२४ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइएमओ) ले एमबिबिएस र बिडिएस तहको कक्षा सञ्चालन हुने १० वटा मेडिकल कलेजमा नयाँ सिट निर्धारण गरेको छ । शुक्रबार बसेको आइओएम फ्याकल्टी बोर्डको बैठकले मेडिकल कलेजका लागि नयाँ सिट निर्धारण गरेको हो ।
स्रोतका अनुसार नयाँ सिट निर्धारण गर्दा पहिलेभन्दा एविविएसमा ७० सिट र बिडिएसमा ६५ सिट कम भएको छ । आइओएमअन्तर्गतका एमबिबिएस र बिडिएस पढाउने १० वटा कलेज भए पनि जनकपुरको जानकी मेडिकल कलेजको सिट गत वर्षदेखि नै शून्यमा झरेको छ । आइओएमले यसपटक पनि सो कलेजलाई सिट दिएको छैन । बोर्डका एक सदस्यका अनुसार सबै कलेजको सिट घटेका बेला यसपटक नेसनल मेडिकल कलेज वीरगन्ज र गण्डकी मेडिकल कलेज पोखरा सिट थप्न सफल भएका छन् । ती कलेजमा क्रमश: एक सय २५ बाट बढेर एक सय ३० र ७५ बाट बढेर ९० पुगेको नयाँ पत्रिकामा खबर छ ।
सबैभन्दा सिट घट्ने कलेजमा भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रहेको छ । सो कलेजको एमबिबिएसतर्फको सिट एक सय ३५ बाट घटाएर ९० निर्धारण गरिएको छ । त्यस्तै, बिडिएसतर्फ ६५ बाट घटाएर ३० निर्धारण गरिएको छ । एमबिबिएसको एक सय ५० सिट रहेको नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानको सिट घटाएर एक सय ३० मा झारिएको छ । यता, पिपुल्स डेन्टल कलेजको बिडिएसतर्फको ६० सिटलाई पनि कटौती गर्दै ३५ मा झारिएको छ । चितवन मेडिकल कलेजको एविविएस कोटा एक सय ४० बाट घटाएर एक सय २५ मा झारिएको छ ।
सोही कलेजको विडिएसतर्फको कोटा पनि ५० बाट घटाएर ४५ निर्धारण गरिएको छ । अरु कलेजहरूको सिटमा सामान्य कटौती गरिएको छ । आइओएमका डीन प्रा.डा. राकेश श्रीवास्तवले मापदण्ड जनशक्ति र पूर्वाधारअनुसार सिट हेरफेर भएको बताए । यद्यपि उनले अन्तिम निर्णय आइतबार बिहान १० बजे सार्वजनिक गरिने जानकारी दिए । शुक्रबारको बैठकमा सहभागी एक सदस्यका अनुसार जनशक्ति पूर्वाधार नमिलेका वा मापदण्ड नपुगेका कलेजहरूको सिट संख्या घटाएको बताए ।
प्रतिक्रिया 4