वजनिकरुपमै व्यक्त गरे ।
Bijay-upendra
अहिले चारदलको बैठक मात्रै होइन, गच्छदारले संविधानसभाको प्रक्रियासमेत छाडिसकेका छन् । तर, मधेसमा आन्दोलन गरिरहेका चारदल सम्मिलित मधेसी मोर्चाका नेताहरु भने गच्छदारलाई सहजै आफ्नो टिममा भित्र्याउन तयार भइरहेका छैनन् । विशेषतः उपेन्द्र यादव आफ्नो मोर्चामा गच्छदारलाई भित्र्याउन चाहँदैनन् ।

उपेन्द्र यादव आखिर किन विजय गच्छदारलाई मधेसी मोर्चामा ल्याउन चाहँदैनन् ? यसको पृष्ठभूमिमा केही रोचक परिघटना छन् । मधेस मामिलाका जानकारहरुका अनुसार उपेन्द्र यादवले धेरैपटक गच्छदारबाट धोका खाइसकेकाले अब उनी गच्छदारविनै मधेस आन्दोलन अघि बढाउने पक्षमा छन् ।

तर, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवचाँहि गच्छदारको मामिलामा उपेन्द्रभन्दा केही नरम छन् ।

उपेन्द्र यादवको अर्जुनदृष्टि

विश्लेषकहरुका अनुसार मधेसको मामिलामा उपेन्द्र यादव इमान्दार नेता हुन् । जसरी केपी ओली, चित्रबहादुर केसी र कमल थापा आफ्नो विचारमा अडान भएका नेता मानिन्छन्, त्यस्तै उपेन्द्र यादव पनि मधेसको मामिलामा ठोस अडान बोकेका नेता मानिन्छन् ।

उपेन्द्रलाई विगतमा कसैले हिन्दुवादी, कसैले भारतपरस्त त कसैले माओवादीपरस्त रहेको आरोप नलगाएका होइनन् । तर, उनले सबै आरोपहरुलाई पचाएर मधेस आन्दोलनसँगै आफूलाई राष्ट्रिय राजनीतिमा स्थापित गराएका छन् ।

मधेसी जनअधिकार फोरमले ०६३ सालताका मधेस आन्दोलन गर्‍यो र सरकारसँग २२ बुँदे सम्झौता गर्‍यो । तर, सो सम्झौता कार्यान्वयन भएन । त्यसपछि तराई मधेस लोकतान्त्रिक पार्टी जन्मियो । सदभावना मधेसमा पुरानै पार्टीका रुपमा छँदै थियो ।

विश्लेषकहरुका अनुसार मधेसी जनअधिकार फोरमसँग भएको २२ बुँदे सहमति कार्यान्वयन नभएपछि उपेन्द्र यादवले तीनवटा रणनीति अख्तियार गरे । पहिलो, आफ्नै पार्टीको बलबुँतामा आन्दोलन गर्ने, दोस्रो, आफ्नो पार्टीले मात्रै नसक्ने भएकाले अन्य मधेसवादी दलहरु (तमलोपा, सदभावना आदि) सँग पनि मोर्चाबन्दी गर्ने र तेस्रो, संघीयताका लागि कुनै न कुनै रुपमा माओवादीलाई निकट राख्ने र राजनीतिक दाउपेचमा समेत ध्यान दिने ।

फोरमले गरेको प्रथम चरणको आन्दोलन पार नलागेपछि यादवले सदभावना पार्टीका साथै नवगठित तमलोपासँग पनि मोर्चाबन्दी गरे । फलतः संयुक्त मधेसी मोर्चाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको रुप ग्रहण गर्‍यो । र, सोही ब्यानरमा आन्दोलन सफल भयो, ८ बुँदे सहमति भयो, देश संघीयतामा गयो र पहिलो संविधानसभाको निर्वाचन सम्पन्न भयो ।

गच्छदारको प्रवेश र भाँडभैलो

जतिखेर मधेस आन्दोलन सकिएको थियो र पहिलो संविधानसभाको मनोनयन दर्ता गर्ने बेला हुनै लाग्दा नेपाली कांग्रेस छाडेर विजय गच्छदार उपेन्द्र यादवको पार्टीमा प्रवेश गरे ।

गच्छदार रातारात मधेसी जनअधिकार फोरममा प्रवेश गर्नुका पछाडि तीनवटा कारण थिए । प्रथमतः उनी कांग्रेसको ब्यानरबाट चुनाव लड्दा जितिँदैन भन्ने निश्कर्षमा पुगेका थिए । दोस्रो, गच्छदारलाई उपेन्द्र यादवसँग मिलाउने र चुनावमा मधेसवादी शक्तिलाई बलियो बनाउने योजनाअनुसार जयप्रकाश प्रसाद गुप्ताले बनाए । तेस्रो, त्यतिबेला भारतीय राजदूताबासले पनि मधेसमा बलियो शक्ति विकास गराउने योजना मुताविक गच्छदारलाई उपेन्द्रसँग मिल्नका लागि वातावरण बनाइदियो । यिनै तीन कारणले गच्छदार उपेन्द्र यादवको नेतृत्वमा मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए ।

गच्छदार र यादवलाई राम्रोसँग जान्ने मधेसी नेताका अनुसार उपेन्द्र यादवको ‘जीन’मा संघर्ष छ भने गच्छदारको ‘जीन’मा सत्ता छ । दुई नेताको ‘केमेष्टी’ नै मिल्दैन ।

गच्छदारले दिएको पहिलो धोका

उपेन्द्र यादवले आफू निकटहरुलाई बताउने गरेका छन् कि विजयकुमार गच्छदारले दिएको पहिलो धोका भनेको मधेसी जनअधिकार फोरमको विभाजन हो ।

फोरमको विभाजनमा तत्कालीन सेनापति रुक्माङगद कटवाल हटाइएको प्रकरणले तात्कालिक भूमिका खेलेको विश्लेषक बताउँछन् ।

स्रोत भन्छ- ‘तत्कालीन प्रधानमन्त्री प्रचण्डले रुक्माङगद कटवाललाई प्रधानसनेापतिबाट हटाउने निर्णय गर्दा उपेन्द्र यादवले प्रचण्डलाई साथ दिए । तर, भारतीय सहयोगमा राष्ट्रपतिले कटवाललाई पुनस्थापित गराए । दूतावासले गच्छदारलाई प्रयोग गरेर उपेन्द्र यादवको पार्टी फुटाइदियो ।’

यो घटनापति उपेन्द्रले विजय गच्छदारलाई फोरममा ल्याउनु नै गल्ती भएको महसुस गरेको सूत्र बताउँछ । तर, ०६४ को चुनावमा उपेन्द्रलाई राष्ट्रिय ‘फिगर’ चाहिएको थियो, जुन कुरा गच्छदारको आगमनले पूरा गर्‍यो र फोरम चौथो दल बन्न सफल भयो ।

पहिलो संविधानसभाको चुनावपछि उपेन्द्रले आफू पार्टीको अध्यक्षमा रहेर गच्छदारलाई संसदीय दलको नेता बनाएका थिए । तर, गच्छदारले फोरमलाई फुटाएर तहस नहस बनाइदिए । गच्छदारलाई उपेन्द्रसँग मिलाउने जेपी गुप्ताले पनि जेलबाट छुटेपछि उपेन्द्र यादवको साथ छाडे ।

मधेस आन्दोलनबाट जन्मिएको राजनीतिक शक्तिलाई पछि प्रवेश गरेकाहरुले फुटाएपछि गच्छदारसँग उपेन्द्र यादवको मोह भंग भएको जानकारहरु बताउँछन् ।

गच्छदारको दोस्रो धोका

दोस्रो संविधानसभाको चुनावपछि एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा ३० दलीय मोर्चा बन्यो, जसमा विजय गच्छदार र उपेन्द्र यादव दुबै सहभागी थिए । तर, एमाओवादीले कांग्रेस एमालेसँग सहमति गर्ने नीति लिएपछि ३० दलीय मोर्चाबाट मधेसवादी दलहरु बाहिरिए ।

Mahantha-Thakurप्रचण्ड नेतृत्वको मोर्चाबाट अलग्गिएका मधेसी नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, विजय गच्छदार र महेन्द्र राय यादवले मधेसी मोर्चालाई पुनर्जागि्रत गराएका पनि संयोजक तोकेका थिएनन् । चार नेताले आलापालो गरेर संयोजकको भूमिका निभाउने सहमति भएको थियो ।

स्रोत भन्छ- ‘तर, विजय गच्छदार हरेक सर्वदलीय बैठकमा मोर्चाको संयोजक भन्दै सहभागी हुन थाले, मिडियाले पनि उनैलाई मोर्चाका संयोजक भनेर लेख्न थाले ।’

गच्छदारले आफूलाई मधेसी मोर्चाको स्वघोािषत संयोजक बनाएर १६ बुँदे सहमतिमा हस्ताक्षर गरेपछि महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो रिसाए । त्यसपछि गच्छदारलाई तत्काले मोर्चाबाट हटाइयो र चारदलीय मधेसी मोर्चा आन्दोलनमा होमियो ।

उपेन्द्र यादव र महन्थ ठाकुरहरुले आफ्ना निकटस्थहरुलाई बताउने गरेका छन् कि मधेसी मोर्चाको संयोजक भन्दे गच्छदारले १६ बुँदे सहमतिमा हस्ताक्षर गर्नु फोरमलाई फुटाएजस्तै प्रकृतिको दोस्रो धोका हो ।

गच्छदारलाई मोर्चामा ल्याउँदा के हुन्छ ?

संविधानसभाको प्रक्रियाबाट बाहिरिएर आन्दोलनमा आउँछु भनिरहेका गच्छदारलाई अब फेरि मधेसी मोर्चामा ल्याउँदा के हुन्छ ? यसबारे मोर्चानिकट एक नेता भन्छन्- ‘मोर्चामा ल्याउने हो भने गच्छदारले फेरि संयोजक हुँ भन्दै काठमाडौंमा बसेर कांग्रेस एमालेसँग सहमतिमा हस्ताक्षर गर्छन् र वार्ताका नाममा फेरि पनि मधेस आन्दोलनलाई तुहाउने काम गर्छन् । र, यो उनको तेस्रो धोका हुन सक्छ मधेसका लागि ।’

तर, गच्छदारलाई सत्तापक्षसँग लहसिन नदिने र आफ्नो कमाण्डमा राख्ने हो भने उनलाई मोर्चामा सहभागी गराउँदा मधेस आन्दाेलनलाई उर्जा मिल्ने अर्का एकथरिको विश्लेषण छ ।

स्रोत भन्छ- ‘सुनसरी, मोरङ र पश्चिमका थारु बाहुल्य केही जिल्लामा गच्छदारको राम्रो प्रभाव रहेकाले उनलाई आन्दोलनमा सहभागी गराउँदा मधेस आन्दोलनल थप उर्जा पाउन सक्छ, त्यसैले परिस्थितिवस उपेन्द्र यादव र विजय गच्छदार आपसमा मिल्दै मिल्दैनन् भनेर ठोकुवा गरिहाल्नु गलत हुन्छ, उनीहरु शंकाको सुविधासहित मिल्न पनि सक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment