२४ असोज, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री निर्वाचनका सन्दर्भमा ‘राष्ट्रिय स्वाभिमानका पक्षमा उभिन पाउँदा गर्वको अनुभूति भएको’ बताएका छन् ।
प्रधानमन्त्रीका उम्मेदवार केपी ओलीका समर्थक रहेका थापाले राष्ट्रियताको रक्षाका लागि तुलनात्मक रुपमा ओलीको नेतृत्व सक्षम छ भनेर समर्थन गरिएको उल्लेख गरे ।
‘यो अवस्थामा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र नेपाली जनताको विकास तथा समृद्धिको आकांक्षा परिपूर्ति गर्न तुलनात्मक रुपले ओलीको नेतृत्वमा सम्भव छ,’ थापाले भने । अगामी दिनमा संविधानमा भएका व्यवस्था संस्थागत गर्ने चुनौति रहेको भन्दै उनले विद्यमान राष्ट्रिय संकट समाधान गर्न राष्ट्रिय एकताबाहेक अर्को विकल्प नरहेकोमा जोड दिए ।
‘तपाईंहरु मिलेर सरकार बनाउनुस् हामी प्रतिपक्षमा बस्छौं भनेर आग्रह गर्यौं,’ थापाले भने, ‘जब-जब राष्ट्रिय शक्तिहरुका बीचमा विभाजन आएको छ, देशले अत्यन्त ठूलो मूल्य चुकाउनुपरेको छ ।’
थापाले दुई प्रमुख राजनीतिक दलका बीचमा प्रतिस्पर्धाले शुभसंकेत नदेखाएको भन्दै दुईमध्ये एक छान्नुपर्ने अवस्थामा एक रोजेको उल्लेख गरे । ‘आगामी दिनमा ओलीको सरकारले राष्ट्रियताको संरक्षण, तराईका समस्या समाधान गर्दै राष्ट्र निर्माणमा योगदान पुर्याउँछ भन्ने अपेक्षाका साथ समर्थन जनाएका छौं,’ उनले भने ।
प्रतिक्रिया 4